पानीमा डुब्यो मानवसेवा आश्रम



हेटौंडा,(नेस) । मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडा निरन्तरको वर्षाको कारण डुबानमा परेको छ । आइतबार राति घुँडासम्म पानी आएपछि सम्पूर्ण आश्रितलाई टेबुलमाथि राखिएको थियो । तर, पानी बढ्दै जाँदा सोही राति सबै आश्रितलाई स्थानान्तरण गर्नुपर्ने भयो ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा राति सम्पूर्ण आश्रितलाई मानवसेवा आश्रमको निर्माणाधीन भवन लामसुरेधापमा स्थानान्तरण गरिएको थियो । आश्रम डुबानमा परेपछि आश्रितको स्थानान्तरणमा समय अपुग भएकाले सामग्रीको व्यवस्थापन गर्न कठिन भएको छ । पानीले सम्पूर्ण बेड, सिरक, डस्ना, तन्दा, खाद्यान्न र औषधी काम नलाग्ने बनेको छ । इन्भर्टर, पानी तान्ने मोटर, मयुरी (उद्धार गर्ने बाहन), दराज र वासिङमेसिन आदि पानीले बिगारेको छ ।

वर्षा रोकिए पनि सम्पूर्ण आश्रितको ओढ्ने, ओच्छ्याउने काम नलाग्ने बनेको छ । कार्पेटदेखि स्टोरमा भएका खाद्यान्न पानीमा डुबेर बिग्रिएको छ । पानीले औषधी बगाएको र कोही बिगारेको छ, लत्ता कपडा सबै पानी र हिलोमा डुबेको आश्रम प्रमुख रामजी अधिकारीले बताए ।

बजारभरकै फोहोर बगाएर आश्रममा ल्याउँदा दुर्गन्ध फैलिएको छ । आश्रमलाई पुरानै अवस्थामा ल्याउन करिब १५ लाख आवश्यक पर्ने मानवसेवा आश्रम मुख्य कार्यालय हेटौंडा संयोजक होमनाथ तिमिल्सिनाले बताए ।
मानवसेवा आश्रम मुख्य कार्यालयमा हाल विभिन्न स्थानका सडकबाट उद्धार गरिएका एक सय जना सहयोगापेक्षी आश्रितले सेवा लिइरहेका छन् । अभियन्ताको सेवाका कारण विभिन्न जिल्लामा आश्रमको शाखा स्थापना गरिएको छ ।

समाजमा विभिन्न परिस्थितिले लाचार र विवश भएर मागेरसमेत खान नसक्ने अशक्त, अनाथ, अपांग, असहाय एवम् मानसिक सन्तुलन गुमाएर बेवारिस अवस्थामा सडकपेटी, मठमन्दिर, पाटीपौवा एवम् सार्वजनिकस्थलमा कष्टकर जीवनयापन गर्न विवश दीनदुःखीलाई सरल, सहज र स्वभाविक जीवनयापन गराउन उनीहरुको उद्धार, स्याहार, संरक्षण, पालनपोषण गर्दै पारिवारिक पुनर्मिलन सेवाका लागि आश्रम स्थापना गरिएको हो ।

२०६९ भदौ १३ गते हेटौंडामा स्थापित आश्रमको भरतपुर, काठमाडौं, ललितपुर, गोरखा, लमजुङ, बागलुङ, बीरगञ्जमा सेवा सञ्चालन भइरहेको छ । आश्रमको हेटौंडामा निर्माणाधीन भवनका लागि सहयोगी हात बढ्दैछ ।

प्रतिक्रिया दिनुहोस्