बाढीले वन विनाश पनि उस्तै



 

गोकुल घोरसाइने, बारा
५ दिनअघि लाल खोलमा आएको बाढीले बारा जिल्लामा सयौं हेक्टर क्षेत्र वन विनाश गरेको छ। तर बाढीले पुर्याएको क्षतिको लगत संकलन र नियन्त्रणतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म पुगेको छैन।

अविरल वर्षापछि निजगढ नपा ८ र १० स्थित लाल र बकैया खोलको बाढी कटानले पर्सा राष्ट्रिय निकुञ्जसहित स्थानीय कछडिया, राधाकृष्ण र नागमणि सामुदायिक वनमा हजारौं रुख बगाउनुका साथै बाढी पसेर सयौं हेक्टर वन क्षेत्र बालुवा र पागोले पुरेको छ। ‘बालुवाले पुरेर र नदी कटानमा परेर ठूलो क्षति पुगेको छ’, जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेले भने– ‘बाढी घटेपछि क्षतिको अवस्था बुझ्ने कार्य भइरहेको छ।’ घिमिरेले कर्मचारी खटाएर प्रभावित क्षेत्रको बुधबारबाट स्थलगत निरीक्षण र विवरण संकलन कार्य शुरू गरिएको र केही दिनभित्र क्षतिको यकिन विवरण प्राप्त हुने जानकारी दिए।

लालगाउँ सुरक्षाका लागि भन्दै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय परवानीपुरले निर्माण गरेको बाँधले रोकेपछि जंगलतर्फ सोझिएको बाढी पसेर वन सम्पदाको विनाश गरेको हो। नदीले धार परिवर्तन भएर २ दिनसम्म जंगल पसेको खोलाको मूल धार आइतबार राति बाँध भत्केपछि पुरानै कोर्समा फर्किएको र लालगाउँका एक दर्जनभन्दा बढी घरगोठ बगाएको र १० बिगाहाभन्दा बढी खेतीयोग्य जमिन कटान गरेको छ।

‘बस्ती र जंगल दुवै बगायो’, स्थानीय जोसिमाया बलले भनिन्– ‘संरक्षणका लागि भनेर निर्माण गरेको बाँधले त झन् विनाश पो निम्त्यायो।’ संरक्षणको दृष्टिकोणले राम्ररी अध्ययन नै नगरी बाँध निर्माण गरिएकाले बस्ती र जंगल दुवैतर्फ क्षति गरेको उनले बताइन। लाल खोला नियन्त्रणको लागि करिव ३ करोड रूपैयाको लागतमा निर्माण शुरू भएको डेढ किमि लामो बाँध गत वर्ष सम्पन्न भएको थियो। दुई दिनसम्म बस्ती पश्चिम जंगल पसेको बाढी १० किमि दक्षिण पूर्वपश्चिम राजमार्गको आरसीसी पुल र लच्कामा निस्किएपछि आवागमन २ दिनसम्म ठप्प बनेको थियो।

वन कर्मचारीले पनि असरबारेमा पर्याप्त अध्ययन नगरी बाँध निर्माण गरिएकाले जंगलमा क्षति पुगेको बताए। त्यसै गरी निजगढ–४ को कछडिया सामुदायिक वन क्षेत्रको जंगलबाट बसेको बकैयाको बाढीले बगाएर ल्याएको बालुवा र पागोले रुखको दुई फिट माथिसम्म पुरेको र ठूला रुखसमेत सुकेर ढल्न सक्ने खतरा बढेको जिल्ला वन अधिकृत घिमिरे बताउँछन्। ‘साना बिरुवा धेरै पुरिएको पाइयो’, उनले भने– ‘जरामा माटो धेरै थुप्रिएपछि कमजोर बनेका रुख केही समयपछि सुक्ने सम्भावना छ।’

बस्ती संरक्षणको नाममा निर्माण गरिएका संरचानाले नदीले धार बदलेको र वन क्षेत्र विनाश गरेको बताए। उनले धन्सार, पसाहा, बालगंगा र दुधौरा जस्ता खोला किनाराबाट पनि ठूलो परिमाणका रुख नदी कटानमा परेर बाढीमा बगेको र संरक्षणका लागि सरकारले प्रभावकारी योजना बनाएर काम गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्