बाढीपीडित भोकभोकै



थुप्रै बिरामी, मृत्यु संख्या ८० पुग्यो

जिल्ला ब्युरो, काठमाडौं
बाढीपीडित तराईका जिल्लाहरूमा सर्वसाधारण जनता अत्यावश्यक खाद्यान्नको अभावमा भोकभोकै बस्न विवस हुनुका साथै बिरामी पर्न थालेका छन्।

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या सोमबारसम्म ८० जना पुगेको छ। ३६ जना अझै बेपत्ता छन्। बाढी र पहिरोका कारण २५ जना घाइते भएका छन्। बाढीका कारण ४८ हजार ६ सय घर डुवानमा परेका छन्।

राजविराज संवाददाताका अनुसार बाढीबाट कटान एवं डुबानमा परेका सप्तरीको प्रभावित क्षेत्रमा झाडापखाला टाइफाइड, ज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जिउ चिलाउनेजस्ता रोग फैलिएका छन्।

सप्तरीको राजविराज, हनुमानगर, शम्भुनाथ नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बरसाइन, सकरापुर, बोदेवरसाइन, रुपनी, कंचरुप नगरपालिका सकरदही, जोगिनीया, भारदह, इनरुवा, किरपुरा, डलुवा बेलहीलगायतका ग्रामीण तथा बजार क्षेत्रमा ती रोगको प्रकोप फैलिएको हो। विभिन्न रोग फैलिएका ती गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी एवं चिकित्सक देखानपरेको र औषधिसमेत अभाव रहेको स्थानीय बासिन्दाले बताएका छन्।

सप्तरीको दक्षिणी तथा पश्चिमी क्षेत्रमा कटान र डुबानका कारण पक्की घर भएका छतमा स्थानीय बासिन्दा बसेका छन्। टिन र फुसका घर भएका बासिन्दा घर छोडेर खुला आकाशमुनि सडकको छेउछाउमा बस्न बाध्य भएका कारण महिला, बालबालिका तथा वृद्धवृद्धालाई स्थानीय अस्पतालका चिकित्सकहरूले बताएका छन्।

छ दिनदेखि परेको वर्षाले सप्तरीको मोहुली, खाँडो, जिता, बिगुल त्रियुवा, खडक नदी र सप्तकोशी नदीमा आएको भीषण बाढीका कारण सप्तरीका करिब ३ हजारभन्दा बढी घर डुबानमा परेको जनाइएको छ। बाढी आएसँगै सप्तरी जिल्लामा नेपाल टेलिकमले वितरण गरेको एडीएसएल नेट, मोबाइल र टेलिफोन विगत तीन दिनदेखि अवरुद्ध भएका छन्।

यसैबीच इटहरी संवाददाताका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कञ्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ।

सोमबार पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे नेपाली सेना तथा स्थानीय प्रशासनबाट जानकारी लिनुभएपछि प्रधानमन्त्री देउवाले आपत्कालीन सहयोग उपलब्ध गराउन निर्देशन दिनुभएको हो।

प्रधानमन्त्री देउवाका साथमा रक्षामन्त्री भीमसेनदास प्रधान, गृहमन्त्री जनार्दन शर्मा तथा अन्य उच्च पदस्थ कर्मचारी रहेका थिए। प्रधानमन्त्रीसहितको टोली सुनसरी जिल्लाका बाढीपीडितको अवस्था, राहत वितरण, सुरक्षा व्यवस्था र पुनस्र्थापनाका लागि भइरहेका कामबारे बुझ्न त्यहाँ पुगेको हो।

इटहरीस्थित पूर्वी पृतना मुख्यालयमा पूर्वाञ्चलका बाढीपीडितको अवस्थाका विषयमा टोलीबाट जानकारी लिने काम भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभएको छ। ठूला सरकारी अधिकारीहरू बाढी प्रभावित स्थलमा पुग्दा सुरक्षाकर्मीपनि त्यसतर्फ खटिनुपर्ने भएकोले उद्धार कार्यमा भने त्यसले नकारात्मक असर परेको पाइएको छ। स्थानीय बासिन्दाहरूले त्यहाँ पुग्ने सरकारी टोलीलाई रमितेको संज्ञा दिएका छन्।

टोली वर्षा र बाढीबाट प्रभावित भएका र डुबानमा परेका स्थानको हेलिकोप्टरबाट निरीक्षण गरेर पूर्वी पृतनामा पुगेको थियो।

यसै गरी, उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्यमन्त्री मीन विश्वकर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवसहितको टोलीले सुनसरी सदरमुकाम इनरुवा क्षेत्रमा बाढीले पुर्याएको नोक्सानीका विषयमा जानकारी लिन सोमबार नै त्यहाँ पुग्नुभएको थियो।

बाढीका कारण २१ हजार ४ सय ६५ विस्थापित भएका छन् भने २ हजार ८ सय ४७ घर भत्किएको छ। बाढी र पहिरोबाट प्रभावित हुनेको संख्या ५ लाख ३४ हजार पुगेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पुष्कर कार्कीले जानकारी दिनुभयो। बाढी र पहिरो गएको स्थानको जनजीवन सामान्य बन्दै गए पनि विभिन्न रोगका प्रकोपहरू देखिन थालेको नेपाल समाचारपत्रका स्थानीय सहकर्मीहरूले जानकारी गराएका छन्। सुरक्षा निकायले उद्धार गरेर विभिन्न स्थायी शिविरमा राखिएका पीडितहरूमा कडा खालको ज्वरो आउने झाडापखाला लाग्नेजस्ता समस्या देखापरेका कारण तत्काल स्वास्थ्यकर्मीको टोली परिचालन नगरे भयावह अवस्था आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन्।

बाढी र पहिरोको कारण पाँचथर, मोरङ, सप्तरी, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, मकवानपुर, सिन्धुली, पाल्पा, नवलपरासी, बाँके, बर्दिया, दाङ, सल्यान, चितवन, रुकुम, कालिकोट, धनुषामा बाढीपीडितका लागि उपलब्ध गराएको अस्थायी शिविरमा खाद्यान्नको समेत संकट शुरु भएको छ। सरकारले तत्काल राहत उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएको भए पनि स्थानीय प्रशासनले प्रभावकारीरूपमा काम गर्न सकेको छैन।

यता ५ बटा हेलिकोप्टरसहित उद्धार कार्यमा जुटेको नेपाली सेनाले सोमबारमात्रै ४ हजार ५ सय जनाको स्थलमार्गबाट उद्धार गरेको छ भने १ हजार १ सय जनाको हवाई उद्धार गरिएको छ। बाढीपीडितको उद्धारका लागि ७ हजार ५ सय सैनिक परिचालन गरेको सैनिक मुख्यालयले जनाएको छ।

पाँचथरमा तैनाथ रहेको सेनाको युनिटबाट खटिएको उद्धार टोलीले हिलिहाङ गाउँपालिका गुराँसेमा आएको पहिरोबाट अवरुद्ध भएको बाटो खुलाउने काम गर्नुका फालेलुङ गाउँपालिकामा पहिरोले पुरेको एक जनाको शव निकालेको छ।

त्यसै गरी, झापामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले डुबानमा परेका १ सय १० जनालाई सुरक्षित स्थानमा ल्याएको छ। सुनसरीमा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले बुढिखोला इलाकामा ढुबानमा परेका ३० घर–परिवारको सामान सुरक्षित स्थानमा सारेको सेनाले जनाएको छ।

मोरङमा तैनाथ युनिटबाट खटिएको उद्धार टोली जिल्लाको गछिया खोलाले कटान गरेको स्थानमा १३ वटा ग्याविन जालीमा ढु·ा भरी बाढी नियन्त्रण गरेको छ।

उद्धारकै क्रममा सर्लाहीमा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले रामनगरमा बागमती खोलाले कटान गरेको स्थानमा बाँध निर्माणमा सहयोग गर्नुको साथै, हरकटुवा इलाकामा डुबानमा परेका १० घर–परिवारको समानहरू सुरक्षित स्थानमा सारी लालबन्दी इलाकामा पानी निकास गर्न सहयोग गरेको छ।

त्यसै गरी, धनुषामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले जनकपुर उप–महानगरपालिका ४ कदमचोक इलाकामा डुबानमा परेका ७० घरका २ सय जनालाई सुरक्षित स्थानमा सार्ने कार्य गर्नुको साथै, नवलपरासीमा तैनाथ युनिटले कावासोती न.पा. अमलटारी इलाकामा डुबानमा परेका ३ सय ५० जनाको उद्धार गरेको सेनाले जनाएको छ।

बाँकेमा तैनाथ युनिटबाट खटिएको पैदल उद्धार टोलीले जिल्लाको टिकुलीपुर, शमशेरगञ्ज, बेलबासा र राजापुर इलाकमा १ सय ९५ तथा राप्ती सोनारी इलाकामा डुबानमा परेका ४ सय ९६ जना र हेलिकोप्टरबाट २ सय १ जनालाई सुरक्षित स्थानमा सारेको छ। बर्दियामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले जिल्लाको गुलरिया नगरपालिका २, ५, १०, ११, १२ र ठाकुरबाबा नगरपालिका २ मा बाढीबाट डुबानमा परेका करिब १ हजार ४ सय जनालाई मोटरबाट चल्ने डुंगाको सहायताले तथा ३ सय ५० जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा सुरक्षित स्थानमा सारेको छ।

रौतहट संवाददाता सञ्जय कार्कीका अनुसार बाढीबाट पीडित भएका रौतहटका स्थानीयको सडकमा बास भएको छ। २ दिनअघिको अविरल वर्षा र नदीमा आएको बाढीले बस्ती नै डुबानमा परेपछि रौतहटका ८० प्रतिशत बासिन्दा नै पीडित बनेका छन्। पीडित बनेका बासिन्दा राहतको पर्खाइमा रहेका छन्। प्रभावकारी राहत वितरण हुन नसक्दा पीडितहरू भोकै बस्नुपर्ने अवस्था रहेको छ। रौतहटको सदरमुकाम गौरलगायत वीरेन्द्र राजमार्गको विभिन्न स्थानमा पीडितहरूले आश्रय लिइरहेका छन्। डुबानबाट बढी प्रभावित बस्तीमा उद्धार टोली अझै पुग्न सकेको छैन।

उता सडकमा बास हुन्छ भन्ने जीवनमा कहिल्यै नसोचेकी गौर नगरपालिका–२ निवासी अनीता देवी रामले सडकमै खाना पकाएकी छिन्। उनले घरका सदस्यलाई छाता ओड्न लगाएर खाना पकाएकी हुन्। उनी भन्छिन्– ‘जीवनमा दैवी विपत्ति लागे पनि बाच्नका लागि खाना त खानै पर्यो त्यसैले ओभानो स्थान सडक नै रोजेर खाना पकाएकी हँु। सबै घर भत्किएपछि खेसरैयाका लछिया सहनी, रामअशिष सहनीले सडकमै त्रिपाल टागेर आश्रय लिइरहेका छन् तर पानी पर्ना साथ पूरै भिज्ने गरेको पीडा उनीहरू सुनाउँछ। रामअशिष साह भन्छन्– ‘पीडा कसले सुनिदिने ? २ दिनदेखि भोकै छु। वर्षा कम भएपछि रौतहटमा पानीको डुबान सतह घट्दै गएको छ तर जनजीवन भने अस्तव्यस्त नै रहेको छ। प्रहरी प्रशासन अझै पनि रौतहटको ग्रामीण भेगमा उद्धार र राहतको लागि पुग्न सकेको छैन।’

क्षतिको वास्तविक तथ्यांकसमेत प्राप्त हुन सकेको छैन। अहिलेसम्म वर्षा र बाढीले रौतहटमा ११ जनाको मृत्यु र एक जना बेपता भएको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताउनुभयो। हेलिकोप्टरबाट जिल्लाको विभिन्न स्थानमा राहत सामग्री खसाल्ने काम भए पनि वास्तविक पीडितसमक्ष राहत पुग्न नसकेको गुनासो रहेको छ। बाढीपीडितको अवस्था निरीक्षण गर्न भन्दै दुई वटा हेलिकोप्टरमा सांसदको टोली रौतहट आइपुगे पनि उनीहरू वास्तविक पीडितकोमा पुगेका छैनन्। पीडितहरू भोकभोकै परेका छन् तर सांसद भने हेलिकोप्टरमा सयर गरेका छन्। किसानले लगाएको धानबालीसमेत नष्ट भएको छ। सदरमुकाम गौरका सरकारी कार्यालय खुल्न सकेका छैनन्। डुबानबाट पीडित बनेका रौतहटका बासिन्दाले भोकै बस्नुपरेको गुनासो गरेका छन्। उनीहरू भन्छन्– ‘प्राकृतिक विपत्तिले मरिने चिन्ता रहेको छ। रौतहटको दक्षिण भेगका अधिकांश घर डुबानमा परेपछि अन्नपात, लताकपडा, भाँडाकँुडा सबै नष्ट भएपछि पीडित बनेका उनीहरू २ दिनदेखि भोकै बसेको गुनासो गरेका छन्।’

भद्रपुर संवाददाता उत्तम नेपालका अनुसार नदी तथा खोलामा पानीको सतह घटेपछि विस्थापति परिवारजन पुनः घर फर्किन थालेका छन्। उनीहरूको घर पानी पसेकोले कोठाहरू बस्ने स्थितिमा छैन। कसैको घर भत्किएको छ, भने सुत्ने ठाउँ पनि छैन। घर बाढीले बगाएकाले परिवार सुकुम्बासी बनेका छन्। त्यसैले बाढीपीडितको उद्धारपश्चात् स्थानीय जनप्रतिनिधिको सहकार्यमा पहिलो चरणमा त्रिपाल र कम्बल वितरण कार्यलाई रेडक्रसका कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा वितरण गरिरहेको भद्रपुर नगरपालिका ५ का वडाध्यक्ष बन्धु कार्कीले बताए।

झापामा बाढीले वितण्डा मचाएसँगै प्रधानमन्त्री, गृहमन्त्री, आपूर्ति, रक्षामन्त्रीलगायतको सुरक्षा अंगको प्रमुखसहितको टोली झापामा आएका छन् । हवाई गस्तीमार्फत् झापा जिल्लाका बाढीपीडित क्षेत्रको निरीक्षण गरेका छन्। झापाको धनजनको क्षतिको बारेमा स्थानीय जनप्रतिनिधि तथा जिल्लाका प्रमुख सरकारी निकायहरूले जानकारीसमेत गराएक छन्। झापामा बाढीले गरेको क्षति विवरण अहिलेसम्म प्राप्त नभएको अवस्थामा बेपत्ता भएका व्यक्तिको खोजी कार्यलाई प्रहरीले तीव्रता दिएको छ।

आजबाट मनसुन कमजोर

काठमाडौं, (नेस)
गत सातादेखि मुलुकभर सक्रिय बनेको मनसुन आज मंगलबारदेखि कमजोर बन्दै छ। वर्षा सक्रिय गराउने प्रणाली (न्यून चापीय रेखा) भारतीय भू–भागतर्फ सर्ने क्रममा रहेकाले मनसुन कमजोर बन्ने मौसमविद्हरूले बताएका छन्।

मंगलबारदेखि मुलुकभर मनसुनी गतिविधि कमजोर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो। ‘पूर्वतर्फको न्यून चापीय रेखा सोमबार दिउँसोदेखि भारतको पटना र पश्चिम बंगालतर्फ सरिसकेको छ’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पश्चिमी क्षेत्रमा रहेको न्यून चापीय रेखा चुरिया रेन्जमा रहे पनि त्यो कमजोर अवस्थामा छ।’

चुरे क्षेत्रमा स्थिर रहेको न्यून चापीय रेखा पनि मंगलबार बिहानदेखि भारतीय भू–भागको उत्तर प्रदेश र राजस्थानतर्फ सर्नेक्रममा रहेको रिमालले जानकारी दिनुभयो।

पश्चिमी क्षेत्रमा हिजो सोमबार साँझ र राति मध्यमस्तरको वर्षाको प्रभाव भने रहेको महाशाखाले जनाएको छ। मनसुनको अवधि अझै १ महिनाभन्दा बढी बाँकी रहेकाले क्षणिक, हल्का र मध्यमस्तरको वर्षाको गतिविधि भने दोहोरिने महाशाखाले प्रस्ट्याएको छ। ‘तत्कालका लागि भारी वर्षाको सम्भावना छैन, तर मनसुन अवधि बाँकी रहेकाले हल्का र मध्यमस्तरको वर्षा हुन्छ, जुन स्वभाविक पनि हो’ –सो शाखाका अर्का मौसमविद्ले भने। मनसुन कमजोर हुने क्रममा रहेपनि पूर्वी राप्तीको केही क्षेत्र, पश्चिम राप्ती, बबई, बाग्मती, रिउ खोला आसपासका क्षेत्रमा बाढीको जोखिम कायम रहेको मौसम विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ। ती क्षेत्र जलप्रवाह घट्दो क्रममा रहे पनि खतरामुक्त भने नरहेको सो शाखाका जलविज्ञ सुनील पोख्रेलले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्