स्वतन्त्र भारतको सतत विकास यात्रा



 

श्रीमन्नारायण

 

हाम्रो दक्षिणी छिमेकी राष्ट्र भारत आफ्नो स्वतन्त्रताको ७१ औं दिवस मनाइरहेको छ। अनेकौं आरोह–अवरोहका बाबजुद उसको स्वतन्त्र लोकतन्त्र जीवन्त एवं प्रगति तथा विकासको बाटोमा निरन्तररूपमा अग्रसर छ। गएको सात दशकमा भारतले कैयौं युद्धको विभिषिका झेल्नुपर्यो। बाढी, अनिकाल एवं प्राकृतिक प्रकोपका अनेकौं घटनाहरूको सामना गर्नुपर्यो। भाषिक, धार्मिक एवं जातीय विविधताले भरिएको देशमा सबैको इच्छा एवं आकाङ्क्षालाई पूरा गर्दै लोकतान्त्रिक तरिकाले अगाडि बढ्नु कम चुनौतीपूर्ण काम हुँदैन तर गएको सात दशकमा दक्षिणी छिमेकीले प्राप्त गरेको उपलब्धि र सफलता विश्वका अनेकौं देशहरूको निम्ति पे्ररणाको स्रोत एवं अनुकरणीय हुन सक्छ। वर्तमान अवस्थामा भारत विश्वको एउटा शक्तिशाली राष्ट्र बन्न गएको छ। अब विश्वको कुनै पनि देशले उसलाई सजिलै चुनौती अथवा चेतावनी दिने अवस्थामा छैन भन्दा अतिसयोक्ति नहोला।

स्वतन्त्रता दिवसको मर्मलाई बुभ्mनुभन्दा पहिले हामीले त्यसको तीन पक्षमाथि ध्यान दिनु आवश्यक छ। स्वतन्त्रताको लक्ष्य, प्रक्रिया तथा संकल्प। जहाँ लक्ष्यको अर्थ सोझोरूपमा विदेशी अङ्ग्रेजहरूको दासताबाट मुक्ति हासिल गरी आफ्नो शासन (भारतीयहरूको शासन) स्थापित गर्नु थियो, जुन त्यति बेला सहज र सरल लक्ष्य थिएन । एकातिर अत्यन्त शक्तिशाली अङ्ग्रेजी साम्राज्य तथा अर्कोतिर विना हिंसा स्वतन्त्रता हासिल गर्ने भारतीयहरूको चाहना तर पनि दृढ संकल्पका कारण यसलाई हासिल गर्ने काम भयो। गएको सात दशकमा भारतले राजनीतिक क्षेत्रमा मात्रै होइन आर्थिक र सामाजिक क्षेत्रमा पनि देशभित्र समानता कायम गर्नमा सफल रहेको छ ।

भारतले कृषि उत्पादन तथा प्रतिव्यक्ति आयलाई बढाउने क्षेत्रमा निकै प्रगति गरेको छ। भारत विश्वको दोस्रो ठूलो मोबाइल उपभोक्ता देश बन्न गएको छ। अटोमोबाइल इन्डस्ट्रिजको क्षेत्रमा पनि यो विश्वको तेस्रो ठूलो देश बन्न गएको छ। ग्रामीण तथा शहरी विकास योजनाहरूको आधारगत ढाँचाको विस्तार भएको छ। भारतको साक्षरता दर पनि ८० प्रतिशत नाघिसकेको छ।

स्वतन्त्रताको यस लामो तथा गौरवशाली यात्रामा भारतले धेरै थोक हासिल गरेको छ। वर्तमान अवस्थामा विश्वजगत् भारतबाट धेरै मामिलामा आशान्वित छ। विज्ञान, सूचना प्रविधि, अन्तरिक्ष, कला, संस्कृतिलगायतका क्षेत्रमा यसले प्राप्त गरेको उपलब्धिको चारैतिर प्रशंसा भइरहेको छ। स्वतन्त्रता आपूmसँगै जिम्मेवारी पनि लिएर आएको हुन्छ तर भारतका कुशल एवं सक्षम राजनेताहरू तथा त्यहाँका राजनीतिक दलहरूले आफ्नो यस जिम्मेवारीको निर्वाह पनि सफलतापूर्वक गरेका छन्। १ सय २५ करोड जनता, भाषिक, जातीय एवं धार्मिक विविधता तथा लोकतान्त्रिक शासन प्रणालीमा सबैको चाहना र आकाङ्क्षालाई पूरा गर्नु सहज र सरल काम हुँदैन तर भारतले यसलाई पूरा गरेर देखाएको छ। भारतको प्रगति अन्य देशहरूको तुलनामा बढी कठिन एवं चुनौतीपूर्ण छ किनभने यहाँ अशिक्षा, गरिबी, बेरोजगारी तथा विविधताका कारण विकास गर्नु सहज र सरल थिएन। भारतले गएको सात दशकमा गरेको प्रगतिमा यसका प्रायः सबैजसो राजनीतिक दल तथा नेताहरूको भूमिका पनि सहयोगी तथा सकारात्मक रहिआएको छ। अब यो विकसित राष्ट्र बन्ने दिशामा अग्रसर छ।

भारतलाई एउटा विकसित राष्ट्रको रूपमा अगाडि बढाउनका निम्ति एउटा भिजन लिएर अगाडि बढ्ने काम भएको छ, जसमा देशका बासिन्दालाई गरिबी रेखाभन्दा माथि राख्न सकियोस्। तिनको शिक्षा र स्वास्थ्य स्तरीय होस् तथा राष्ट्रको सुरक्षा पनि अभेद्य होस्। साथै सबै महत्त्वपूर्ण क्षेत्रहरूमा देशको उत्पादन क्षमता यति गुणस्तरीय होस् कि त्यसबाट देशमा चारैतिर सम्पन्नता एवं खुशीयाली आओस् र कायम पनि रहोस्। भारतका पूर्वराष्ट्रपति एवं महान् वैज्ञानिक एपीजे अब्दुल कलामले उल्लेख गरेअनुसार भारतलाई सन् २०२० सम्म उन्नत राष्ट्रको रूपमा विकसित गर्ने ‘भिजन’ सन् ९० कै दशकमा तयार भएको थियो, जति बेला पीभी नरसिंह राव भारतका प्रधानमन्त्री थिए। डा. कलामलाई टेक्नोलोजी इन्फरमेसन फर कास्टिङ एन्ड एसेसमेन्ट काउन्सिल (टीआईएफएस)को अध्यक्षताको जिम्मेवारी सुम्पिएको थियो। जुन एउटा स्वायत्त संस्था हो र भारत सरकारको विज्ञान एवं प्रौद्योगिकी विभागअन्तर्गत सन् १९८८ मा गठन भएको थियो। राष्ट्रिय महत्त्वको विशिष्ट क्षेत्रमा इनोभेसनको सहायता तथा प्रविधिको विस्तारको निम्ति यसको गठन भएको थियो। यसको पहिलो बैठकमै यो निर्णय लिने काम भएको थियो कि सन् २०२० सम्म भारतलाई आर्थिकरूपले विकसित राष्ट्रको रूपमा परिणत गरिनेछ।

संस्थाका सदस्यहरूले अन्य विभागसँग मिलेर दुई वर्षसम्म काम गरे। उनीहरूले २५ वटा विभिन्न प्रतिवेदनहरू तयार गरे, जसमा विविध क्षेत्रहरू कृषि तथा खाद्य प्रसंस्करण, नागरिक उड्डयन, विद्युत्, जलमार्ग, सडक परिवहन, दूरसञ्चार, खाद्यान्न तथा खेती, इन्जिनियरिङ उद्योग, स्वास्थ्य सेवा, जीव विज्ञान तथा जैविक प्रौद्योगिकीसम्बन्धी दृष्टिकोण उल्लिखित थियो। यसलाई अझ प्रस्ट्याउँदा सन् २०२० सम्म भारत मात्र एउटा यस्तो देश हुनेछ जहाँ गाउँ–शहरको बीचमा नाम मात्रको फरक रहन जानेछ। दोस्रो जहाँ बिजुली र स्वच्छ खानेपानी सबैलाई सहजरूपमा प्राप्त हुन सकोस् तथा सबैले समानरूपमा यसको उपभोग पनि गर्न सकून्। तेस्रो, जहाँ देशको विकासमा कृषि, उद्योग तथा सेवा क्षेत्र समानरूपमा सहयोगी साबित हुन सकोस्। सामाजिक अथवा आर्थिक भेदभावका कारण कुनै जेहेन्दार छात्र स्तरीय शिक्ष प्राप्त गर्नबाट वञ्चित रहन नसकोस्।

भारत विश्वभरिका वैज्ञानिक, विद्वान् तथा आविष्कारकहरूको निम्ति उपयुक्त थलो बन्न सकोस्। सबैलाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन सकोस्। शासन संवेदनशील, पारदर्शी तथा भ्रष्टाचारमुक्त होस्। गरिबीको पूर्णरूपेण उन्मूलन होस्, निरक्षरको अन्त्य भएको होस् तथा समाजमा कसैले आपूmलाई उपेक्षित महसुस गर्न नसकोस्। भारत एउटा समृद्ध, स्वस्थ, सुरक्षित, आतंकवादमुक्त, शान्त एवं खुशीयाली मनाइरहेको देशको रूपमा विकसित होस्। विकासको मार्गमा सतत बढ्दै गरेको होस्। साथै बसोबासको निम्ति सबैको लागि प्रिय एवं आकर्षक थलो बन्न सकोस्। नेतृत्वमाथि देशवासीले गर्व गर्न सकून्। तर उपरोक्त सबै लक्ष्य हासिल गर्न पाँच महत्त्वपूर्ण क्षेत्रमा परिवर्तन गर्न आवश्यक छ। यी हुन्– कृषि तथा खाद्य प्रसंस्करण, शिक्षा एवं स्वास्थ्य, सूचना एवं सञ्चार प्रौद्योगिकी, ढाँचागत विकास तथा महत्त्वपूर्ण प्रौद्योगिकीहरूमाथि आत्मनिर्भरता।

इन्डिया भिजन–२०२० दस्तावेज पीभी नरसिंह रावको पालामा तयार भएको थियो। त्यसपछि अटल बिहारी वाजपेयीको कार्यकालमा यसलाई संसद्मार्पmत सार्वजनिकरूपमै उद्घोष गरियो। डा. मनमोहन सिंहको सरकारले देशलाई आर्थिक समृद्धिको बाटोमा निरन्तरता दिइरहने घोषणा गरेका थिए ।

कुनै पनि राष्ट्रिय भिजनलाई साकार गर्नमा कम्तीमा पनि १५ वर्ष लाग्ने गर्दछ। लोकतान्त्रिक तरिकाले निर्वाचित कम्तीमा तीनवटा सरकारहरूले यसमाथि काम गर्नुपर्ने हुन्छ। राष्ट्रिय दृष्टिपत्र कुनै एउटा पार्टीको एजेन्डा हुँदैन तर यो राजनीतिक दलहरूको घोषणापत्रको हिस्सा अवश्य पनि हुन सक्छ। सत्तामा विराजमान कुनै पार्टीको कामकाज गर्ने तरिका पछिल्लो पार्टीको सरकारभन्दा पृथक् हुन सक्छ तर राष्ट्रिय भिजन सर्वोपरि हुने गर्दछ। भिजन–२०२० लाई कुनै एउटा पार्टीको सरकारसँग कुनै सम्बन्ध छैन, किनभने यो देशको सपना हुने गर्दछ। भारतको वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको काम गर्ने शैली, प्रतिबद्धता, समर्पण एवं निष्ठालाई हेर्दा उपरर्युक्त लक्ष्य र सपना आगामी सवा तीन वर्षमा सजिलै हासिल तथा पूरा गर्ने देखिन्छ।

भारतले कृषि उत्पादन तथा प्रतिव्यक्ति आयलाई बढाउने क्षेत्रमा निकै प्रगति गरेको छ। भारत विश्वको दोस्रो ठूलो मोबाइल उपभोक्ता देश बन्न गएको छ। अटोमोबाइल इन्डस्ट्रिजको क्षेत्रमा पनि यो विश्वको तेस्रो ठूलो देश बन्न गएको छ। ग्रामीण तथा शहरी विकास योजनाहरूको आधारगत ढाँचाको विस्तार भएको छ। भारतको साक्षरता दर पनि ८० प्रतिशत नाघिसकेको छ।

भारतको राजनीतिक व्यवस्थाकै देन हो कि किसान, वैज्ञानिक, इन्जिनियर, डाक्टर, चिकित्सक, शिक्षक, वकिल तथा अन्य पेसागत व्यक्तिहरूले हरित क्रान्ति, श्वेत क्रान्ति, अन्तरिक्ष मिसन, रक्षा मिसन, साइन्स एवं टेक्नोलोजी मिसन तथा पूर्वाधार विकास योजनाको सफलताको निम्ति आवश्यक सहयोग सधंँ नै उपलब्ध गराएको छ। वर्तमान अवस्थामा भारत आफ्नो अभिष्ट हासिल गर्ने दिशामा अग्रसर छ र सन् २०२० सम्म यस लक्ष्यलाई सजिलै पूरा गर्न सफल पनि हुनेछ।
वर्तमान अवस्थामा यसले प्राप्त गरेको सफलता एवं उपलब्धिकै कारण विश्वजगत् यसबाट नेतृत्वदायी भूमिका निर्वाह हुने अपेक्षा पनि गरिरहेको छ। संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य बन्ने यसको सम्भावना र एनएसजीमा पनि सदस्यता हासिल गर्ने सम्भावनाले यसको बढ्दो भूमिकालाई संकेत गर्दछ।

भारतसँग नेपालको परम्परागत बहुआयामिक सम्बन्ध रहिआएको छ र नेपालको चौतर्फी विकासमा यसले हरेक किसिमको सहयोग पनि गर्दै आएको छ। शिक्षा, संस्कृति, स्वास्थ्य, यातायात, ऊर्जा, सूचना प्रविधि, व्यापारलगायतका विविध क्षेत्रमा भारतले नेपाललाई महत्त्वपूर्ण सहयोग गर्दै आएको छ। कुनै पनि किसिमको संकट आइपरेको बेलामा सहयोग गर्न सदैव तत्पर रहने भारतसँगको हाम्रो परम्परागत बहुआयामिक सम्बन्ध अद्वितीय एवं विशिष्ट प्रकृतिको छ।

जनस्तरमा स्थापित यस सम्बन्धको विशालता र व्यापकतालाई वर्णन गर्न साध्य छैन। नेपालको प्रायः सबैजसो राजनीतिक परिवर्तनमा विनासर्त सहयोग गर्दै आएको भारत हाम्रो असल छिमेकी एवं मित्रराष्ट्र पनि हो। साझा धर्म, संस्कृति, रहनसहन, जीवन पद्धति, प्राकृतिक एवं भौगोलिक कारण तथा भूबनोटले पनि हामीलाई एक–अर्काको निम्ति अपरिहार्य बनाइदिएको छ। भारतको स्वतन्त्रता दिवस नेपालीहरूको निम्ति पनि खुशीको विषय हो।

प्रतिक्रिया दिनुहोस्