चुरे क्षेत्रका पीडित राहतबाट वञ्चित



 

गोकुल घोरसाइने, बारा
स्थानीय प्रशासनले उद्धार र राहत वितरणमा चासो नदेखाएपछि जिल्लाको निजगढ नगरपालिका १२ र १३ का २ दर्जन बाढी र पहिरोपीडित परिवारको ३ दिनदेखि बिचल्लीमा छन। जिल्लास्थित सरकारी र गैह्रसरकारी संघ संस्थाले दक्षिणी भेगका बाढी र डुबान पीडित परिवारलाई मात्र ध्यानमा राखेर उद्धार र राहत वितरण कार्य सञ्चालन गरेपछि उत्तरी भेगमा चुरे क्षेत्रका पीडित ओझल परेका परेका हुन्।

अविरल वर्षापछि लाल, शक्ति खोला बाढी र चुरे पहिरोले घर बगाएपछि यस क्षेत्रका दुई दर्जनमध्ये १४ परिवार स्थानीय मन्जुश्री प्राविमा शनिबारदेखि आश्रय लिएर बस्दै आएका छन्। अन्य विस्थापित आफन्त र छिमेकीको घरमा बस्ने गरेको स्थानीय तिलक घलानले जानकारी दिए। चुरे फेदीको लाल नदी किनारामा रहेको चिसापानी, बुङजोर, रामथली, बर्थली, भक्तलालमा बाढी पहिरो एकै साथ पसेपछि घरगोठ बगाउनको साथै एक सय बिगाहाभन्दा बढी धान र मकै फल्ने खेत बालुवाले पुरेर बगरमा परिणत गरेको छ।

राष्ट्रिपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत गत वर्ष लाल खोलामा निर्माण भएको बाँध भत्किएपछि चिसापानी बस्तीमा बाढी पसेको थियो भने अन्य क्षेत्रमा चुरेबाट निस्कने रामथली र पानीसरा खहरेको बाढीले थप क्षति पुर्याएको हो। ‘बाढी र पहिरो एकैसाथ आयो, चिसापानीकी जोसीमाया थिङले भनिन्, मृत्युको मुखमा पुगेर फर्किएजस्तो अनुभव छ।’ ‘बाढीपहिरोबाट जोगिएकाहरू फेरि अहिले पिउने पानी र खाने बस्ने समस्याले समस्यामा छन्, –उनले भनिन, बचेकाको उद्धार र राहत वितरणमा कसैले पनि ध्यान दिएका छैनन्।’ बस्तीमा मरेका चौपायको दुगन्र्ध फैलिएको र मुहान बगाएर बस्तीमा पिउने पानीको अभाव भएको उनले सुनाइन्।

बाढीले बगाएर र पहिरोले पुरिएर गाई, भैंसी, गोरु र बाख्रासमेत गरी ३ दर्जन चौपाय मरेको पनि उनले सुनाइन्। प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले तुलनात्मक रुपमा बढी क्षतिको अनुमान गरिएकाले दक्षिणी भेगलाई प्राथमिकतामा राखेर उद्धार तथा राहत कार्य अघि बढाइएको जानकारी दिए। बाढी र डुवानबाट घरबारविहीन १ हजार १ सय परिवारलाई सुरक्षित स्थानमा राखिएको र नेपाल रेडक्रससँग समन्वय गरेर सुख्खा खानेकुरा र पिउने पानीको प्रबन्ध मिलाइएको प्रजिअ मानन्धरले जानकारी दिए।

चुरे क्षेत्रका बाढी प्रभावितको हकमा भने निजगढ नपा कार्यालयमार्फत उद्धार र राहत वितरणको तयारी भइरहेको जानकारी दिए। कार्यकारी अधिकृत भरतप्रसाद अधिकारीले पीडित परिवारको तथ्यांक संकलन कार्य पूरा भएको र स्थानीय राजनीतिक दलका प्रतिनिधिको बैठक बसेर राहत वितरण बारे निर्णय लिइने जानारी दिए। इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दीपक रायसहित नपा कार्यालयको टोलीले सोमबार र मंगलबार बिहान बाढी⁄पहिरो प्रभावित क्षेत्रमा पुगेर क्षतिको विवरण संकलन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्