पूर्वप्रहरी कलाकार पुरीको पुस्तक सार्वजनिक



 

पूर्वडीएसपी तथा कलाकार, लेखक, निर्देशक आनन्द पुरीद्वारा लिखित ९ आईजीपीसँगका अनुभूति संस्मरणात्मक संग्रह मंगलबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

बीएन पुस्तक संसारले बजारमा ल्याएको पुस्तकलाई सो पुस्तकका रमेश सुवेदी, कथाकार माया ठकुरी, समालोचकद्वय हरि अधिकारी तथा दामोदर न्यौपाने र लेखक आनन्द पुरीले संयुक्तरूपमा विमोचन सार्वजनिक गरेका हुन्।

कार्यक्रममा पुस्तकको समीक्षा गर्दै हरि अधिकारीले उक्त पुस्तकमा प्रहरी प्रशानभित्र देखिने र अनुभूति गरिने विषयको बारेमा वर्णन गरिएको तथा प्रहरी प्रशासनलाई यो अवस्थामा ल्याउन कुन–कुन आईजीपीले के–के योगदान गरे भन्ने कुराको बारेमा जानकारी दिइएकाले पुस्तकलाई प्रहरी विकासक्रमको अभिलेखको रूपमा लिँदा उपयुक्त हुने चर्चा गरे। पुस्तकको शीर्षकको बारेमा टिप्पणी गर्दै अधिकारीले भने– ‘पुस्तकको शीर्षक ९ आईजीपीसँगका अनुभूतिभन्दा प्रहरी प्रशासनको इतिवृत्ति भन्दा उपयुक्त र बढी सान्दर्भिक हुन सक्थ्यो।’

अर्का समालोचक तथा पत्रकार न्यौपानेले पुस्तकको बारेमा चर्चा गर्दै पुस्तकको माध्यमबाट प्रहरी प्रशासनभित्रको रोमाञ्चक र थाहा नभएको थुप्रै विषयका बारेमा ज्ञान हुने बताए। दुवै समालोचकले नेपाली संस्मरणात्मक विधाको विकासमा उक्त पुस्तकले उल्लेखनीय भूमिका खेल्ने भन्दै लेखकलाई बधाई पनि दिए। त्यस्तै कथाकार तथा साहित्यकार माया ठकुरीले प्रहरी प्रशासनका बारेमा थाहा पाउनका लागि सबैले उक्त पुस्तक पढ्नुपर्नेमा जोड दिइन्। रेडियो तथा टेलिभिजनको प्रहरी अनुरोध कार्यक्रमका लेखक, निर्देशक र कलाकारसमेत रहेका लेखक पुरीले उक्त पुस्तकको माध्यमबाट आफूले संगत् गरेको विभिन्न आईजीपीको असल र खराब पक्षका बारेमा वर्णन गर्न खोजिएको बताए। साथै उनले प्रहरी र जनताबीचको सम्बन्ध राम्रो भएमा मात्र समाजमा सन्तुलन कायम रहन्छ भन्ने कुरा उक्त पुस्तकको माध्यमबाट देखाउन खोजिएको प्रस्ट्याए।

पुरीले यो संस्मरण पुस्तकमा प्रहरी संगठनमा रहँदा आफूले भोगेका अनुभवहरुलाई समेटेका छन्। उनले पुस्तकमा प्रहरी संगठनमा देखेका र भोगेका सुख, दुःख, मिलन–विछोड, न्याय, अन्याय, आकृति, विकृति जस्ता पक्षलाई उजागर गरेका छन्। उनले पञ्चायतकालदेखि लोकतान्त्रिक गणतान्त्रिक व्यस्वस्था लागू हुँदासम्मको प्रहरी नेतृत्व चयनका बारेमा समेत खुलाएका छन्। असईबाट प्रहरी सेवा शुरु गरी ३१ वर्षे सेवा अवधिमा प्रहरी नायव उपरीक्षकसम्म भई संगठनबाट अवकाश लिएका पुरीले आफ्नो पुस्तकमा देशमा पटक–पटक भएका राजनीतिक परिवर्तनले प्रहरी संगठनमा पारेको प्रभाव, तत्कालीन राजा वीरेन्द्रसँगको भीभीआईपी सेक्युरिटीमा रहँदाको रोमाञ्चक अनुभव, हिमाल चढ्दाको रोचक र चुनौतीपूर्ण यात्रा, संयोग र वियोग, ड्युटीमा खटिँदाको चुनौती र सहजता, दुर्गम र सुगम स्थानको अनुभव, अपराधिसँगको जम्काघेट र कारबाही, जनताबाट पाएको हाई–हाईलगायतको विषयलाई समेटेका छन्।

प्रतिक्रिया दिनुहोस्