चिनियाँ उपप्रम काठमाडौंमा



 

काठमाडौं, (नेस)
चिनियाँ उपप्रधानमन्त्री वाङ याङ ४ दिने नेपाल भ्रमणका सिलसिलामा सोमबार साँझ काठमाडौं आइपुग्नुभएको छ। चिनियाँ टोलीको नेतृत्व गर्दै उहाँ विशेष विमानबाट काठमाडौं आउनुभएको हो।

आइतबार पाकिस्तानको ५०औं स्वतन्त्रता दिवसमा सहभागी हुन इस्लामावाद पुग्नुभएका उपप्रधानमन्त्री वाङ पाकिस्तान हुँदै नेपाल आउनुभएको हो। उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको औपचारिक निमन्त्रणमा वाङसहितको टोली नेपाल आएको हो।

सो टोलीमा वाङसहित अन्य दुई उपमन्त्री, एक सहायकमन्त्री, चिकित्सक, सुरक्षा अधिकारीसहित २१ जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। २ वर्षअघिको भूकम्पले क्षति पुर्याएका वसन्तपुर दरबार क्षेत्रका सम्पदासहित अन्य सम्पदा निर्माणमा सघाउन वाङ नेतृत्वको टोली नेपाल आएको हो।

तत्कालीन चिनियाँ प्रधानमन्त्री बेन जिया बाओले सन् २०१२ मा नेपाल भ्रमण गरेपछि अहिले उपप्रधानमन्त्री वाङ नेतृत्वको चिनियाँ विशिष्ट टोली नेपाल आएको हो। चीनको राज्य परिषद्को सदस्यसमेत रहनुभएका वाङ नेपाल भ्रमण गर्ने पछिल्लो पाँच वर्षयताका उच्च अधिकारी हुनुहुन्छ।

चीन र भारतबीच भुटान–चीनबीचको सीमा क्षेत्र दोक्लम क्षेत्रमा बढिरहेको द्विपक्षीय तनावको समयमा भएको यो भ्रमणलाई विशेष रूपमा नियालिएको छ। उपप्रधानमन्त्री वाङले आज मंगलबार बिहान वसन्तपुर दरबार क्षेत्रमा भूकम्पले ध्वस्त भएको नौ तले दरबार पुनर्निर्माणको शिल्यान्यास गर्नुहुनेभएको छ।

वसन्तपुर दरबार स्क्वायर पुनर्निर्माणमा सघाउन चीनले यसअघि नै प्रतिबद्धता जनाएको छ। त्यसपछि उहाँ आफ्ना नेपाली समकक्षीसहित विभिन्न दलका नेताहरूसँगको राजनीतिक भेटवार्तामा व्यस्त बन्नुहुने भएको छ।

उपप्रधानमन्त्री वाङले होटल सोल्टीमा उपप्रधानमन्त्रीद्वय कृष्णबहादुर महरा र विजयकुमार गच्छदारसँग द्विपक्षीय शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उपप्रधानमन्त्री वाङ तथा उपप्रधानमन्त्री गच्छदारबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुनेछ। हस्ताक्षर हुने विषयबारे परराष्ट्रले प्रस्ट्याएको छैन। उपप्रधानमन्त्री वाङले मंगलबार अपराह्न पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने हुनुभएको छ।

यसैबीच अहिले चिनियाँ टोलीको नेपाल भ्रमणपश्चात् द्विपक्षीय सम्बन्ध अझ फराकिलो बन्ने चीनको विश्वास छ। चीनले अघि सारेको ‘वेल्ट एन्ड रोड, इनिसिएटिप्स्’ सहित आपसी सहयोग र पारस्परिक सम्बन्धलाई थप नजिक बनाउन यो भ्रमण महत्त्वपूर्ण बन्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

आफ्नो भ्रमणका क्रममा उपप्रधानमन्त्री वाङले भोलि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपालका उद्योग व्यावसायीसँग भेटवार्ता गर्दै हुनुहुन्छ। नेपालमा चिनियाँ लगानीको सम्भावना बारे नेपाली उद्योगी व्यवसायी र चिनियाँ टोलीबीच छलफल हुने बताइएको छ।

त्यसै गरी उपप्रधानमन्त्री वाङसहितको टोली भोलि नै बुधबार कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आयोजना हुने कार्यक्रममा सहभागी हुने भएको छ। सो केन्द्र चिनियाँ सहयोगमा निर्माण भएको हो।

प्रतिक्रिया दिनुहोस्