युद्धस्तरमा काम गरौं



 

मुलुक अहिले बाढी र पहिरोको चपेटामा परेको छ । केही दिनअघिदेखि बाढीपीडित क्षेत्रका बासिन्दाले सफा पिउने पानी र खाद्यान्नसमेत पाउन सकिरहेका छैनन् । त्यस्तै लत्ताकपडाको पनि अभाव रहेको छ । सडक र हवाई मार्ग दुवैतिर केही दिन अवरोध सिर्जना हुँदा यो अवस्था आएको हो । राज्यका तर्फबाट केही कदम चालिएको भए पनि त्यो पर्याप्त हुन सकिरहेको छैन । राज्यको मात्रै मुख ताकी अरु चुप लागेर बस्न पनि मिल्दैन । त्यसैले सबैले आ–आफ्नो स्थानबाट दुःखमा परेका दाजुभाइ, दिदीबहिनीहरूको सेवामा लाग्नु जरुरी रहेको छ । नगद हुनेले नगद दिऔं, लत्ताकपडा हुनेले लत्ताकपडा दिऔं, आफूसँग जे छ एकछाक कटाएर भए पनि पीडित सर्वसाधारणको उद्धार र सेवाका लागि खर्च गरौं ।

कुनै पनि दाजुभाइ, दिदीबहिनी अप्ठेरोमा परेको बेलामा दुःख बाँड्ने हामी नेपालीको परम्परागत मान्यता रहँदै आएको छ । प्रभावित क्षेत्रमा महामारीको समस्या फैलिन सक्ने अवस्था देखिएको छ । बाढीका कारणले फोहोर जम्मा भएका तराईका क्षेत्रमा अब घाम लाग्नासाथै धूलो उडेर बसिनसक्ने अवस्था सिर्जना हुनेवाला छ । त्यसैले केही दिन बाढी आयो⁄रोकियो भनेर कसैले पनि सो क्षेत्रमा बेवास्ता गर्न मिल्दैन । यसको असर अबका ६ महिनासम्म पनि रहने कुरालाई नजरअन्दाज गर्न मिल्दैन ।

त्यसैले अब प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन आवश्यक चिकित्सकसहितको टोली औषधिसमेत लिएर त्यसतर्फ पठाउनु जरुरी रहेको छ । हामीले जति ढिलाइ गर्छौं त्यति नै झन् भयावह अवस्था सिर्जना हुन सक्छ । त्यसैले सामान्य अवस्थामा रहेका अर्को भूभागका नेपाली सबै जागेर पीडित मनहरूमा मलहमपट्टी लगाउन ढिला नगरौं । जसले जे सकिन्छ त्यही सहयोग गरौं ।

अनि यस खालका घटना बारम्बार किन दोहोरिन्छन् भन्ने कुराको मूल्यांकनसमेत राज्य तहबाट हुनु जरुरी छ । नीति–निर्माताहरूबाट यसतर्फ सोचेर बेलैमा तदनुसारका कार्यक्रम र नीति अघि सारिनुपर्दछ । बाढी–पहिरोका कारण राजमार्ग अवरुद्ध हुनुका साथै अन्य भौतिक संरचनाहरूसमेत बिग्रिए⁄भत्किएको अवस्था रहेको छ । कैयौं स्थानमा बिजुली बत्ती नै अवरुद्ध भएको छ भने हराएका मानिससमेत अझै भेट्टाउन सकिएको छैन । त्यसैले उद्धारका कार्यलाई थप प्रभावकारी बनाउँदै युद्धस्तरमा काम अघि बढाऔं । दुखेका मनहरूलाई साथ दिऔं ।

 

प्रतिक्रिया दिनुहोस्