अमेरिकी र नेपाली सेनाको मिलोमतोमा गोरखामा स्वास्थ्य शिविर



सन्तोष अधिकारी, गोरखा ।
नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा गोरखा नगरपालिका ८ आहालेको सरस्वति माध्यामिक बिद्यालय परिसरमा पाँच दिने निःशुल्क स्वास्थ्य शिविर चलिरहेको छ । अहिले सम्म दुई हजार भन्दा धेरै गोरखाका विरामीहरुले सेवा लिइसकेका छन् । भुकम्पको केन्द्र विन्दु रहेको गोरखामा अमेरिकन सेनाको रोजाईमै सोमबार देखि निशूल्क स्वास्थ्य शिविर चलेको हो । शिविरमा नेपाली सेना र अमेरिकन सेनाका बिशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेको नेपाली सेनाकी डाक्टर रेंकु जोशीले जानकारी दिईन् ।

बालरोग, छाला तथा यौनरोग, दन्त, आँखा, सामान्य उपचारलगायतका सेवाहरु शिविरमा रहेको सेनाका मेजर प्रकाश बहादुर सिंहले बताए । ‘विशेष गरी आँखा, दाँत, रुघाखोकी, ज्वरोलगायतका रोगका बिरामीहरु शिविरमा आएका छन्’ उनले भने ‘शिविरमा बिभिन्न रोगका विशेषज्ञ नेपाली सेनाका ११ जना र अमेरिकन सेनाका ३१ जना डाक्टरहरुले विरामीहरुको सेवा गरिरहेका छन् ।’ सेनाका चिकित्सक टोली सँगै सुरक्षा दल र प्राविधिकहरु पनि सँगै छन् ।

शिविरमा आँखाका बिरामीलाई उपचारपछि चस्मा, दाँतका बिरामीलाई ब्रस, मञ्जनलगायत रोग अनुसार आवश्यक पर्ने औषधिहरु निशुल्क रुपमा उपलब्ध गराइएको नेपाली सेनाले जनाएको । शिविरमा प्रायः बृद्धबृद्धाहरु स्वास्थ्य सेवा लिन आएका छन ।

 

नेपाल र अमेरिकाको सम्बन्धलाई अझ सुमधुर बनाउन यस शिविरले थप सहयोग मिल्ने अमेरिकन आर्मीका एयर फोर्सका प्रमुख सेनानी गेरी डजले बताए । ‘नेपाल सहयोगार्थ यो शिविरले नेपाल र अमेरिकाको सम्बन्ध सुधारमा थप सहयोग मिल्नेछ भन्ने विश्वास गरेको छु’ उनले भने ‘यस सम्बन्धलाई नेपाली सेनाको माध्यमबाट हामी निरन्तरता दिन चाहन्छौँ । हामीले १० वर्षे समयमा प्यासिफिक एन्जल कार्यक्रम मार्फत नेपालका पोखरा, चितवनमा पनि स्वास्थ्य शिविर गरिसकेका छौँ । अहिले भूकम्पको केन्द्र विन्दु समेत रहेको गोरखा छानेका हौँ । हाम्रो अर्काे उदेश्य विपदको बेला दुई देशका सेनाहरुले मिलेर कसरी काम गर्न सकिन्छ भन्ने अभ्यास पनि हो ।’

सेनाका प्राविधिकहरुले जिल्लाका विभिन्न पाँच विद्यालयहरुमा मर्मत, वायरिङलगायतका कामहरु पनि गरिरहेका छन् । संसारी माबि गाँखु, महेन्द्र माबि कुन्दुर, गोरखा अस्पताल, छेवेटार स्वास्थ्यचौकीमा पनि वायरिङ, भबनहरु मर्मत लगायतका कार्यहरु नेपाली सेना र अमेरिकन सेनाको संयुक्त टोलीले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्