पिपुल्स च्वाइसको मनोनयन सार्वजनिक



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाली खेलकुद क्षेत्रले हरेक वर्ष प्रतिक्षा गर्ने अवार्डका रूपमा रहेको पल्सर स्पोर्टस् अवार्ड–२०७३ अन्तर्गत पाँच खेलाडी पिपुल्स च्वाइस अवार्डका लागि मनोनयनमा परेका छन्।
एसएमएस भोटिङ र फेसबुक लाइकको आधारमा छनोट गरिने पिपुल्स च्वाइस अवार्डमा सोमबार मनोनयनमा फुटबलका सुजल श्रेष्ठ, क्रिकेटका दीपेन्द्र सिंह ऐरी, म्याराथनकी कान्छीमाया कोजु, जुडोकी फुपूल्हामु खत्री तथा पौडीकी गौरिका सिंह परेका हुन्। सुजललाई गत सोलिडारिटी कपमा फाइनलमा नेपालको जित पक्का गर्दा गोल गरेको आधारमा राखिएको छ। त्यस्तै दीपेन्द्रले सर्वाधिक रन बटुलेको आधारमा मनोनयनमा पर्दा हाफ म्याराथन र म्याराथनमा राष्ट्रिय कीर्तिमान राखेबापत् कोजु पनि मनोनयनमा परिन्। त्यस्तै एसियन जुडो च्याम्पियनसिपमा कांस्य पदक प्राप्त गर्नु र ओलम्पिकमा राम्रो प्रदर्शन गरेकी फुपू पनि सो मनोनयनमा परिन्। यस्तै सानो उमेरमै विभिन्न राष्ट्रिय कीर्तिमान राखेकी गौरिका पनि पिपुल च्वाइसको मनोनयनमा अटेकी छिन्।

यी पाँच खेलाडीलाई नेपाल पत्रकार खेलकुद मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले मनोनयनमा पारेको पत्रकार सम्मेलनमा जनाएको थियो। यसका लागि एसएमएस भोटिङ र फेसबुक लाइक हिजैबाट शुरु भएको पनि जानकारी गरायो। आगामी भदौ २६ गते प्रज्ञा प्रतिष्ठानमा हुने पल्सर अवार्डमा विजेता घोषित गरिने पनि आयोजक मञ्चले जनाएको छ। मञ्चले एसएमएस भोटिङका लागि टीएचटी लाइभको ३३१३१ र अवार्डको प्रत्यक्ष प्रसारणका लागि एभिन्युज टेलिभिजनसँग सम्झौता नवीकरण पनि गरेको छ।

मञ्चको २२औं स्थापना दिवसको अघिल्लो दिन भदौ २६ गते हुने पल्सर स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथ्लिट, स्पेलि अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा अवार्ड प्रदान गरिनेछ। जसमा उत्कृष्ट खेलाडी पुरुष, महिला, पिपुल च्वाइससहित चार विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। यसै गरी अन्य विधाका विजेतालाई ५० हजार रुपियाँसहित गिफट ह्याम्पर प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्