डा. केसीद्वारा अनसन स्थगित



अनशन तोडेपछि डा. केसीलाई मंगलबार राति आईसीयूतर्फ लगिँदै । तस्वीरः रवि महर्जन⁄काठमाडौं

मुलुक प्राकृतिक विपत्तिमा परेका कारण अहिले अनशन तोड्नु परे पनि आफ्ना माग पूरा नगरिए पुनः अनशन बस्ने चेतावनी

प्रशान्त वली, काठमाडौं
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बस्नुभएका प्राडा गोविन्द केसीले ११औं पटकको अनशन २३औं दिनमा मंगलबार राति तत्कालका लागि स्थगित गर्नुभएको छ।

मंगलबार राति अनशनस्थल शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी अनशन स्थगनको घोषणा गर्नुभएको हो।

डा. केसीले प्राकृतिक विपत्तिका कारण देश विषम परिस्थितिमा परेको भन्दै व्यवस्थापनलगायतका काममा अप्ठइरो परेकाले आफूले अनशन स्थगित गरेको बताउनुभयो। यद्यपि माग पूरा नभए आफ्नो अनशन फेरि जारी रहने तथा छलफल र वार्ता चलिरहने जानकारी दिनुभयो। उहाँले सरकारले आफ्नो माग पूरा नगरे मुलुकको स्थिति सहज हुनासाथ पुनः अनशनमा बस्ने चेतावनी दिनुभएको छ।

आफूले दिएको सुझावलाई समेटेर चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग गठन नभएसम्म सबै तहको शुल्क सरकारले निर्धारण गर्नुपर्ने, चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता हटाउनुपर्ने, आईओएम र मातहतमा रहेका शिक्षण अस्पताल सुधार हुनुपर्ने, चिकित्सा शिक्षा शुल्कमा एकरुपता हुनुपर्ने, १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेजलाई सम्बन्धन दिन नहुनेलगायतका माग राखेर उहाँ अनशनमा बस्नुभएको थियो।

डा. केसीले भन्नुभयो– ‘माथेमा प्रतिवेदनअनुरुप हामीले दिएको सुझाव समेटेर चिकित्सा ऐन नबनाइए म फेरि अनशन बस्छु। जनतामुखी र विद्यार्थीमुखी स्वास्थ्य शिक्षाका लागि आफूले लडाइँ लडेको हो। देश माफियाले चलाएकाले ऐनलाई बन्धक बनाइएको छ।’

अनशनको कार्यक्रम स्थगित गरे पनि चिकित्सा शिक्षा ऐनका लागि लडाइँ निरन्तर जारी रहने डा. केसीले बताउनुभयो। डा. केसीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ– ‘हाललाई सत्याग्रहको कार्यक्रम स्थगित गरे पनि चिकित्सा शिक्षा ऐनका लागि हाम्रो लडाइँ निरन्तर जारी रहने र कुनै पनि बेला त्यसमा बदमासी वा तोडमोड गर्न खोजियो भने तत्काल सत्याग्रह पुनः शुरू गर्ने जानकारी गराउँछु।’

चिकित्सा शिक्षामा देखिएका बेथिति अन्त्यको माग गर्दै डा. केसीले पहिलोपटक २०६९ साल असार २१ देखि २४ गतेसम्म चार दिन अनशन बस्नुभएको थियो। गत साउन ९ गतेदेखि ११औं पटक अनशन बसेका डा. केसीले कुनै सम्झौताबिना विषम परिस्थिति देखाउँदै सत्याग्रह तोड्नुभएको हो।

यस्तै, पूर्वराष्ट्रपति डा. रामवरण यादवले मंगलबार डा. केसीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो। भेटमा डा. यादवले माग पूरा गराउन आफ्ना तर्फबाट पहल गर्ने बचन दिनुभएको थियो। यसैबीच मंगलवार दिउँसो डा. केसीका समर्थकहरूले नयाँ बानेश्वरमा र्याली निकाल्ने क्रममा केही समय प्रहरीसँग तनाबको स्थिति सृजना भएको थियो।

डा. केसीलाई पत्रकार सम्मेलनपश्चात आईसीयू वार्डमा सारिएको सहयोगी विषद दाहालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। डा. केसीले संसद्को महिला, बालबालिका तथा समाज कल्याण समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकमा पनि असहमति जनाउँदै आउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्