तीन दल बैठक दुवै चुनाव एकैपटक गर्ने सहमति



 

नेपाल समाचारपत्र
काठमाडौं
प्रमुख तीन दलबीच आगामी मंसिर १५ गतेभित्र नै प्रदेश र संघ दुवै चुनाव एकै चरणमा सम्पन्न गर्ने सहमति भएको छ। तीन दलबीच संविधान कार्यान्वयन गर्न मंसिर १५ को मितिलाई आधार मानेर दुवै चरणको चुनाव सम्पन्न गर्ने निर्णय भएको हो।

नेकपा एमालेका नेता सुवास नेम्वाङले तीन दलबीच निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने सहमति भएको बताउनुभयो। तीन दलबीच आगामी संविधानले तोकेकै मितिमा बाँकी प्रदेश र संघको चुनाव सम्पन्न गर्ने निर्णय भएको छ।

त्यसै गरी प्रमुख तीन दलबीच भदौ ५ गतेभित्र संविधान संशोधन विधेयकको टुंगो लगाउने सहमति भएको छ। सरकारले पास फेल जे भए पनि संसद्मा पेस गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको सहमतिकै आधारमा भदौ ५ गतेभित्र टुंगो लगाउने सहमति भएको हो।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माअ‍ोवादी केन्द्र र प्रतिपक्षी दल नेकपा एमालेबीच सहमतिकै आधारमा संविधान संशोधन विधेयकको विषयमा टुंगो लगाउने सहमति गरेका छन्। बैठकपछि एमाले नेता नेम्वाङले भदौ ५ गतेभित्र नै संविधान संशोधन विधेयकको टुंगो लगाउने निर्णय भएको बताउनुभयो।

बैठकमा कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका अध्यक्ष केपी शर्मा ओली, नेता सुवास नेम्वाङ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतको सहभागिता रहेको थियो।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सकिने वा नसकिने भन्नेबारे निर्वाचन आयोगसँग पुनः छलफल गर्नुभएको छ।

प्रधानमन्त्री भएदेखि देउवाले दुवै चरणको निर्वाचन एकै चरणमा गर्नुपर्ने बताइरहनुभएको स्थितिमा दुवै चरणको निर्वाचन एकै चरणमा गर्न सकिनेबारे बुधबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसहित आयुक्तहरूसँग छलफल गर्नुभएको हो। निर्वाचनका लागि समय कम हुँदै गएको अवस्थालाई समेत मध्यनजर गरेर सो विषयमा छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हिजो भएको भेटमा पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै दिन सम्भव भएको भनी आयोगका पदाधिकारीहरूसँग सोध्नुभएको प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो। जवाफमा आयुक्तहरूले दुईवटा निर्वाचन एकै चरणमा गर्न व्यवस्थापकीय हिसाबले कठिनाइ भएको बताउँदै त्यसबारे थप छलफल गर्ने बताएका थिए।
आयोगका पदाधिकारीसँगको अघिल्लो भेटमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्न सकिनेबारे आयोगको धारणा मागेपछि एकै चरणमा निर्वाचन गर्न सकिने वा नसकिनेबारे छलफल शुरू गरेको थियो।
आयोगले शुरूदेखि दुई चरणमा निर्वाचन गरे व्यवस्थापकीय र प्राविधिक दृष्टिले सहज हुने धारणा राख्दै आएको छ। ‘दुई चरणमा निर्वाचन गर्दा सहज हुने विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरायौं।’ –प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो।

आयोगका तर्फबाट निर्वाचनका लागि समय कम हुँदै गएको, व्यवस्थापन गर्ने आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नभइसकेको अवस्थामा दुईवटै निर्वाचन सञ्चालन गर्न कठिनाइ हुने कुरा अवगत गराइएको बताइएको छ।

‘दुई चरणमा निर्वाचन गर्दा एउटा मतदान केन्द्रमा दुईवटै निर्वाचनको प्रत्यक्ष र समानुपातिक गरी चारवटा मतपेटिका राख्नुपर्ने, त्यसका लागि मतपत्र छाप्नुपर्नेलगायत कारणले गर्दा दुईवटै निर्वाचन एकै चरणमा गर्न कठिन छ।’ –डा. यादवले भन्नुभयो।

आउँदो माघ ७ गतेभित्र प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता रहेको बताउँदै निर्वाचनका लागि आवश्यक कानुन बनाउने काम तीव्र गतिमा गर्नुपर्ने पनि प्रधानमन्त्री देउवासमक्ष आग्रह गरिएको पनि प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्