८६ करोड खर्चेर मर्मत गर्दा पनि बिजुली बलेन



 

ललित सिंह, बझाङ
विदेशी दाताको सहयोगमा झण्डै ८६ करोडको लागतमा मर्मत कार्य गरिएको बझाङको डोगडी स्थित सुर्मादेवी साना जलविद्युत् आयोजना मर्मत कार्य सम्पन्न भएको एक वर्ष नबित्दै काम नलाग्ने भएको छ।

यति ठूलो रकम लगानी गरेर २ सय किलोवाट क्षमताको उक्त विद्युत् मर्मत गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणले आफैंले निर्माण गर्ने हो यति नै रकममा ५ किलोवाट भन्दा बढी क्षमताको नयाँ आयोजना निर्माण गर्न सकिने स्वयं प्राधिकरण अधिकारीहरू बताउछन्।

बझाङ जिल्लाको सदरमुकाम र आसपास क्षेत्रका बासिन्दाका लागि २०४९ सालमा जापान सरकारको सहयोगमा निर्माण गरिएको सुर्मादेवी साना जलविद्युत् आयोजनाको मर्मत कार्य पनि जापान सरकारको अनुदान सहयोगमा नै भएको हो।
गत सन २०१६ सेप्टेम्बर महिनामा काम सम्पन्न गरेको प्रमाणपत्र पाइसकेको जापानी निर्माण कम्पनी मारुसिनसिताकाले मर्मत गरेको केही महिना नबित्दै विद्युत सेवा पटक–पटक अवरुद्ध हुँदै आएको थियो। तोकिएको समयमा सबै काम सम्पन्न नगरी बिचैमा काम छोडेका कारण विद्युत् सेवा नियमित गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरणसँग सो विद्युत् भाडामा लिएर चलाइरहेको निजी कम्पनी सुर्मादेवी विद्युत् प्रालि स्रोतले बताएको छ।

श्रोतका अनुसार मर्मत कार्यको डिजाइनमा नै त्रुटी रहेकोले बाँधबाट इन्टेकमा पानी पठाउने ठाउँमा राखिएको फोहोर छान्नेमा फोहोर अड्किएर पानी प्रवाहमा नै समस्या हुने भएकोले विद्युत् नियमित हुन नसकेको हो। बाँधबाट इन्टेकसम्म पानी लैजाने नहर पनि विभिन्न ठाँउमा चुहिने र वर्षाको समयमा पानीले बाँध नै भत्काएको भएकाले विद्युत् अनियमित हुन गइरहेको विद्युत् प्राधिकरण प्रमुख लक्ष्मण जाग्रीले बताए। उनले भने हिउँदको समयमा पानी कम भएर विद्युत् अनियमित हुने गर्छ र वर्षाको समयमा बाउली खोलामा बाढी आउने भएपछि विद्युत्को बाँध नै भत्काउने भएकाले विद्युत् अनियमित हुन्छ।

निर्माण सम्पन्न भएको २ महिना जति दैनिक ८ घण्टा लोडसेडिङ हुने गरेको यहाँको विद्युत् अहिले दुई सातायता दैनिक २४ घण्टासम्म लोडसेडिङ हुने गरेको छ। विद्युत् अनियमित हुदाँं यहाँको सरकारी कार्यालयको काम, बन्द व्यापार र उद्योग व्यवसायमा प्रभावित भइरहेको र यसको छिटो समाधान गर्नका लागि प्रशासनको तर्फबाट पहल चालिरहेका प्रमुख जिल्ला अधिकारी केशबबहादुर थापाको यही साउन २८ गते सरुवा भए पछि यस, अन्य सरोकारबालाले चासो नदेखाएको नागरिक समाजका अगुवा धर्मजंग सिंहले बताए। उनले भने, ‘यत्रो रकम लगानी गरेर मर्मत गरेको विद्युत केही महिनाभित्रै काम नलाग्ने हुनु दुःखको कुरा हो’ सिंहले भने ‘विद्युत् प्राधिकरण र निर्माण कम्पनीलाई यो विषय जानकारी यहाँका सरोकारवालालाई हामी उपभोक्ताले गराइरहेका छौं तर हाम्रो कुरा सुनुवाइ हुँदैन।

नेपाल विद्युत् प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतिकरण विभागका निर्देशक रामेश्वर कल्वारले यहाँको समस्याका बारेमा प्राधिकरण जानकार रहेको र यस विषयमा निर्माण कम्पनीसँग छलफल गरिरहेको बताए। ‘नयाँ बाँध निर्माण भएकाले वरिपरिको फोहोर आएर छान्नेमा अडकिएको रहेछ। उनीहरूले गोताखोर लगाएर सफा गरिसकेका बेला कल्वारले भने ‘अबका दिनमा फोहोर अड्किँदैन भनेर भनिरहेका थिए।

निर्माण कार्यमा भएका त्रुटीहरूलाई सच्याउने विषयमा पनि प्राधिकरणले निर्णय गरेर परामर्श दाता निकाय जापान सहयोग नियोग र निर्माण कम्पनी दुबैलाई जानकारी दिइसकेको बताउँदै कल्वारले भने ‘योजनाको डिजाइन स्टेमेट र निर्माण कार्य सबै जापान सरकारले नै गरेको हुनाले कुनै त्रुटी भएमा सच्याउने जिम्मा पनि जापान सरकार कै हुन्छ। यसका लागि प्राधिकरणले पहल गरिरहेको छ। ठूलो रकममा सानो आयोजनाको मर्मत स्विकार्न प्राधिकरणलाई बाध्यता रहेको र अनुदान दिने दाताहरूको आफ्नो देशका मानिसहरूलाई रोजगारी दिने मनसाय हुने भएकोले मर्मतको खर्च अचाक्ली बढी भएको उनको भनाइ छ।
विद्युत् क्षेत्रका जानकारहरूले भने वर्षातको समयमा खोलामा बाढी आउने र बाढीले बगाएर ल्याएका ढुङ्गा र काठपातहरू छान्नेमा अडकिएर केही वर्षभित्रै आयोजना कामै नलाग्ने हुने बताउँछन्। सुर्मादेवी विद्युत् प्रालिका एक कर्मचारीले भने ‘आयोजनालाई दिगो रुपले सञ्चालन गर्नेभन्दा पनि टालटुल गरेर टार्ने काम भएको छ। चुहिने नहर मर्मत भएको छैन। छान्नेमा जतिबेला पनि फोहोर अडकिने सम्भावना छ। प्राधिकरणसँग पनि गोताखोर स्टयान्टबाइ राख्न सक्ने क्षमता छैन। समग्रमा भन्दा यो आयोजना यो वर्षासम्म पूर्णरुपमा काम नलाग्ने हुन्छ।

बझाङ जिल्लाकी सभासद चन्दादेवी जोशीले भनिन्– विद्युत् मर्मतको नाममा दाताहरूले एक हातले दिने र अर्काे हातले लिने गरिरहेको बताए। ‘हामीले त्यतिबेला नै यति ठूलो रकममा सानो विद्युत मर्मत गर्नुभन्दा राष्ट्रिय प्रसारण लाइन बझाङ पुर्याउन लगानी गरौं भने अर्थ मन्त्रालयमा डेलिगेसन गएका हौं’ जोशीले भनीन्– ‘तत्कालीन अर्थ मन्त्री रामशरण महतले तपाईंहरू नलिने भए यो रकम अन्तै हाल्छौं भनेर भन्नुभयो।’ उनले शुरुदेखि नै आफूहरूले यो आयोजनाले सुविधा दिनेभन्दा पनि केही नेता, कर्मचारी र दाताहरूको स्वार्थपूर्ति गर्नका लागि बनाइएको भन्दै विभिन्न निकायको ध्यानाकर्षण गराएको बताए। बत्ती आएको छ या छैन भनेर टर्च जलाएर बिजुली खोज्नुपर्ने बाध्यता रहेको छ। मोबाइल चार्ज लगाएपछि उल्टै मोबाइलमा भएको चार्ज पनि सकाउँछ बझाङी जनता अझै विद्युत्मुनिको अँध्यारोमा बस्न बाध्य छन्।

प्रतिक्रिया दिनुहोस्