पीडितलाई कुहिएको चामल



 

शिवहरिप्रसाद भट्टराई, राजविराज
बाढीपीडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेका सामग्री वितरण भइरहेको भन्दै सप्तरीका बाढी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन्। एनजीओदेखि जिल्ला दैवीप्रकोप उद्धार समितिले वितरण गर्ने राहत सामग्रीसमेत गुणस्तरहीन हुने गरेको उनीहरूको गुनासो छ।

यसैबीच मंगलबार महुली सामुदायिक विकास केन्द्रले सप्तकोशी नगरपालिकामा म्याद गुज्रेको पानी छान्ने क्लोरिन वितरण गरेको फेला परेको छ। सप्तकोशी नगरपालिका–३ स्थित सखुवनी टोलमा वितरित किट सेटमा म्याद गुज्रेको क्लोरिन फेला परेको समाजसेवी चन्द्रशेखर चौधरीले बताएका छन्। ‘सर्वसाधारणले गुनासो गरेपछि हेर्दा वास्तवमै म्याद गुज्रेको पाइयो।’ –चौधरीले भने।
समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्ने नाममा स्वप्रचार गर्न खोज्ने एनजीओका कारण सर्वसाधारणको ज्यानै जोखिममा पार्ने काम भइरहेको भन्दै उनले यस्ता गतिविधि तत्काल रोक्न र राहत वितरणलाई व्यवस्थित गर्न माग पनि गरेका छन्।

प्रहरी चौकी फत्तेपुरका सई बलबहादुर खत्रीले समेत राहत वितरणमा भइरहेको बदमासीको पुष्टि गरेका छन्। महुली सामुदायिक विकास केन्द्रले सप्तकोशी–३ का १ सय २० घरमा वितरण गरेको क्लोरिन म्याद गुज्रेको फेला परेपछि प्रयोगमा रोक लगाइएको उनले जानकारी दिए।

संस्थाको खुला दिसामुक्त अभियानका संयोजक पुहुपनारायण चौधरीले हतारका कारण त्रुटि भएको स्विकार्दै म्याद गुज्रेको क्लोरिन प्रयोग नगर्न आग्रहसहित तत्कालै फिर्ता लिने काम पनि शुरू गरिएको बताए।

उक्त किट सेट युनिसेफको सहयोगमा वितरण गरिएको हो। ‘हतारमा किट सेट वितरण गरियो, यस्तो समस्या आउला भन्ने हेक्का नै रहेन’, चौधरीले भने– ‘जब हामीले म्याद गुज्रेको क्लोरिनका बारेमा जानकारी पायौं, तत्कालै प्रयोगमा रोक लगाएर कलेक्सन पनि शुरू गरिसकेका छौं।’

यता, जिल्ला दैवीप्रकोप उद्धार समितिले समेत कुहिएको र गन्हाउने चामल वितरण गरेको भन्दै हनुमाननगर कंकालिनी नगरपालिकास्थित कुशाहा टोलका बाढीपीडितले गुनासो गरेका छन्। राहतलाई व्यवस्थित गर्ने र अखाद्यवस्तु किनबेचमा रोक लगाउने समितिबाट नै यस्ता सामग्री वितरण गर्नु दुर्भाग्यपूर्ण भएको उनीहरूको गुनासो छ।

जिल्ला विपद् व्यवस्थापन समितिका कार्यक्रम संयोजक राजेश झाले राहत सामग्री भण्डारण गरिएको रेडक्रसको गोदाममा पानी पसेकाले चालम भिजेको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

बिरामी बढे

काठमाडौं, (नेस)
अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ भने ३६ जना अझै बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। डुबान र पहिरोमा परी ३० जना घाइते भएको बताइएको छ।

बाढी र पहिरो पीडितको उद्धारका लागि तीनवटै सुरक्षा निकायबाट झन्डै २० हजारको संख्यामा सुरक्षाकर्मी परिचालन भएको र उद्धार तथा राहत वितरण कार्यलाई तीव्रता दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ। विभिन्न अस्थायी शिविरमा रहेका डुबान तथा पहिरोपीडित महिला, बालबालिका र वृद्धवृद्धामा झाडा पखाला, टाइफाइड र ज्वरो आउने क्रम बढेकाले स्थिति भयावह बन्दै गएको स्थानीय संवाददाताहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्