विद्युत् आपूर्ति बन्द हुँदा दैनिकी कष्टकर



 

गुल्मी, (नेस)
विगत ६ दिन देखिको विद्युत् अवरोधका कारण मुसिकोट नगरपालिकाको जनजीवन कष्टकर भएको छ।

अबिरल वर्षाका कारणले विद्युत् नहर बगाएपछि बामीमा विद्युत्हरू अबरुद्ध हुँदा उपभोक्ताहरू अन्धकारमा बस्न बाध्य भएका हुन्। परोपकार बहुउद्देश्यीय सहकारी संस्था बामीद्वारा सञ्चालित १ सय ३५ किलोवाटको विद्युत् तथा दरमखोला लघुजलविद्युत् परियोजनाद्वारा सञ्चालित ८५ किलोवाटका विद्युत्हरू अवरुद्ध भएका कारण त्यस क्षेत्रका २ हजारभन्दा बढी उपभोक्ताहरू अन्धकारमा बस्न बाध्य भएका छन्।

नगरपालिकाको वडा नम्बर ७ मा रहेको परोपकार बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित विद्युत्को नहरबाट आएको पानी नै अर्काे दरमखोला लघु जलविद्युत् परियोजनाद्वारा उत्पादित विद्युत् सञ्चालनमा आउने गरेको छ। गत श्रावण २७ गते राती आएको वर्षाले विभिन्न ठाउँमा पहिरो गएका कारण विद्युत् अबरुद्ध बनेका छन्। दुबै विद्युत्का नहर भत्किएपछि स्थानीयहरू अन्धकारमय जीवन जिउन बाध्य भएका छन्। विद्युत् अवरुद्ध हुँदा मुसिकोट नगरपालिकाको बामी टक्सारलगायत बागलुङको खर्वाङ आसपासका क्षेत्रमा संचारसम्पर्क विच्छेद भएको छ

विद्युत् अबरुद्ध भएपछि करिब २ हजारभन्दा बढी घरधुरीका उपभोक्ताहरू अत्यावश्यक मोबाइल, टिभी, कम्प्युटर चलाउनुबाट बञ्चित हुनुका साथै कुटानी पिसानीका लागि मिल, ग्रील उद्योगहरू, बित्तिय संस्थाहरू पनि समस्यामा परेका छन्। बित्तिय संस्थाहरू वैकल्पिक जेनेरेटरहरू प्रयोग गरी सञ्चालनमा ल्याइएका छन्।

प्रतिक्रिया दिनुहोस्