क्यान्सर पीडितद्वारा सहयोगको याचना



 

ज्ञानमणि नेपाल कालोटोपी, चित्लाङ, मकवानपुर
मकवानपुरको थाहा नगरपालिका १० चित्लाङका सरोजकृष्ण गमालले आफ्नो ज्यान बचाइदिन याचना गरेका छन्। २८ वर्षीय गमालको विगत दुई वर्षदेखि ललितपुरको जावलाखेल स्थित नेसनल क्यान्सर हस्पिटलमा उपचार हुँदै आएको छ।

गमालको छातीमा क्यान्सर भएको हो। यसले गर्दा उनको फोक्सो र ढाडमा समेत समस्या आउने गरेको छ। शुरुमा ढाड दुखेको भनेर उपचार गर्दै आएका उनले क्यान्सर भएको थाहा पाउन पनि निकै समय लागेको बताए। ‘विभिन्न अस्पतालहरू चहार्दा पनि समयमा रोग पत्ता नलाग्दा खर्च पनि बढी भयो, रोग पनि फैलियो’ –उनले भने। गमालले आफ्नो कमाइ र ऋणले दुई वर्षसम्म उपचार गर्दै आए पनि अब असम्भव भएकाले दयालु दाताहरूलाई सहयोगको अपिल गरेका छन्। ‘म जस्ता पीडित कयौं होलान् त्यसैले मैले आफूले सके सम्म उपचार गर्दै आए तर अब म सँग उपचार गर्न सक्ने क्षमता सकि सक्यो त्यसैले दयालु हातहरूको खोजीमा छु।’ –गमालले भने।

ललितपुरको इमाडोलमा सानो मिठाइ पसल चलाएर परिवार पाल्दै आएका गमाल थलिएपछि परिवारले समेत निकै दुःख पाएका छन्। अस्पताल बस्नु परेकाले साउन महिनामा एक हप्ता पनि पसल खोल्न पाएनन्। आम्दानीको एउटै स्रोत पसल बन्द भएपछि केही महिनादेखि कोठा भाडा तिर्न नसकेको गमाल दम्पत्ती बताउँछन्। ‘सटर र कोठाको भाडा तिर्न सकेको छैन, पसलका लागि ल्याइएको सामानको पैसा पनि तिर्न पाएको छैन।’ –बिरामी गमालले पीडा पोखे।

‘यता आफ्नो परिवार हेरौं कि, उता गाउँमा आमाबुवाको बिचल्ली। आफ्नै उपचार कसरी गरौं निकै समस्यामा छु।’ स्लाइन जोडिएको हातले टाउकाको पसिना पुछ्दै पीडित गमालले दुखेसो पोखे। आफ्नोभन्दा पनि भर्खर चुलबुल गर्न थालेकी छोरीको भविष्य देखेर चन्तित देखिन्थे गमाल।

बुबालाई सधैं अस्पताल लानुपर्ने भएपछि उनीहरूका एक मात्र छोरी पनि स्कुल जान पाएकी छैनन्। ४ वर्षीय छोरीको पनि अस्पतालमै बास भएको छ।

अस्पतालमा ती कलिला नानी बिरामी बाबुसँगै बेडमा सुत्न बिवस छन् स्कुलबाट बिल पठाएको पठाइ छ, मैले भर्नासमेत गरिदिन सकेको छैन’ बिरामी बुबा सुतेको बेडमा खेलिरहेकी छोरीको मुख नियाल्दै अम्बिकाले पीडा पोखिन्।

गमाललाई अलि गाह्रो हुने बित्तिकै अस्पताल जानुपर्छ। मासिक हजारौं रुपियाँँको औषधि किन्नुपर्छ। तीन हप्ताको एकपटक किमो चलाउनुपर्छ। एउटा किमोको १२ देखि १५ हजार रुपियाँसम्म पर्छ। औषधि र आउजाउ भाडा तिर्न पनि मुस्किल छ उनलाई। गमालले आफ्नो बाँकी जीवन यस्तै पीडितहरूको सेवामा समर्पित गर्ने चाहना राखेका छन्।

प्रतिक्रिया दिनुहोस्