जुजु धौः धान्नै धौ–धौ



 

हरि ढकाल, काठमाडौं
भक्तपुरको जुजु धौ सबैको मुखमा झुण्डिने विषय हो। जुजु भनेको राजा र धौ भनेको दही भनिने भएकाले नेवारी भाषामा यसलाई दहीको राजा भन्न खोजिएको विज्ञहरू बताउँछन्। यो जुजु धौको नाम चलेको भए पनि यसलाई कायम राख्न भने अहिलेको पुस्तालाई धौ–धौ परेको सम्बद्धहरू नै बताउँछन्।

अस्टराम सैजु यस्तै एक जुजु धौ व्यापारी हुनुहुन्छ। उहाँको पुस्ताले विगत २ सय वर्षअघिदेखि नै भक्तपुरमा यो व्यवसाय गर्दै आएको छ। तर, पहिले जस्तो जु जु धौ व्यापारमा मात्रै निर्भर भएर अहिले खर्च नचल्ने उहाँको भोगाई रहेको छ। ‘पहिले दूध लिन टाढा जान पर्दैनथ्यो गाउँमै भैंसी पाल्ने गर्थे। तर, अहिले दूध संकलन गर्न ने धेरै टाढा जानुपर्छ’ –उहाँको भनाइ रहेको छ।

केही समययता दुग्ध डेरीले घरनजिकै दही बेच्न शुरू गरेकाले पनि अझ जुजु धौको व्यापार घट्दै गएको उहाँको भनाइ रहेको छ। ४० प्रतिशत दूध घटाएर ल्वाङ, सुकुमेल र चिनी मिसाएर जुजु धौ बनाइने गरेको बनाइने गरेको छ। १ लिटरलाई १ सय ८० रुपियाँमा जुजु धौ बेच्दा १० रुपियाँजति फाइदा हुने गरेको उहाँले बताउनुभयो।
सित्तिमाया सिन्तकलाले भन्नुभयो– ‘बिहे गरेर आएको दिनबाट म यही व्यापार गर्दै छु, ससुराले गर्दै आउनुभएको पेसा आज म गर्दै छु। जुजु धौं पेसाबाटै घर चलेको छ। बालबच्चा पढाएकी छु।’

दूधलाई ३ घण्टामा जुजु धौ बनाउन सकिने र फ्रिजमा राखेपछि लामो समय राख्न सकिने पनि उहाँले बताउनुभयो। दूधलाई धानको भुसमा ३ घण्टा राखेर बनाइएको जुजु धौबाट प्रतिलिटर १० रुपियाँ फाइदा हुने गरेको उहाँको भनाइ छ। घरमै बसेर आफ्नो व्यवसायबाट भएको उक्त फाइदामा आफू सन्तुष्ट भएको उहाँ बताउनुहुन्छ।
(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्