विमान नचल्दा तनाव भयो



 

पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेन्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको एक साताभन्दा बढीदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन्। बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको आठ दिनयता उडान हुन नसकेको खबर सञ्चारमाध्यममा पनि आइरहेको छ। उडान हुन नसक्दा खुम्बु घुमेर फर्कन लागेका करिब एक सय पर्यटक लुक्लामा रोकिएको अवस्था छ।

अहिले पर्यटक आउने मौसममा दैनिक चार–पाँचवटा उडान हुने गरेकामा आठ दिनदेखि ठप्प छ। लगातारको मौसम खराबीका कारण केही पर्यटक लुक्लाभन्दा केही तल सुर्केमा हेलिकोप्टर मगाएर राजधानी फर्केका छन् भने केही फाप्लुतर्फ पैदल हिँडेका छन्। यहाँ पर्यटकको बिजोग छ। लुक्लाबाट फाप्लु पुग्न सामान्यतया पर्यटकका लागि तीन दिनभन्दा बढी पैदल हिँड्नुपर्छ। जिल्लाको अर्को विमानस्थल फाप्लुमा पनि करिब एक महिनायता उडान हुन सकेको छैन। फाप्लुबाट बाटो बनेकाले खासै समस्या छैन तर यहाँ साह्रै तनाव छ। सरकारले विकट ठाउँमा सडक सञ्जाल जोड्ने व्यवस्था मिलाउन जरुरी छ।

– हरिबहादुर बम, सोलुखुम्बु

ताप्लेजुङकी सृजनाको हत्यारा खोई ?

ताप्लेजुङको निघुरादिनमा हत्या भएकी सृजना कुरुम्बाङ थलङको हत्याको विषयलाई प्रहरीले गम्भीरताका साथ नलिएको देखिएको छ। घटनामा संलग्नलाई केही दिन नियन्त्रणमा लिई सामान्य तारेखमा छाडेको र घटनामा संलग्नको नामसहित दिएको जाहेरीसमेत प्रहरीले लिन नमानेको पीडितको गुनासो अहिले सुन्नमा आएको छ। गत असार ३० गते बिहान आफ्नै घरनजिकैको मकैबारीमा हत्या गरिएको अवस्थामा भेटिएकी सृजनालाई उनकै देवर प्रकाश थलङ, देवरानी रीता चोङ्बाङ, नन्द पूर्णिमाया थलङ, सासू मनमाया थलङ, नन्द मालती थलङसहित सात जनाले हत्या गरेको मृतकका दाजु राजकुमार कुरुम्बाङको दाबी रहँदै आएको छ। तर प्रहरीले आधिकारिक कुरो बाहिर ल्याएको छैन।

श्रीमान दिलीप थलङ वैदेशिक रोजगारीमा कतार गएका र मृतक सृजना ६ वर्षीय छोरा विप्लवसँगै छुट्टै घरमा बस्दै आएकी थिइन्। असार २९ गते राति आमा बाहिर निस्किएको र आमा घरभित्र नआउँदा छोरा विप्लव पनि बाहिर निस्कँदा फुपूहरुले आमालाई कुटेको आपूmले देखेको बालक विप्लवले बताए पनि प्रहरीले पक्राउ परेका मृतकका नन्द र देउरानीलाई साधारण तारिकमा छाड्न लागेको मृतकका दाजु राजकुमारले अहिले पनि बताइरहेका छन्। यो कुरा मिडियामा पनि आइसकेको छ। मृतकको शव फेला परेको स्थानमा नन्दको हातमा लगाउने सिक्री (ब्रासलेट) समेत फेला परे पनि प्रहरी भने पक्राउ परेकालाई छाड्नेतर्फ लागेको आरोप लागेको छ। त्यसैले प्रहरीले आधिकारिक कुरा बाहिर ल्याउन जरुरी छ।

प्रहरी संगठनलाई नै दाग लाग्ने गरी आरोप आउँदा खण्डन गर्न सक्नुपर्छ। प्रहरीले घटनामा संलग्न भनिएका नन्दहरुसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको कुरा पनि बाहिर आएको छ। विभिन्न कानुनी अड्चन भए पनि दोषी उम्कनुहुँदैन र निर्दोषले सजाय पाउनुहुँदैन। यो विषयमा प्रहरीले आधिकारिक कुरा बाहिर ल्याओस्।

– हरिशरण कुरुम्बाङ, ताप्लेजुङ

सतर्कता केन्द्र सतर्क भएन

सरकारी निकायको अनियमितता छानबिन गर्ने राष्ट्रिय सतर्कता केन्द्र एक महिनाभन्दा लामो समयदेखि सचिवविहीन भएको खबर आइरहेको छ। नेतृत्वविहीन हुँदा केन्द्रका नियमित काम कारबाहीसमेत प्रभावित भएका चर्चा छ। केन्द्र गत असार २८ गतेदेखि सचिवविहीन भएको हो। तत्कालीन सचिव धनबहादुर तामाङको अवकाश (रिटायर्ड) भएपछि सचिवविहीन भएको केन्द्रमा नयाँ सचिव नआउँदा सधैँ सतर्क हुनुपर्ने सतर्कता केन्द्र सतर्क हुन सकेको छैन।

सरकारी कार्यालयमा भएको अनियमितताबारे अनुसन्धान गर्ने निकाय सतर्क हुन नसक्दा समस्या भएको छ। भ्रष्टाचार मौलाउँदा पनि जनताले टुलुटुलु हेरेर बस्नुबाहेक केही गर्न सकेका छैनन्। सचिव नहुँदा कर्मचारीको तलब खानसम्म समस्या भएको खबर आउँछ। कार्यालयले गर्ने अरु काम पनि सबै लथालिङ्ग भएको सहजै अनुमान गर्न सकिन्छ।
– सरेश नेम्वाङ, भक्तपुर

बाढीपीडित बिरामी भइसके

विगत केही दिनयता परेको अविरल वर्षाको कारण विभिन्न जिल्लामा आएको बाढीबाट पीडित बासिन्दा बिरामी पर्न थालेका छन् भने विभिन्न किसिमको रोगको जोखिम बढ्दै गएको छ। त्यहाँ महामारी फैलने अर्को जोखिम त्यत्तिकै मात्रामा छ। पर्सा जिल्लाको पश्चिम क्षेत्रमा रहेका दुर्गम गाउँ मिर्जापुर, सम्झौता, जयमंगलपुर, भिस्वा, जानकिटोला, भिखमपुर, बन्जारेलगायतका गाउँका बाढीपीडित झाडापखाला, विषमज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जीउ चिलाउने रोगबाट प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले बताइसकेको छ।

नेपालगन्जमा पनि त्यस्तै समस्या आएको समाचार आइरहेको छ। बाढीका कारण बाटोघाटो कटानमा परेकाले यातायातको असुविधाको भई दुर्गम गाउँमा औषधि पठाउन नसकिएको अर्को बाध्यता छ। यो दुःखको घडीमा आएको अर्को महामारीको समस्याले पिरोलेको छ। पर्साको भिस्वा, सम्झौता, मिर्जापुर, पकहामैनुरजस्ता दुर्गम गाउँमा औषधिको अभाव रहेको र उक्त ठाउँमा समयमै औषधि नपाए महामारी फैलिन सक्ने अर्को समस्या छ। पर्सा जिल्लाको पश्चिमी भेगमा रहेका कतिपय गाउँ विकट क्षेत्रमा रहेको र ती ठाउँमा औषधि पुर्याउन नसक्ने समस्या पनि आफ्नो ठाउँमा छ।

विभिन्न रोग फैलिएका कतिपय गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र चिकित्सक देखा नपरेको र औषधिसमेत अभाव रहेकाले बाढीपीडितले उपचार पाउन नसकेको अवस्था छ। सरकारी संयन्त्र अलि चलाख हुन पनि जरुरी छ। कतिपय ठाउँमा बाढीपीडितका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गर्नुपर्ने अवस्थालाई सरकारले ध्यान दिनु जरुरी छ। यहाँ बाढीपीडित खुला आकाशमुनि बस्न बाध्य भएकाले महिला, बालबालिका तथा वृद्धवृद्धा विभिन्न रोगको सिकार हुने प्रबल सम्भावना छ। कतिपय त बिरामी पनि भएका छन्। उनीहरु औषधि नपाएर मर्ने अवस्था सिर्जना हुनुहुँदैन।

कतिपय गाउँमा रहेका स्वास्थ्य चौकी नै डुबानमा परेको अवस्था पनि छ। त्यहाँ रहेका औषधिसमेत नष्ट भएकाले त्यतातिर नयाँ औषधि पठाउन सरकारले ढिला गर्नुहुँदैन। डा. गोविन्द केसीले पनि अनशन तोडेको अवस्थामा अन्य स्वास्थ्यकर्मीले आफ्नो कर्तव्य सम्झेर स्वास्थ्य सेवा पुर्याउनु जरुरी छ।
– मधुसूदन तामाङ, पर्सा

प्रतिक्रिया दिनुहोस्