पश्चिम पुगेर किन पैसा बाँडे प्रधानमन्त्री देउवाले ? 



नेपाल समाचारपत्र, बाँके । प्रधानमन्त्री शेरबहादुर देउवाले बाँके, बर्दिया र कैलालीका बाढीपीडितको अवस्था अवलोकन गरेका छन् ।
बाढीले ठूलो क्षति पु¥याएको यी तीन जिल्लामा पुगेर प्रधानमन्त्री देउवाले नगद र राहत वितरण गरेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–४, लालपुरका एक परिवारलाई प्रधानमन्त्री देउवाले ६ लाखको चेक हस्तान्तरण गरेका छन् ।
कमैयाडाडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक बालिकाका बुवा कमिलाल थारुलाई चेक हस्तान्तरण गर्नुभयो । २८ गते आएको बाढीले कमिलालका तीन छोरीहरु ७ वर्षीया सुस्मिता, ९ वर्षिया सरिता र १२ वर्षिया अन्जु थारुको मृत्यु भएको थियो । सरकारले मृतकलाई दुई लाख राहत दिने निर्णय अनुसार नै प्रधानमन्त्री देउवाले कमिलाललाई ६ लाख हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री देउवाले कमिलाललाई घरसमेत सरकारले बनाइदिने आश्वासन दिएका छन् । प्रधानमन्त्री देउवाले त्यहाँ उपस्थित बाढीपीडितलाई तयारी खाद्यान्न वितरण गरेका थिए ।

कमैयाडाडा जानु अघि प्रधानमन्त्री देउवालाई राँझास्थित नेपाली सेनाको चार नम्बर बाहिनीमा मध्यपश्चिमका क्षेत्रीय प्रशासक र पृतनापतिले बाढीको समग्र जानकारी गराएका थिए । प्रधानमन्त्री देउवाले बाँकेको अन्य ठाउँमा पनि हवाई निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री देउवाले बर्दिया र कैलालीको पनि हवाई निरीक्षण र राहत वितरण गरेका छन् । उहाँले बर्दियाको भादापुलको निरीक्षण गर्नुभयो । कैलालीको टीकापुरस्थित पुरानो एयरपोर्टमा पीडितलाई राहत वितरण गर्नुभयो । देउवाले बाढीपीडितलाई भोकै मर्न नदिने बताउनु भएको छ ।

यसैबीच, २७ गते रातीदेखि वर्षाले बाँकेमा ७ जनाको ज्यान गइसकेको छ । जिल्लामा ८ सय ५३ घर पूर्ण र ३ घर आंशिक क्षति पुगेको छ । ९ हजार ४ सय ८२ घरधुरी र ४७ हजार ४ सय १० जना बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रवक्ता खगेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

बाँकेमा विभिन्न २५ वटा अस्थायी आश्रमस्थल –विद्यालय, सामुदायिक भवन) मा ९ सय ९५ परिवारका ४ हजार ६ सय ६४ जना बसेका छन् । १४ हजार १ सय २७ किलो चिउरा, २ हजार २ सय ८७ किलो चिनी, ५२ हजार २ सय ५७ पाकेट चाउचाउ, ३३ हजार ३ सय ३० पाकेट बिस्कुट, १२ हजार ३ सय ६२ बोतल पानी, १ हजार ४ सय ८३ किलो नुन, एक हजार तीन सय ९० किलो भुजिया, एक हजार ६ सय किलो दालमोद, एक हजार किलो चामल, एक सय २० लिटर खानेतेल, सोयाबिन सय किलो वितरण गरिएको छ ।

बाढीपीडितमा रोग संक्रमण फैलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले विभिन्न ठाउँमा डाक्टरसहितको टोली खटाएर उपचारको व्यवस्था मिलाएको छ । जनस्वास्थ्यले फत्तेपुर, गंगापुर, कचनापुर, बैजापुर, उढरापुरमा डाक्टरसहितको टोली खटाएर उपचारको व्यवस्था मिलाएको कार्यालयका महमारी फोकलपर्सन रामबहादुर चन्दले जानकारी दिनुभयो । टोलीले दुई हजार बढी बाढीपीडितको उपचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्