लुटपाटको बिगबिगी



सञ्जय कार्की, गौर, रौतहट
बाढीबाट विस्थापित रौतहटको देबाही गोनाही गाविस–८ स्थित दोहारटोलमा चोरी हुन थालेको छ। बाढीबाट विस्थापित सो बस्तीका १ सय ४० घरधुरीका परिवारले वडानम्बर २ बजारटोलका छिमेकी बस्तीमा आश्रय लिएपछि उनीहरूको घरमा चोरी भएको बताएका छन्। पानीको सतह घट्दै गए पनि उनीहरूको घर भत्किएका कारण आफ्नो घरमा फर्कन सक्ने स्थिति रहेको छैन।

पाँच दिनदेखि उनीहरू छिमेकी बस्तीको सुरेन्द्र पटेलको घरमा आश्रय लिइरहेका छन्। उनीहरूलाई सोही बस्तीका बासिन्दाले आश्रय दिनुका साथै खाना खुवाइरहेका छन्। सो बस्तीका चुल्हाई पंडितले आफ्नो घरको गहुँलगायतका सामग्री चोरी भएको बताउनुभयो। एकातिर विपत्ति लागेको छ भने अर्कोतर्फ मानवीय अपराधी बढेकाले बस्ती नै असुरक्षित रहेको छ। उक्त बस्ती डुबान हुँदा दुई जना प्रहरीसँगै रहे पनि चार दिनदेखि सरकारी प्रतिनिधि नआएको उनीहरू बताउँछन्। सबैको घर भत्किएको छ। अन्नपात र लत्ताकपडा सबै बगाएको छ।

स्थिति सामान्य बन्दै गए पनि उनीहरूको घरमा अझै पानी र आहाल जमेका कारण घरमा बस्न सक्ने स्थिति छैन। सोही बस्तीका गजेन्द्र राय यादव भने कम्तीमा सरकारले आफूहरूलाई त्रिपाल सहयोग गरेमा बाँधमा बसेर भए पनि भत्किएको घरको सुरक्षा गर्ने बताउनुहुन्छ। लालबकैया नदीको तटबन्ध फुटेर सो बस्तीमा पानी पसेपछि त्यहाँका ३ सयभन्दा बढी व्यक्तिहरू दुई दिनसम्म अन्न नखाई पीपलको चौतारी र सोही स्थानको पक्की घरको छतमा बसेर जोगिएका हुन्।

रौतहटमा बाढीबाट सबैभन्दा पीडित सोही बस्तीका बासिन्दा भए पनि राज्यको ध्यान त्यहाँ पुग्न सकेको छैन। उनीहरूले बचेको आफ्नो सम्पत्तिको समेत सुरक्षा नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्। सो क्षेत्रको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीको टोलीसँग भेट भएका शेष जोहर नुन र चिउरा खाइरहेका थिए। उनी रुँदै भन्दै थिए– ‘के आपत्ति आइलाग्यो।’ रौतहटको दक्षिणभेगका कतिपय बाढीपीडितहरू अझै पनि सडक, विद्यालय, धर्मशाला र छिमेकीको घरमा आश्रय लिई बसिरहेका छन्। प्रशासनले सुगम स्थानमा राहत पुर्याइरहेको भए पनि विकट स्थानका पीडितले पाउन नसकेको गुनासो गरेका छन्।

उता दुर्गा भगवती गाउँपालिका–४ बडहवा निवासी ५० वर्षीया पार्वती देवी दासको ६ कोठाको घर पूर्णरूपमा भत्किएपछि उनी दुई दिनदेखि सडकमा एक छाक खाएर बस्दै आएकी छिन्।

सो बस्तीको ५० दलित परिवार यतिखेर खुला आकाशमुनि बसिरहेका छन्। वर्षा र बाढीबाट रौतहटमा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने दुई जना बेपता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

११८ को मृत्यु, अझै ३१ बेपत्ता

काठमाडौं, (नेस)
अविरल वर्षापछि गएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय १८ पुगेको छ। बाढी र पहिरोमा परी अहिलेसम्म ३१ जना हराइरहेका छन् भने घाइते भएका ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बाढी र पहिरो पीडितहरूलाई राहत उपलब्ध गराउने कामलाई तीव्रता दिएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ।

उहाँले प्रभावित जिल्लाहरूका ८० प्रतिशत भूभागका साथ हजारौं घर डुबानमा परेको, ३१ जना हराइरहेको र हजारौं जनता विस्थापित, हजारौं घरहरू डुबानमा परेको मंगलबार बसेको संसद् बैठकमा जानकारी गराउनुभएको थियो।

उहाँले बाढीबाट मृत्यु भएका प्रत्येक आफन्तलाई २ लाख र घर मर्मत गर्न १० हजार वितरण शुरू गरेको उहाँले जानकारी गराउनुभएको थियो।

उहाँले जनकपुरलाई आधार बनाएर ३ वटा हेलिकोप्टर र नेपालगन्जलाई आधार बनाएर एउटा हेलिकोप्टर परिचालन गरिएको संसद्लाई जानकारी गराउनुभएको थियो।
यता पश्चिम तराईका विभिन्न अस्थायी शिविरमा झाडापखालाका रोगहरू देखापर्न थालेपछि सेनाको हेलिकोप्टरले चिकित्सक र औषधिसहितको टोली मंगलबार विभिन्न स्थानमा पुर्याएको छ।

बाढीपीडितलाई चीनको १० लाख डलर

काठमाडौं, (नेस)
चीन सरकारले बाढीपहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरूप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ। मंगलबार राजधानीमा नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गर्नुभएको हो।

द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गर्नुभएको छ।

वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी हुनुहुन्थ्यो। लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव पनि वार्तामा सहभागी रहनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्