समाजसेवी घिनाङजुको ९५औं जन्मोत्सवमा सम्मान



 

नेपाल समाचारपत्र
काभ्रे
धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले इतिहासको संरक्षण, सम्बद्र्धन र इतिहास साक्षी राखेर अग्रजहरूको सम्मान र सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अग्रजहरूको सम्मान नगर्ने र उनीहरूको सपना पूरा नगर्ने हो भने इतिहासले धिक्कार्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले बलभद्र कुँवरदेखि गुरुप्रसाद मैनालीसम्मको इतिहासलाई कदर गर्दे धुलिखेलको स्वरुप परिवर्तन गर्ने बताए। धुलिखेलका संस्थापक, धरोहर, इतिहासविद् समाजसेवी रामचन्द्र घिनाङजुको ९५ औं जन्मोत्सवको अवसरमा आयोजित रामचन्द्र घिनाङजु समाजसेवा प्रतिष्ठानको ८औं वार्षिक साधारण सभा तथा छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले सम्वृद्ध धुलिखेलका लागि खानेपानी, पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यमा विशेष ख्याल पुर्याउने गरी बजेट विनियोजन गरेको बताए। नगरका सबै वडाका नागरिहरूका लागि सुलभ र सहज ढंगबाट स्वास्थ्य सेवा उपलब्ध गराउन जीवन विमा, वडाअनुसार फरक–फरक खेती, गुणस्तरीय खानेपानी, सडक जस्ता विषय प्राथमिकतामा पारेको ब्याञ्जुले बताए।

कार्यक्रममा घिनाङजु प्रतिष्ठानले धुलिखेल नगरको विकासका लागि महत्वपूर्ण योगदान पुर्याउने चार ब्यक्तिलाई सम्मान गरेको थियो। सम्मानित हुनेहरूमा धुलिखेल समाज काठमाडौंका अध्यक्ष देवमन्दिल खोँजु, इन्जिनियर केशव कुँवर, नेपाल समाचार पत्र दैनिकमा कार्यरत पत्रकार भगवती तिमल्सिना र समाजसेवी मधुकृष्ण नर्सिङजुलाई सम्मान गरिएको थियो। अध्यक्ष दिलसुन्दर टक्सारी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा ९५ वर्षको उमेरसम्म रामचन्द्र घिनाङजुले धुलिखेलको विकासका लागि गरेको योगदानको सहभागीहरूले चर्चा गरेका थिए।

कार्यक्रममा धुलिखेल नगरपालिकाका पूर्वप्रमुख बेलप्रसाद श्रेष्ठ, साहित्यकार मोहन दुवाल, सम्मानित ब्यक्तिहरू इन्जिनियर केशव कुँवर, धुलिखेल समाज काठमाडौंका अध्यक्ष देव मन्दिर खोँजु, संस्थाका महासचिव सुवासकाजी श्रेष्ठ, समाजसेवी बेदप्रकाश कोँजु, अनमोल माकजुलगायतले रामचन्द्र घिनाङजुको योगदानको चर्चा गरेका थिए। सोही कार्यक्रममा प्रतिष्ठानका तर्फबाट छात्रवृत्ति प्राप्त गर्ने नृपा कार्कीले प्रतिष्ठानको सहयोगले शैक्षिक क्षेत्रमा पुगेको सहयोगको चर्चा गरेकी थिइन्। घिनाङजु प्रतिष्ठानले चन्द्रावती राउत, सलिना मिजार, सविना तुसुजु, अस्मिता अधिकारी र सुस्मिता कार्कीलाई छात्रवृत्ति प्रदान गरेको थियो। क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले उक्त छात्रवृत्ति प्राप्त गरेका हुन्। आगामी दिनमा जिल्लाका सबै क्याम्पसमा अध्ययन गर्ने एक⁄एक जना विद्यार्थीहरूका लागि छात्रवृत्ति रकम वितरण गर्ने प्रतिष्ठानले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्