बाढीपीडितलाई विशेष राहत उपलब्ध गराउने प्रचण्डको प्रतिबद्धता



 

शिवहरिप्रसाद भट्टराई, राजविराज
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सप्तरीका बाढीपीडितलाई पार्टीले विशेष राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

बाढीपीडितको अवस्था हेर्न स्थलगत अनुगमन गर्न बुधबार सप्तरी आउनुभएका अध्यक्ष दाहालले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

बाढीका कारण मृत्यु भएका परिवारलाई २⁄२ लाख राहत रकम उपलब्ध गराउन सरकारले गरेको निर्णयबाहेक माओवादी पार्टीले विशेष राहत उपलब्ध गराउने उहाँले बताउनुभयो। भूकम्पको बेला तराईका जनताले गरेको सहयोग स्मरणीय रहेको भन्दै अध्यक्ष दाहालले पहाडका जनता पनि सोही अनुरूप राहत उपलब्ध गराउने कार्यमा जुटेको बताउनुभयो।

अविरल वर्षासँगै गत बिहीबार जिल्लास्थित खाँडो खोलामा आएको बाढीले बगाएपछि बेपत्ता भएका राजविराज नगरपालिका–१५ देउरी भरुवाका डोमी यादवको परिवारसँग भेटघाट गर्दै अध्यक्ष दाहालले शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्नुभयो। उहाँले देउरी भरुवाका १ सय ८३ बाढीपिडित परिवारलाई २५ किलो चामल र एक कार्टन चाउचाउसमेत राहत वितरण गर्नुभयो।

गृहमन्त्री जनार्दन शर्मा, आपूर्तिमन्त्री शिवकुमार मण्डललगायत सम्मिलित टोलीले यसअघि जिल्लाको कंकालनी हनुमाननगर नगरपालिका–११ स्थित इनर्वाका बाढी विस्थापित परिवारसँग समेत भेटघाट गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्