डा. केसीद्वारा आईसीयूमा बस्न अस्वीकार स्वास्थ्य सेवा ठप्प



 

काठमाडौं, (नेस)
सरकारले डा. गोविन्द केसीको माग सम्बोधनका लागि चासो नदेखाएपछि डा. केसीका प्रतिनिधिहरूले आन्तरिक छलफल गरेका छन्। यद्यपि छलफलमा डा. केसीका मागप्रति एमालेका नेताहरू सकारात्मक नभएको डा. केसीका वार्ता टोली सदस्य डा. सुमन आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

माथेमा प्रतिवेदनको मर्म समेटेर चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने र मनमोहन मेडिकल कलेजलाई सम्बन्धन नदिन आफूहरूले अडान राखे पनि एमालेका नेताहरू सकारात्मक नदेखिएपछि वार्ताले सार्थकता पाउन नसकेको डा. केसीका वार्ता टोली सदस्य डा. सुमन आचार्यले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘आज एमालेका नेताहरू घनश्याम भुषाल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेसका गगन थापासँग छलफल त भयो। तर, छलफलले सार्थकता पाउन सकेन।’

चिकित्सा शिक्षा भित्रको विकृति अन्त्य गर्ने उद्देश्यले २३औं दिनसम्म अनशनरत डा. केसीको समर्थनमा सोमबार आवासिय चिकित्सकहरूले र्याली निकालेका छन्। वीर अस्पताल र शिक्षण अस्पतालका चिकित्सकहरूले दबाबस्वरूप र्याली निकालेका हुन्।

आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गर्दै शिक्षण अस्पताल महाराजगन्जका आवासिय चिकित्सकको छाता संगठन ‘एनआरडीए’ र वीर अस्पतालका आवासिय चिकित्सकको संस्था ‘र्यान’ ले संयुक्त प्रदर्शनको आयोजना गरेका हुन्। चिकित्सकको आन्दोलनका कारण स्वास्थ्य सेवा ठप्प भएको छ।

 

शिक्षण अस्पतालबाट करिब २ सयको संख्यामा आएको डाक्टरको मोटरसाइकल र्यालीमा वीर अस्पताल आइपुगेपछि त्यहाँका डाक्टरहरू पनि सहभागी भएका थिए। र्याली वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा डाक्टरहरूले गीत–संगीत प्रस्तुत गरेका थिए। र्यालीमा सहभागी अधिकांशले माथेमा प्रतिवेदनको मर्म समेटेर मात्र चिकित्सा शिक्षा विधेयक पारित गरिनुपर्नेमा जोड दिएका थिए।

डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकले आईसीयूमा राख्न खोज्दा डा. केसीले अस्वीकार गर्नुभएको छ। उहाँको अक्सिजनको मात्रा घटेर ७० मा पुगेपछि छाती दुख्ने समस्या निकै बढेर गएको छ। यसैबीच सोमबार दिनभर डा. केसी कसैसँग नबोलेको उहाँका सहयोगी विषण दाहालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

यस्तै, सरकारले मनमोहन मेडिकल कलेज किन्नका लागि औपचारिक पत्र पठाउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बोलाएको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित डा. केसीसँग वार्ता गर्न गठित सरकारी वार्ता टोलीका सदस्यहरू सम्मिलित थिए।

बैठकमा मनमोहन मेडिकल कलेज सरकारले किनेर भए पनि चिकित्सा शिक्षा विधेयकमा काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल कलेज खोल्न नपाउने गरी संशोधनका लागि पहल गर्ने सहमति भएको छ। डा. केसीले संसद्को महिला, बालबालिका तथा समाज कल्याण समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकमा असहमति जनाएपछि सरकारले उहाँका मागबारे नयाँ ढंगले बहस थालेको हो। डा. केसी २३ दिनदेखि आमरण अनशनमा हुनुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्