भुइँमान्छेसँगै ग्याङस्टार ब्लुज



 

आज शुक्रबार दुई फिल्म अल नेपाल रिलिजमा आउने भएका छन्। रंगकर्मी तथा डेब्यु निर्देशक नवराज बुढाथोकी निर्देशित भुइँमान्छे र होस्टेल, जेरी तथा गाजलुजस्ता व्यावसायिक सफलताप्राप्त फिल्मका निर्देशक हेमराज बीसीद्वारा निर्देशित फिल्म ग्याङस्टार ब्लुज आज शुक्रबार अल नेपाल रिलिज हुन लागेको हो।

शैली इन्टरटेन्मेन्ट एन्ड मुभिज प्रालि र शैली थिएटरको प्रस्तुतिमा तयार पारिएको भुइँमान्छे मानिसको शवको पोस्टमार्टम गर्ने डक्टरको कथामा छ। यसमा रंगकर्मी, अभिनेता तथा निर्देशक रमेश बुढाथोकी मुख्य भूमिकामा छन्। यो फिल्मको मंगलबार राजधानीमा प्रिमियर शो गरिएको थियो। अस्पतालमा पोस्टमार्टम गर्ने अधवैंशे मानिसको जीवनीमा आधरित फिल्मको दैनिक लास चिर्ने मान्छेको जीवन कस्तो हुन्छ र उसलाई समाजले कसरी हेर्छ भन्ने कथा प्रस्तुत गरिएको छ। उसको जीवनमा युवतीको प्रवेश भएपछि परिवर्तन भएको मनोविज्ञान वरिपरि फिल्म घुमेको छ। यसका साथै चिकित्सा क्षेत्रका विकृतिहरुलाई पनि फिल्मले खुलाएको छ।

निर्देशक नवराज बुढाथोकी लेखनमा तयार भएको फिल्मलाई रमेश बुढाथोकीको उत्कृष्ट अभिनयले बलियो बनाएको छ। फिल्ममा भलिबल खेलाडीको रूपमा चर्चित एवं केही गुरुङ भाषाका फिल्ममा अभिनय गर्दै आएकी सिपोरा गुरुङले अभिनय गरेकी छिन्। फिल्ममा सहिन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, रोहिणी भट्टराई, सशांक बोहरा, सानु ताम्राकार, पुष्कर गुरुङ, नवीन श्रेष्ठ, तारा केसी सौरभ ढकाललगायतले अभिनय गरेका छन्।त्यसै गरी महेश पौड्याल र दयाराम पाण्डेको गीत रचना, देवेन्द्र राई र अर्जुन पोखरेलको संगीत, शिव परियार, प्रमोद खरेल, दौलत राई र जुना प्रसाईंको स्वर, विदुर पाण्डेको छायांकन, गम्भीरराज कर्णिकार र मधुसूदन सञ्जेलको सम्पादन, कमल राई र कविराज गहतराजको नृत्य, अष्ट महर्जनलको द्वन्द्व रहेको छ।

त्यसै गरी ग्याङस्टार ब्लुज पनि बुधबार राजधानीमा प्रिमियर गरिएपछि आज शुक्रबारबाट रिलिजमा ल्याउन लागिएको हो। सरोज न्यौपानेद्वारा निर्मित तथा निर्देशक बीसीद्वारा नै लिखित यस फिल्ममा आशिरमान देशराज, आना शर्मा, संयम पुरी, रामबाबु गुरुङ, अनुपम शर्मा, अरुणा कार्की, रोजिशा शाही, नरेश पौडेल, प्रमोद अग्रहरी, सुवास थापा मुख्य कलाकार छन्। फिल्म भाइ र प्रेमका लागि ग्याङस्टार बनेको एक युवाको कथामा छ। अनन्या फिल्म्स र बीसी मोसन पिक्चर्सको ब्यानरमा बनेको फिल्ममा कालीप्रसाद बासकोटाको संगीत, सम्राट बस्नेतको द्वन्द्व, शैलेन्द्रध्वज कार्कीको छायांकन तथा बनिश शाह र मिलन श्रेष्ठको द्वन्द्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्