युवा लक्षित कार्यक्रम समेटन आग्रह



 

अनिल खत्री, गुल्मी
राष्ट्रिय युवा समितिको कार्यालय गुल्मीले इस्मा गाउँपालिकासँग अन्तरक्रिया गरेको छ। जनप्रतिनिधिहरूलाई राष्ट्रिय युवा नीति २०७२ ले निर्दिष्ट गरेका लक्ष्यहरू हासिल गर्न सहयोग गर्ने गरी नीति कार्यक्रम तथा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता गराउन कार्यक्रमको आयोजना गरिएको थियो। १८औं अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर आयोजना गरिएको राष्ट्रिय युवा नीति कार्यान्वयन विषयक अन्तरकृया कार्यक्रममा जनप्रतिनिधिहरूले युवा लक्षित नीति तथा कार्यक्रम समेटने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय तहमा यो वर्ष नीति निर्माणमै बित्ने भएकाले आफूहरूले युवा केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा राख्ने सवै जनप्रतिनिधीहरूले बताए। स्थानीय तहको १ वार्डबाट २ जना युवालाई प्रतिबद्धतासहितको सिपमूलक तालिम, सकारात्मक सोच विकासको तालिम, अहिलेका युवालाई सामाजिक मूल्य र मान्यताबाहिर जान नदिन विभिन्न किसिमका परामर्शका कार्यक्रम ल्याउने गरी आफूहरू योजना निर्माणमै लागेको गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले बताए। प्रतिनिधिले युवा लक्षित कार्यक्रममा आफूहरूले कुनै कन्जुसाइँ नगर्ने बताएका छन्।

उपाध्यक्ष विमला केसीले युवाहरूमार्फत् नै समाज परिवर्तन र आफूहरूका योजना र लक्ष्य पूरा हुने भएकाले सोहीअनुरुप कदम चालिने बताए। कार्यकारी अधिकृत सरोज पोख्रेलले आफू युवाका पक्षमा काम गर्न आतुर रहेकाले जनप्रतिनिधिले जनाएका प्रतिबद्धतामा छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउने बताए । कार्यक्रममा अधिवक्ता हीरा एसीले युवा नीतिले गरेका नीतिगत व्यवस्था बारे प्रतिनिधिहरूलाई जानकारी गराएका थिए।

कार्यक्रमको अध्यक्षता गरेका जिल्ला युवा समितिका अध्यक्ष राजेन्द्र विक्रम कुवरले युवा परिवर्तनका संवाहक भएको बताउँदै विदेसिन लागेका युवालाई स्वदेशमै राखेर देश परिवर्तन गर्ने जिम्मा जनप्रतिनिधिको काँधमा भएको बताए। स्थानीय तहबाटै युवाका इच्छा र चाहना पूरा गर्न उनीहरूलाई उत्पादनशील काममा लगाउन सबै प्रतिनिधिलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्