प्रधानमन्त्रीद्वारा बाढीपीडितको अवलोकन



 

नेपाल समाचारपत्र
बाँके
प्रधानमन्त्री शेरबहादुर देउवाले बाँके, बर्दिया र कैलालीका बाढीपीडितको अवस्था अवलोकन गरेका छन्। बाढीले ठूलो क्षति पुर्याएको यी तीन जिल्लामा पुगेर प्रधानमन्त्री देउवाले नगद र राहत वितरण गरेका छन्। बाँकेको राप्तीसोनारी गाउँपालिका–४, लालपुरका एक परिवारलाई प्रधानमन्त्री देउवाले ६ लाखको चेक हस्तान्तरण गरेका छन्।

कमैयाडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक बालिकाका बुबा कमिलाल थारूलाई चेक हस्तान्तरण गर्नुभयो। २८ गते आएको बाढीले कमिलालका तीन छोरीहरू ७ वर्षीया सुस्मिता, ९ वर्षीया सरिता र १२ वर्षीया अञ्जु थारूको मृत्यु भएको थियो। सरकारले मृतकलाई २ लाख राहत दिने निर्णयअनुसार नै प्रधानमन्त्री देउवाले कमिलाललाई ६ लाख हस्तान्तरण गरेका थिए।

प्रधानमन्त्री देउवाले कमिलाललाई घरसमेत सरकारले बनाइदिने आश्वासन दिएका छन्। प्रधानमन्त्री देउवाले त्यहाँ उपस्थित बाढीपीडितलाई तयारी खाद्यान्न वितरण गरेका थिए।

कमैयाडाँडा जानुअघि प्रधानमन्त्री देउवालाई राँझास्थित नेपाली सेनाको चार नम्बर बाहिनीमा मध्यपश्चिमका क्षेत्रीय प्रशासक र पृतनापतिले बाढीको समग्र जानकारी गराएका थिए। प्रधानमन्त्री देउवाले बाँकेको अन्य ठाउँमा पनि हवाई निरीक्षण गरेका छन्।

प्रधानमन्त्री देउवाले बर्दिया र कैलालीको पनि हवाई निरीक्षण र राहत वितरण गरेका छन्। उहाँले बर्दियाको भादापुलको निरीक्षण गर्नुभयो। कैलालीको टीकापुरस्थित पुरानो एयरपोर्टमा पीडितलाई राहत वितरण गर्नुभयो। देउवाले बाढीपीडितलाई भोकै मर्न नदिने बताउनुभएको छ।

यसैबीच, २७ गते रातिदेखि वर्षाले बाँकेमा ७ जनाको ज्यान गइसकेको छ। जिल्लामा ८ सय ५३ घर पूर्ण र ३ घर आंशिक क्षति पुगेको छ। ९ हजार ४ सय ८२ घरधुरी र ४७ हजार ४ सय १० जना बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रवक्ता खगेन्द्र पौडेलले जानकारी दिनुभएको छ।

बाँकेमा विभिन्न २५ वटा अस्थायी आश्रमस्थल (विद्यालय, सामुदायिक भवन) मा ९ सय ९५ परिवारका ४ हजार ६ सय ६४ जना बसेका छन्। १४ हजार १ सय २७ किलो चिउरा, २ हजार २ सय ८७ किलो चिनी, ५२ हजार २ सय ५७ पाकेट चाउचाउ, ३३ हजार ३ सय ३० पाकेट बिस्कुट, १२ हजार ३ सय ६२ बोतल पानी, १ हजार ४ सय ८३ किलो नुन, १ हजार ३ सय ९० किलो भुजिया, १ हजार ६ सय किलो दालमोद, १ हजार किलो चामल, १ सय २० लिटर खानेतेल, सोयाबिन सय किलो वितरण गरिएको छ।

बाढीपीडितमा रोग संक्रमण फैलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले विभिन्न ठाउँमा डाक्टरसहितको टोली खटाएर उपचारको व्यवस्था मिलाएको छ। जनस्वास्थ्यले फत्तेपुर, गंगापुर, कचनापुर, बैजापुर, उढरापुरमा डाक्टरसहितको टोली खटाएर उपचारको व्यवस्था मिलाएको कार्यालयका महमारी फोकलपर्सन रामबहादुर चन्दले जानकारी दिनुभयो। टोलीले २ हजार बढी बाढीपीडितको उपचार गरेको छ।

प्रतिक्रिया दिनुहोस्