चिनियाँ उपप्रधानमन्त्रीद्वारा नौतले दरबार शिलान्यास



काठमाडौ (नेस) ।
नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मंगलबार बिहान वसन्तपुर दरबार क्षेत्रस्थित भूकम्पबाट क्षतिग्रस्त नौतले दरबार पुनर्निर्माणको संयुक्त शिलान्यास गरेका छन् ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल तथा नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत उपस्थित थिए । उपप्रधानमन्त्री वाङ कार्यक्रम सकेर होटल सोल्टीतर्फ लागेका छन् ।

उक्त दरबार शतप्रतिशत चिनियाँ सहयोगमा पुनर्निर्माण हुन लागेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताएका छन् ।दरबारको लागत करिब १६ करोड रुपैयाँ अनुमानित छ ।

चिनियाँ उपप्रधानमन्त्रीले ११ बजे उनका समकक्षी उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसँग द्विपक्षीय वार्ता गर्नेछन् । साढे १२ बजे नेपाल र चीनबीच तीन वटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । यस्तै, चिनियाँ उपप्रधानमन्त्रीको सम्मानमा उपप्रधान तथा स्थानीय विकास मन्त्री गच्छदारले १२।५० देखि दिवा भोज आयोजना गरेका छन् ।

यस्तै, अपरान्ह तीन बजे माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र ३।५० मा एमाले अध्यक्ष केपी ओलीसँग चिनियाँ उपप्रधानमन्त्री वाङले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्