गाउँ र शहरमा फरक फरक करगाउँ र शहरमा फरक फरक कर



मोतीराम तिमल्सिना,काभ्रे ।
बनेपा नगरपालिकाले नगरबासिहरुको हितका लागि विभिन्न करका दरहरुमा ग्रामिण र शहरी क्षेत्रका लागि फरक फरक दररेट कायम गरेको छ । घरको नक्सा पास गर्दा ग्रामिण भेगमा ३ रुपैया र शहरी क्षेत्रमा ६ रुपैया प्रति वर्ष स्क्वायर फुट कायम गरेको छ ।
साथै बनेपा नगरपालिकाले भुकम्प पीडित नगरबासिहरुका लागि नक्सा पासमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ भने सरकारले डिजाईन गरेको नक्सामै घर निर्माण गर्ने नगरबासिहरुलाई निशुल्क नक्सा पास गरिदिने निर्णय गरेको छ । नगरपालिकाले साविकका गाविसहरु उग्रतारा जनागाल, महेन्द्रज्योती बाँस्डोल, नासिकास्थान साँगा, टुकुचा नाला, उग्रचण्डी नाला, रविओपीका लागि नक्सा पासमा छुट्टै दर कायम गरेको छ ।

सोहि गाविसमा रहेका हालका वडाहरुका लागि अरनिको राजमार्गसँग जोडिएका घरका लागि प्रति वर्ग फिट ७ रुपैया, नाला भक्तपुर सडकसँग जोडिएका घरका लागि प्रति वर्ग फिट ६ रुपैया, महेन्द्रज्योती सडकसँग जोडिएका घरका लागि ४ रुपैया र उल्लेखित बाहेकका बाँकी क्षेत्रका लागि प्रति वर्ष फिट ३ रुपैया मात्रै राजश्व दस्तुर लाग्ने निर्णय गरेको छ ।

नगरपालिकाले थपिएका बाहेकका साविकका वडाहरुमा भने फरक फरक दस्तुर कायम गरेको छ । बढ्दो मुल्यवृद्धी समायोजन गर्न नगरपालिकाले नगरबासिहरुका लागि विभिन्न क्षेत्रमा करको दरलाई सहज बनाउने निर्णय भएको छ ।

नगरबासिहरुको घर भत्किएर पुर्ननिर्माण गर्नु पर्दा नक्सा पासमा १५ सय वर्ग फुटमा सबै नागरिकहरुका लागि ५० प्रतिशत राजश्व छुट गराउने निर्णय गरेको उपप्रमुख एवं राजश्व समितिका संयोजक रेखा सापाकोटा दाहालले बताईन् ।

अन्यत्र घर भई बनेपामा नयाँ घर बनाउने नागरिकहरुले उक्त सुविधा प्राप्त गर्ने छैनन । भुकम्पले बनेपा नगरपालिका भित्रै घर भएर भत्किएको अवस्थामा मात्रै उक्त सेवा प्राप्त गर्नेछन् ।

ग्रामिण भेगका नागरिकहरुले प्रति वर्ग फिट ३ रुपैयामा पनि १५ सय वर्ग फिटसम्म ५० प्रतिशतसम्म छुट पाउँदा धेरै सहज हुने वडा नम्वर ३ का अध्यक्ष कृष्णप्रसाद दाहालले बताए । मंगलबार बसेको बैठकले भुकम्प पीडित नागरिकहरुका लागि छुट दिने निर्णय गरेको वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले जानकारी दिए ।

सरकारले तोकेका नक्सा अनुसारको घर निर्माण गर्ने भुकम्प पीडित नागरिकहरुले नक्सा पासको प्रकृयामा नै जानु नपर्ने नगरपाकिलाले स्पष्ट पारेको छ । चारकिल्ला दस्तुरमा केहि बृद्धी भए पनि उक्त रकम हरेक नागरिकहरुका लागि सधै अनिवार्य रुपमा नचाहिने र नागरिकहरुले पनि सस्तो रुपमा त्यसको ब्यवस्थापन समेत गरेको नदेखिएको विगतको अनुभवले केहि रकम बृद्धी गरेको नगरपालिकाले जानकारी दिएको छ ।

नगरबासीहरुको हितका लागि विभिन्न जनपक्षिय निर्णय गरेको र कार्यान्वयन समेत शुरु गरिसकिएको नगर प्रमुख लक्ष्मी नरसिंबादेले जानकारी दिए ।

नगर प्रमुख लक्ष्मी नरसिं बादेका अनुसार नगरका सबै नागरिकहरुलाई आर्थिक रुपले सम्वृद्ध बनाउन मालपोत कार्यालयको रजिस्टेसन प्रयोजनका लागि लिईने मुल्याङ्कन सरह वा कतै कतै केहि थप मुल्य हुने गरी सम्पतिको मुल्याङ्कन गरिएको बताए ।

‘ग्रामिण भेगको जग्गाको मुल्य बढी हुँदा त्यहाँको नागरिकले थप सेवा प्राप्त गर्ने हो, आवश्यक नहुने सेवाग्रहीले जग्गाको मुल्याङ्कन गराईरहनु पर्दैन, जसलाई त्यसको मुल्याङ्कन गरेर आय आर्जन गर्नु छ उसका लागि मुल्याङ्ककनको निर्णयले फाईदा पुग्नेछ’–नगर प्रमुख लक्ष्मीनरसिं बादेले भने–‘नागरिकहरुकै हितका लागि नागरिकहरुकै मागका आधारमा सम्पतिको मुल्याङ्कमा हेरफेर गरिएको हो ।’

यो मुल्याङ्कनले विदेश जान जग्गाको धितो राख्न वा बैकमा राखेर कर्जा लिन ग्रामिण र शहरी क्षेत्रका नागरिकहरुलाईका लागि सहज भएको नगरपालिकाले जनाएको छ । नागरिकहरु पनि उत्त निर्णयले खुशी देखिएका छन् । अरनिको राजमार्गमा बनेपा बजार भित्र हातको २५ लाख रुपैया पर्ने जग्गालाई रोपनीको ८० लाखको मात्रै मुल्याङ्कन गर्ने निर्णय भएको छ भने साँगा देखि बुडोलसम्म, नाला भक्तपुर सडकमा, महेन्द्रज्योती सडकमा, ग्रामिण भेगका जग्गाहरुको फरक फरक मुल्याङ्कन राखिएको राजश्व निर्धारण समितिका संयोजक तथा उपप्रमुख रेखा दाहाल सापकोटाले बताईन् ।

१ लाख देखि ८० लाखसम्मको मुल्याङ्कन गर्ने गरी निर्णय भएको नगरपालिकाले जानकारी दिएको छ । ‘नागरिकहरुको हितका लागि नगरपालिकाले आवश्यक निर्णय गरेको छ’–दाहालले भनिन्– ‘नक्सा पासमा समेत ग्रामिण क्षेत्र र शहरी क्षेत्रलाई फरक फरक दररेट कायम गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्