रुकुममा एक अज्ञात रोग देखियो,एकै साथ दुई सय बिरामी



धनवीर दाहाल,रुकुम ।
रुकुमको आठविसकोट नगरपालिका–३ स्थित खदी गाँउमा अज्ञात रोग देखिएको छ । एकै साथ दुई भन्दा बढी बिरामी परेका छन् ।

स्थानीयका अनुसार टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, वान्ता हुने जस्ता लक्षणका कारण गाउँका अधिकांश सर्वसाधारण बिरामी परेका छन् ।

आठबिसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले अज्ञात रोगका कारण खदीका सर्वसाधारण बिरामी परेको बताउनुभयो । भिन्नभिन्न लक्षणका बिरामीहरु दैनिक रुपमा बढ्दै गएको प्रमुख केसीले बताउनुभयो ।

साविकको स्यालाखदी गाविसमा पर्ने उक्त ठाउँमा स्वास्थ्य चौकी पनि छैन । स्यालामा रहेको स्वास्थ्य चौकी पनि अनमीको भरमा चल्दै आएको नगर प्रमुख केसीले जानकारी दिनुभयो । हालसम्म उक्त प्रकोप कुन रोगको हो भन्ने नै पत्ता लाग्न सकेको छैन ।

हरेक दिन बिरामी बढ्दै गएपछि आठविसकोट नगर स्तरीय स्वास्थ्य संस्थाबाट २ जना स्वास्थ्यकर्मीसहित औषधि पठाइएको छ । एकजना हेल्थ असिस्टेन्ट र एकजना अहेब १ जना भरिया औषधिसहित खदीतर्फ गएको उहाँले जानकारी दिनुभयो ।

हेल्थ असिस्टेन्ट मनिराज शाह र अर्का १ जना अहेब बुधबार जिल्ला अस्पतालबाट औषधि सहित त्यसतर्फ गएका हुन् । उनीहरु बिहिबार बेलुकासम्म सो स्थानमा पुग्न सक्ने अनुमान गरिएको छ ।

जिल्ला अस्पतालका महामारी नियन्त्रण कार्यक्रमका फोकल पर्सन नन्दलाल महत्तोले एक्कासी धेरैजनामा ज्वरो आएकोले आवश्यक औषधिसहित स्वास्थ्यकर्र्मी पठाइएको बताउनुभयो । २०६८ सालमा पनि सोही गाँउमा झाडापाखाला महामारी फैलिएको थियो ।

सो गाँउमा एक्कासी स्थानीयहरु बिरामी भएपछि अन्य ठाँउहरुमा पनि त्रास फैलिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्