‘दोहोर्याई पाऊँ’ प्रकरण उल्टियो अब थुनिनु नपर्ने



 

काठमाडौं, (नेस)
‘दोहोर्याइ पाऊँ’ भन्ने मुद्दामा अभियुक्तले थुनामा नबसीकनै पनि सर्वोच्च अदालतमा निवेदन दिन पाउने ठहर भएको छ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको बुधबारको बृहत् पूर्ण इजलासले मुलुकी ऐन, अदालती बन्दोबस्तको १९४ नम्बरको व्याख्या गर्दै अबदेखि दोहोर्याई पाऊँ भन्ने मुद्दामा सर्वोच्च अदालतमा निवेदन दिँदा अभियुक्त थुनामा नबसे पनि हुने ठहर गरेको हो।

अदालती बन्दोबस्तको १९४ नम्बरमा ‘पुनरावेदन सुन्ने अड्डाले भए पुनरावेदन गर्ने म्यादसम्मलाई र पुनरावेदन दर्ता भएकोमा किनारा नभएसम्मलाई बढीमा १० वर्षसम्म कैदको सजाय भएकामा र पुर्पक्षलाई थुनामा बस्नु नपर्ने मुद्दा भएमा वा नबसेको भएमा धरौटी र जमानीमा छाड्न सक्नेछ’ भन्ने व्यवस्था छ।

यसअघि सर्वोच्च अदालतले यो सुविधा पुनरावेदनको निवेदन दिँदा मात्र लागू हुने तर ‘दोहोर्याई पाऊँ’ भन्ने निवेदनमा लागू नहुने भन्ने व्याख्या गरी सम्बन्धित अभियुक्त कैदमा बस्नु नै पर्ने गरी सो नम्बरको व्याख्या गरेको थियो।

शशिकान्त तिवारी भन्ने व्यक्तिलाई वन कटान गरेको अभियोगमा शुरू निकायले गरेको फैसलालाई उच्च अदालतले पनि सदर गरेको तर उनी सर्वोच्च अदालतमा आउनका लागि थुनामा नै बस्नुपर्ने बाध्यता आइपरेको थियो। उनले बाहिरै बसी सर्वोच्च अदालतमा निवेदन दिन पाउन निवेदन दिएकामा अदालती बन्दोबस्तीको १९४ नम्बरको व्याख्या गर्न त्यस्तो बृहत् इजलास गठन गरिएको हो।

एमिकस क्युरीका रुपमा बहस गर्दै वरिष्ठ अधिवक्ता यदुनाथ खनालले १९४ नम्बरको सुविधा दोहोर्याई पाऊँ भन्ने निवेदनको हकमा पनि लागू गर्नुपर्ने माग गर्नुभएको थियो। सो सुविधा दिने गरी अदालतले गरेको निर्णयलाई वरिष्ठ अधिवक्ता खनालले कोसेढुंगाको संज्ञा दिनुभयो।

प्रतिक्रिया दिनुहोस्