लौ न ठूलाबडाज्यू



 

बाढी–पहिरोपीडितको पीडा हेर्न राजधानीबाट लर्को लागेर जानेहरुको संख्या हिजोको दिन निकै बढेको धरहराले देख्यो। पीडाको बेलामा साथ दिन जानु अन्यथा होइन। तर, रमिता हेर्न जाने र सेल्फी खिच्नेजस्तो कामका लागि मात्रै त्यता जानुको सट्टा पीडितलाई राहत र उद्धारको कार्यमा चाहिँ अलि बढी केन्द्रित हुनुपर्यो। हिजो कुरा केसम्म धरहराले चाल पायो भने उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत ठूलाबडाहरुको लर्कोको स्वागतका लागि खटिँदा उद्धार कार्यमा त्यसले नकारात्मक असर गरेको छ। लौ न ठूलाबडाज्यूहरु यतातर्फ ख्याल गरिदिनुपर्यो है।

१ महिनाको तलब
कुरा बाढी पीडितकै। कांग्रेसका सांसदहरुले गत आइतबार बाढी–पहिरोपीडितलाई १ महिनाको तलब दिने राम्रो निर्णय गरेकोले धरहरा वरपर वाह भनेको सुनियो। हिजो सोमबार माओवादी केन्द्रका सांसद र राजपाका सांसदले पनि १ महिनाकै तलब दिने घोषणा गरेको सुनियो। कांग्रेसकाले १ महिनाको मात्रै दिने भने पनि प्रतिस्पर्धा चल्ला र पछि घोषणा गर्नेले ६ महिनासम्मको तलब दिन्छन् कि भनेको, के दिन्थे महाशयहरुले। आखिर पैसोको कुरा न पर्यो। जे भए पनि राम्रै गरे। अब प्रमुख विपक्षी एमालेका सांसदले चाहिँ थप केही महिनाको तलब दिन्छन् कि भन्ने धरहरालाई आशा छ। हेरौं के गर्दो रहेछ ?

प्रतिक्रिया दिनुहोस्