ग्रिनल्यान्ड र गोल्डेनपिक क्वार्टरफाइनलमा



 

काठमाडौं, (नेस)
आयोजक ग्रिनल्यान्ड र गोल्डेनपीक स्कुल १२औं क्विक्स ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

आइतबार भएको सिनियर ब्वाइजको खेलमा ग्रिनल्यान्डले सामाखुसी बोडिङ स्कुल (सेब) लाई ५७–४१ स्कोरको अन्तरले हरायो। ग्रिनल्यान्डलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका दिलिप पुन मगरले एक्लैले ३१ स्कोर गरे।

सिनियर ब्वाइजकै अर्को खेलमा गोल्डेनपिकले ज्ञान सिन्धुलाई ४८–३६ ले हरायो। गोल्डेनपिकको जितमा गोपाल भण्डारीले सर्वाधिक २० स्कोर गरेका थिए। दुवै टिमले समूह ‘घ’ बाट समान २–२ खेल जितेर १ खेलअगावै क्वार्टरफाइनलमा स्थान बनाएका छन्। मंगलबार यी दुई बीचको लिग चरणको अन्तिम खेलबाट समूह विजेता र उपविजेताको छिनोफानो हुनेछ।

सिनियर ब्वाइजमै समूह ‘क’ बाट एचएचसीए र समूह ‘ख’ बाट लक्ष्मीपुरले दुई खेलमा सफलता हात पादै एक खेलअगावै क्वार्टरफाइनलमा स्थान बनाएका छन्। एचएचसीएले अभियान पब्लिकलाई ४५–३५ ले हराउदा टोखाको लक्ष्मीपुर स्कुलले शंखमूलको इनोभेटिभ स्कुललाई ३१–२४ ले स्तब्ध बनायो।

धापासीस्थित आयोजक ग्रिनल्यान्ड स्कुलको कोर्टमा भएको जुनियर ब्वाइजको खेलबाट सफलता हात पार्दै सेब, ग्रिनल्यान्ड, एनइए, लालीगुराँस, मञ्जुगोक्ष, माउन्टग्लोरी, इडनब्रिज, मनास्लु र ओडिसी नकआउट चरणमा प्रवेश गरेका छन्। जुनियर ब्वाइजको खेलमा बीएनएले पोलिफिकलाई १६–१४ ले हराउँदा मञ्जुगोक्षले एचएचसीएलाई ३०–१४ ले स्तब्ध बनायो। ओडिसीले कान्तिपुरलाई १०–६ को स्कोरमा रोक्यो।

 

प्रतिक्रिया दिनुहोस्