शाही परिवारलाई ३० लाख सहयोग



 

नेपाल समाचारपत्र
काठमाडौं
कार्यस्थलमा खटिएका बेला हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीको परिवारलाई वन विभागले करिब ३० लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

विभागले स्वर्गीय गणेशकी श्रीमती पवित्रालाई २९ लाख ७० हजार, ४ सय ५९ रुपियाँ आर्थिक सहयोग गरेको हो।

सो रकम विभाग र विभाग मातहतका कार्यालयका कर्मचारीले १ दिनको तलब सहयोग गरी संकलन गरिएको हो। वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले बिहीबार पवित्रालाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो।

ताप्लेजुङको तत्कालीन खोक्लिङ गाविसको इलाका वन कार्यालयमा खटिएका जाजरकोटका शाहीको गत पुस १७ गते खुकुरी प्रहार गरी हत्या भएको थियो। निजी र सामुदायिक वनबारेको विवादका क्रममा उनको हत्या भएको थियो।
सरकारी नियुक्ति लिएको २ वर्ष ११ महिनामा शाहीले ज्यान गुमाएका थिए। शाहीका श्रीमती पवित्रासहित २ छोरा र १ छोरी छन्। यसअघि मन्त्रिपरिषद्को निर्णयपश्चात शाही परिवारलाई १० लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराइएको थियो।

यसैबीच गत साताको बाढीपहिरोले मानवीय र भौतिक क्षति पुर्याएका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन विभागले राहत संकलन अभियान शुरू गरेको छ। सह–सचिव स्तरका कर्मचारीको ४ दिनको तलब, उपसचिव र शाखा स्तरका कर्मचारीको ३ दिन, नायब सुब्बा र खरिदारको २ दिन र सो भन्दा तल्लो तहका कर्मचारीको १ दिनको तलब कटाई रकम संकलन गरिने विभागले जनाएको छ।
बुधबारको विभागका कर्मचारीको बैठकले यस्तो निर्णय गरेको विभागका सामुदायिक वन विकास अधिकृत प्रकाश लम्सालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्