रुकुममा अज्ञात रोग देखियो एकैसाथ दुई सय बिरामी



 

धनवीर दाहाल, रुकुम
रुकुमको आठबिसकोट नगरपालिका–३ स्थित खदी गाउँमा अज्ञात रोग देखिएको छ। एकैसाथ दुई सयभन्दा बढी बिरामी परेका छन्। स्थानीयका अनुसार टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, वान्ता हुनेजस्ता लक्षणका कारण गाउँका अधिकांश सर्वसाधारण बिरामी परेका छन्। आठबिसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले अज्ञात रोगका कारण खदीका सर्वसाधारण बिरामी परेको बताउनुभयो। भिन्नभिन्न लक्षणका बिरामीहरू दैनिक रूपमा बढ्दै गएको प्रमुख केसीले बताउनुभयो।

साविकको स्यालाखदी गाविसमा पर्ने उक्त ठाउँमा स्वास्थ्य चौकी पनि छैन। स्यालामा रहेको स्वास्थ्य चौकी पनि अनमीको भरमा चल्दै आएको नगर प्रमुख केसीले जानकारी दिनुभयो। हालसम्म उक्त प्रकोप कुन रोगको हो भन्ने नै पत्ता लाग्न सकेको छैन। हरेक दिन बिरामी बढ्दै गएपछि आठबिसकोट नगरस्तरीय स्वास्थ्य संस्थाबाट २ जना स्वास्थ्यकर्मीसहित औषधि पठाइएको छ। एक जना हेल्थ असिस्टेन्ट र एक जना अहेब एक जना भरिया औषधिसहित खदीतर्फ गएको उहाँले जानकारी दिनुभयो।

हेल्थ असिस्टेन्ट मनिराज शाह र अर्का एक जना अहेब बुधबार जिल्ला अस्पतालबाट औषधिसहित त्यसतर्फ गएका हुन्। उनीहरू बिहीबार रातिसम्म सो स्थानमा पुग्न सक्ने अनुमान गरिएको छ। जिल्ला अस्पतालका महामारी नियन्त्रण कार्यक्रमका फोकल पर्सन नन्दलाल महतोले एक्कासि धेरै जनामा ज्वरो आएकाले आवश्यक औषधिसहित स्वास्थ्यकर्मी पठाइएको बताउनुभयो। २०६८ सालमा पनि सोही गाउँमा झाडापाखाला महामारी फैलिएको थियो। सो गाउँमा एक्कासि स्थानीयहरू बिरामी भएपछि अन्य ठाउँहरूमा पनि त्रास फैलिएको छ।

प्रतिक्रिया दिनुहोस्