गोविन्द केसीलाई नमार



 

चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ औं पटक अनशनमा बसेका डा. केसी मर्न लागिसक्दा पनि सरकारले केही कदम चालेको छैन। अधिकारी परिवारलाई तड्पाएर मारिएको नेपालमा डा. गोविन्द केसीलाई पनि मार्न बेर छैन। केसीले अहिले अनशनको आफ्नो पुरानो रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाउन लागेका छन्। डा. केसी अनशन बस्न थालेको ३ हप्ता नाघिसकेको छ। उनको स्वास्थ्य अवस्था एकदमै नाजुक बनेको छ। उनी बोल्न पनि छाडे भन्ने समाचार मिडियामा आइरहेको छ। डा. केसीको श्वास–प्रश्वासमा समस्या देखिन थालेको छ। उनी कसैसँग बोल्न सक्ने अवस्थामा छैनन्। मुटुको चालमा समेत उतारचढाव आइरहेको स्वास्थ्यकर्मीले बताएको खबर आम मिडियामा छाएको छ। तर सरकारको आँखा परेको छैन। उनको मुटुको गति प्रतिमिनेट २०० भन्दा बढी पुगेको छ। उनलाई २४ सै घन्टा अक्सिजन दिएर राखिएको छ। भेन्टिलेटरसमेत तयारी अवस्थामा राखिएको छ। यस्तो अवस्थामा पनि सरकारले केही नबोल्नु साह्रै दुःख लाग्दो कुरा हो।

डा. केसी अहिलेसम्मकै सबैभन्दा लामो अनशनमा बसेका छन्। सरकारी पक्ष र डा. केसी पक्षबीच वार्ता सफल हुन सकिरहेको छैन। चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी पहिलोपटक ०६९ साल असार २१ गते अनशनमा बसेका थिए। त्यति बेला उनको अनशन चार दिन मात्रै चलेको थियो। लगत्तै ०६९ साउन २७ गते केसीले दोस्रो अनशन शुरु गरे। त्यो अनशन भदौ १ गतेसम्म अर्थात् ७ दिनमा तोडियो। डा. केसीले तेस्रो अनशन ०७० साल पुस २९ गते शुरु गरे। त्यो अनशन माघ १० गतेसम्म अर्थात् १३ दिनसम्म कायम रह्यो। सोही वर्ष डा. केसीले चौथो अनशन शुरु गरेका थिए। त्यस बेला उनी माघ २५ गतेदेखि फागुन ३ गतेसम्म ८ दिन आमरण अनशन बसे।

यस्तै, ०७१ साल फाल्गुन ८ मा डा. केसी पाचौंपटक अनशन बसे, जुन माघ १९ गतेसम्म अर्थात् १२ दिनपछि तोडियो। छैटौं अनशनमा भने डा. केसीले जम्मा १३ दिन बिताए। उनी त्यस बेला ०७२ भदौ ७ देखि भदौ १९ सम्म अनशन बसेका थिए। त्यस्तै, ०७२ साल असोज २ गते सातौंपटक अनशन बसेका डा. केसीले ११ दिनपछि अनशन तोडेका थिए। त्यसपछि, ०७३ साल असार २६ देखि साउन १० गतेसम्म (१६ दिन) अनशन बसेका डा. केसीले नवौं अनशनमा १३ दिन र दशौं अनशनमा २२ दिन बिताए। उनको दशौं अनशन कार्तिक २८ गते शुरु भएर मंसिर १९ गतेसम्म रहेको थियो।

डा. केसीले दशौं अनशनका क्रममा अहिलेसम्मकै लामो अनशन बसिसकेका छन्। यदि सरकार पक्षले उनको माग सम्बोधन नगर्ने हो भने डा. केसीको यो एघारौं अनशनले विगतका १० वटै अनशनको रेकर्ड तोड्नेछ। उनी देश र जनताका लागि अनशन बसेका छन्। अहिले यही विषयलाई राजनीतीकरण गर्न खोजेको जस्तो देखिएको छ। अहिले डा. केसीले ११ औं अनशनका क्रममा चिकित्सा शिक्षा सुधारका मागहरु अघि सारेका छन्। दशौं अनशनका क्रममा सरकारले आफूसित गरेका सबै सम्झौता कार्यान्वयन गरिनुपर्ने, माथेमा प्रतिवेदनअनुसार नै चिकित्सा शिक्षा विधयेक पारित हुनुपर्ने तथा काठमाडौं उपत्यकामा १० वर्षसम्म कुनै पनि मेडिकल कलेज खोलिन नहुने लगायतका माग केसीले राख्दै आएका छन्। तर सरकारी पक्ष मौन छ। आफैंले गरेको सम्झौता कार्यान्वयनमा सरकार उदासीन छ। अब कुनै पनि हालतमा उनको माग सुनुवाइ हुनुपर्छ। यो उनको मात्रै माग हाइन, सबै नेपालीको स्वास्थ्यसँग जोडिएको सवाल हो।

– रोशन श्रेष्ठ, भक्तपुर

बनेपाको बसले झुक्याउला है !

कुरा हिजो मंगलबारको हो। म भक्तपुरको कौशलटार बसस्टपमा पुगेको मात्रै थिएँ, बनेपाको बस आयो। त्यसमा स्पष्टरुपमा शहीदगेट, एनएसी भनेर लेखिएको छुट्टै बोर्ड राखिएको थियो। मलाई एनएसी ओर्लनुपर्ने भएकाले सो बसमा चढें। बसको कन्डक्टरले समेत शहीदगेट, एनएसी भनेर अन्य स्टपमा समेत मान्छे चढायो। आखिर शहीदगेट पुगेपछि अब बसपार्कमा मात्रै हो है एनएसी पनि यहीँ ओर्लनुस् भन्न लाग्यो। अनि अघिदेखि एनएसी भनेर किन कराएको र बसको अगाडि किन एनएसी भनेर लेखेको बोर्ड राखिएको भनेर म जंगिएँ। उसले एनएसी भनेको पनि यही शहीदगेट नै हो, त्यहाँ हामीलाई रोक्न दिँदैन भनेर उत्तर दियो। मसहित बीचमा चढेका धेरै यात्रुलाई यो बसले झुक्यायो।

आजकल प्रायः बनेपाबाट काठमाडौं आउने बसमा लोकल मान्छे चढाउन एनएसी लेखेको बोर्ड बसमा राखिने गरेको देखिन्छ। यसरी बोर्ड नै राखेर यात्रु झुक्याउँदा पनि ट्राफिक के हेरेर बस्छ ? एनएसीको बोर्ड राखेर यात्रु झुक्याउने बनेपा–काठमाडौं चल्ने बसलाई हदैसम्मको कारबाही गरियोस्। होइन भने एनएसीको बोर्ड राख्ने बसलाई त्यहाँ रोक्न दिइयोस्।

– विजयराज बुढाथोकी, बालकोट, भक्तपुर

खानेपानीको हाहाकार

अविरल वर्षाका कारण फालेलुङ र हिलिहाङ गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोले पानीको मुहान र ट्याङ्की बगाउँदा अहिले यस ठाउँमा खानेपानीको हाहाकार भएको छ। पहिरोले हिलिहाङ गाउँपालिका–३, ४, ५ र ६ का अधिकांश खानेपानीका मुहान बगाएपछि अहिले खानेपानीको अभाव देखिएको हो। स्थानीयवासी बालकृष्ण ओझाका अनुसार मुक्तुरा, खाङ्ग्रे खोल्सी, हस्तपुर, डुडेखोला, साम्रेखोल्सी, टुवाखोल्सी, देवीथान, महभिर, अँधेरीखोला, अमले खोल्सी, गुहेखोल्सीहरुका मुहान, अधिकांश ट्याङ्की, बिछ्याइएका पाइप बगाएको छ। यसमा सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ। अहिले आकाशे पानीको भर पर्नुपर्ने स्थानीयवासीको बाध्यता छ।

खानेपानीको मुहानको संरक्षण गरिदिन, टुटफुट भएका, बगाएका पाइप व्यवस्थापन गरिदिन हामी गाउँपालिकालाई आग्रह गर्छौं। फालेलुङ–३, मांलेबु र खोलाघारीमा सञ्चालित दुईवटा खानेपानी आयोजनाको मुहान बगाउँदा यस भेगका १८३ घरपरिवारमा खानेपानीको समस्या भएको छ। गोर्खा वेलफेर स्किमले डेढ वर्षअघि निर्माण गरेको मांलेबुङ खानेपानी आयोजना र दुई वर्षअघि निर्माण गरिएको खोलाघारी खानेपानी आयोजना गत शुक्रबार बिहानको पहिरोले बगाएको हो। मांलेबुङ खानेपानी आयोजनाको तीन स्थानबाट मुहान थापिएको छ। तीनवटै स्थानको मुहान पहिरोले बगाएको छ। त्यस्तै खोलाघारी खानेपानी आयोजनाको पानी उपभोग गर्दै आएका एक सय घरले खानेपानीको अभाव झेल्नुपरेको छ। यस विषयमा सरकारी निकायले ध्यान दिनु जरुरी छ। म त्यस ठाउँमा सरकारी आँखा परोस् भन्न चाहन्छु।
– सुरज वैद्य, फालेलुङ–३, मांलेबु

 

प्रतिक्रिया दिनुहोस्