९८ वर्षको उमेरमा नेपालीलाई नागरिकता



 

नेपाल समाचारपत्र
सुनापति
१६ वर्ष पुगेपछि नागरिकता लिन पाइने प्रावधान छ। तर रामेछापको सुनापति गाउँपालिका–३ दिपीपोखरीकी गौरीमाया नेपालीले ९८ वर्षको उमेरमा नागरिकता लिनुभएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले गाउँघरमा नै सेवा दिने उद्देश्यले सञ्चालन गरेको नागरिकता वितरण टोलीबाट नेपालीले नागरिकता लिनुभएको हो।

रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नागरिकता वितरणसँग ९८ वर्षीया नेपालीलाई बाटो खर्च भनेर व्यक्तिगत रूपमा १ हजार रुपियाँ प्रदान गर्नुभएको थियो।

विसं १९७६ साल असार १८ गते जन्मनुभएका नेपालीले नाता प्रमाणित गर्नका लागि आवश्यक कागजात जुटाउन नसक्दा नागकिरता लिन सक्नुभएको थियो। प्रजिअ खत्रीले माइतीबाट पनि नाता प्रमाणित भएको आधारमा नेपालीलाई नागरिकता प्रदान गर्नुभएको थियो। जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती नागरिकता टोलीबाट नागरिकता लिएपछि अब नेपालीले वृद्धभक्ता समेत पाउनुहुने भएको छ। कानुनप्रावधान अनुसार ७० वर्ष उमेर पुगेपछि वृद्धभत्ता पाउने भए पनि लामो समयदेखि कोसिस गर्दा पनि बन्न नसकेको नागकिरता बनेपछि नेपाली खुसी हुनुभएको छ।

६ सय ७८ जनाले नागरिकता लिए
स्थानीय तहको निर्वाचनसँगै जिल्ला प्रशासन कार्यालय जिल्लाको दोरम्बा र सुनापति गाउँपालिकामा सञ्चालन गरेको घम्ती नागरिकता टोलीबाट ६ सय ७८ जनाले नागरिकता लिएका छन्। दोरम्बा गाउँपालिकाको केन्द्र टोकरपुरबाट गाउँपालिकाका ७ वटा वडाबाट २ सय ३१ र सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीबाट ४ सय ४७ जनालाई नागरिकता वितरण गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो। उहाँले आगामी दिनमा पनि जनताको आवश्यकतालाई आत्मसात् गर्दै नागरिकता वितरणको कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्