आगोमा जलेकी रत्नेदेवीलाई



 

अस्पताल पुर्याए सीतारामले
कलाकारितासँगै समाज सेवा, दैवी प्रकोपमा राहत, उद्धार र बस्ती निर्माणका कारण लोकप्रिय बनिरहेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले ६ महिनादेखि थलिएकी लालबन्दीकी रत्नेदेवी माझीलाई अस्पताल पुर्याएर उद्धार गरेका छन्।

अविरल वर्षाका कारण तराई डुबेपछि राहत र उद्धारका लागि सर्लाही पुगेका उनले जीवन–मरणको दोसाँधमा रहेकी लालबन्दी–५ बेतिनी, माझी गाउँकी रत्नेदेवीलाई उपचारका लागि बर्दिबास जनसेवा अस्पताल पुर्याएर भर्ना गरेका हुन्। राहत सामग्री र मेडिकल टोलीसहित सर्लाही लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका बाढीपीडितलाई राहत सामग्री प्रदान गरेका थिए। माझी गाउँमा रहेका २६ परिवारमध्ये कतिपय पीडित राहात लिनबाट वञ्चित भएको हुन सक्ने भन्दै सीतारामले रत्नेदेवीलाई भेटेका हुन्। राहत सामग्री लिन जानसमेत नसकेकी उनको हात–खुट्टा डढेको देखेपछि आफू वर्षौंअघि दालले पोलेर डेढ महिना थलिएको पीडा सम्झिएर उनलाई अप्पताल पुर्याएको बताए। ‘आगोले पोल्दाको पीडा मैले राम्रोसँग अनुभव गरेको छु, त्यसैले रत्नेदेवीलाई अस्पताल पुर्याएको हुँु –सीतारामले भने।

६ महिनाअघि लुगाबाट सल्किएको आगोले रत्नेदेवीको पूरै शरीर डढेपछि सामान्य उपचार गरिएको थियो। तर, चरम गरिबीका कारण उपयोगी उपचार हुन नसकेकाले उनको हात खुट्टा र नशासमेत खुम्चिसकेको देखेपछि धुर्मुस–सुन्तली फाउन्डेसनका साथमा बर्दिबासका होटल व्यवसायी हीरा गौतम र मेडिकल टोलीले उनको उपचारका लागि अस्पताल पुर्याएको हो। अस्पतालमा उपचारपछि रत्नेदेवीको घाउ निको हुने भए पनि खुम्चिएका नशा सोझ्याउन भने अपरेसन गर्नुपर्ने डक्टरले बताएका छन्। त्यसका लागि उनलाई केही दिनपछि काठमाडौं ल्याइने फाउन्डेसनका अध्यक्षसमेत रहेका सीतारामले बताए।

प्रतिक्रिया दिनुहोस्