भारतको ७१औं स्वतन्त्रता दिवश, काश्मिरको समस्या सबैसँग मिलेर समाधान गर्न प्रतिबद्ध छुः मोदी



 

नयाँदिल्ली, (एजेन्सी)
भारतले मंगलबार ७१औं स्वतन्त्रता दिवश मनाएको छ। उक्त अवसरमा दिल्लीमा कडा सुरक्षा ब्यवस्था गरिएको छ।

स्वतन्त्रता दिवशका अवसरमा भारतको लाल किल्लामा आयोजित समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले चौथोपटक सम्बोधन गरेका छन्। लाल किल्लाको प्राचीरमा तिरंगा फहराउँदै मोदीले सम्बोधनमा गोरखपुर घटनादेखि काश्मिर समस्याजस्ता मुद्दाको चर्चा गरे।

भाषणमा शुरूआतमा उनले गोरखपुरको एक अस्पतालमा मारिएका बच्चाका लागि अफसोच दुःख ब्यक्त गरे। काश्मिरको मुद्दा उठाउँदै उनले भने– न गालीबाट, न त गोलीबाट, काश्मिरको समस्या गला मिलाएपछि समाधान हुनेछ।

उनले सम्बोधनमा नोटबन्दीबाट कालोधन बाहिर आएको र नोटबन्दीपछि ३ लाख करोड रूपियाँ बैंकिङ प्रणालीमा आएको बताए। पूर्वीभारततर्फ विशेष ध्यान दिइरहेको बताउँदै बिहार, असम, पश्चिम बंगाल, ओडिसा, सुदूर पूर्वी क्षेत्रलाई अझ अगाडि बढाउनुपर्ने उनले बताए।

देशको सुरक्षा पहिलो प्राथमिकता भएको र देशविरुद्ध हुने हरेक कुचक्रलाई परास्त गर्न आफू सक्षम रहेको मोदीले बताए। आस्थाको नाममा हिंसा भारतमा स्वीकार नहुने बताउँदै देश शान्ति, एकता र सद्भावनाबाट चल्ने उनले बताए। सबैलाई सँगै लिएर अगाडि बढ्नु भारतको सभ्यता तथा संस्कृति भएको उनले थपे। उनले भने– ‘त्यतिबेला भारत छोडको नारा थियो, आज भारतलाई जोडको नारा छ।’ उनले मुश्लिम समुदायमा विवादको कारण बनेको तीन तलाकको विरुद्ध लडिरहेका महिलालाई हिन्दूस्तानले पूर्ण मद्दत गर्ने बताए।

आतंकवादको मुद्दामा नरम हुने कुनै प्रश्न नै नउठ्नेमा उनले जोड दिए। सर्जिकल स्ट्राइक हँुदा विश्वले भारतको क्षमतालाई मानेको र आतंकवादको लडाइँमा भारत एक्लो नभएको बताउँदै विश्वका थुप्रै देशले भारतलाई मद्दत गरिरहेको उनले बताए। कालोधन र भ्रष्टाचार विरुद्धको लडाइँ जारी रहने बताउँदै प्रविधिसँग पारदर्शिता ल्याउने दिशामा काम भइरहेको मोदीले बताए। काश्मिरको मुद्दामा मिलेर काम गर्नुपर्ने र काश्मिरको स्वर्गलाई पुनः महशुस गर्न सक्ने बनाउन आफू कृतसंकल्प रहेको उनले बताए।

स्वतन्त्रता दिवशको विभिन्न समारोहका सुरक्षाका लागि ८० हजार सैनिक र १० हजार प्रहरीलाई सुरक्षा व्यवस्था बनाइराख्नका लागि परिचालन गरिएको जनाइएको थियो।पुरानो दिल्लीमा मात्र करिब ५ सय क्यामरा लगाइएको छ। राजधानीका अग्ला भवनको छत र लालकिल्लामा दिल्ली प्रहरीका कमान्डो तैनाथ गरिएको थियो।

राष्ट्रगान नगाउने निर्णय
यसैबीच बरेलवी मरकजसँग जोडिएको करिब १ सय ५० मदरसाले स्वतन्त्रता दिवस मनाउन उत्तर प्रदेश सरकारको आदेश मान्न अस्वीकार गरेको एक अखबारले जनाएको छ। दरगाह आला हजरतमा भएको बैठकले देशभरिबाट भेला भएका उलेमाले मदरसामा तिरंगा (भारतीय झन्डा) फहराउने, मिठाइ बाँड्ने तर राष्टगान नगाउने निर्णय गरेको जागरणले छापेको छ। तर इकबालले लेखेको राष्ट्रिय गीत ‘सारे जहाँ से अच्छा हिदोस्तां हमारा’ खुसीले गाउने निर्णय भएको अखबारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्