महामारीको त्रास: बाढी र पहिरोमा परी ७४ को मृत्यु, ५६ बेपत्ता, ४८ हजार घर डुबानमा, ५ लाख मानिस प्रभावित



जिल्ला ब्युरो, काठमाडौं

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी ७४ जनाको मृत्यु भएको छ भने ५६ जना बेपत्ता भएका छन्। बाढी र पहिरोले ४८ हजार ५ सय ५६ घर डुबानमा परेका छन् भने २१ हजार ४ सय ६५ जना विस्थापित भएका छन्। बाढीपहिरोबाट २ हजार ६ सय ९८ घर पूर्णरूपमा क्षति भएका छन्। त्यस्तै झन्डै ५ लाख मानिस प्रभावित भएका छन्। बाढीपहिरोमा परेर ३ हजार ७ सय ३१ पशु चौपाया मारिएका छन्।

बाढी र पहिरोको कारण पाँचथर, मोरङ, सप्तरी, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, मकवानपुर, सिन्धुली, पाल्पा, नवलपरासी, बाँके, बर्दिया, दाङ, सल्यान, चितवन, रुकुम, कालिकोट, धनुषालगायतका जिल्लामा मानवीय क्षतिका साथै अरबौंको भौतिक क्षति भएको गृह मन्त्रालयको केन्द्रीय कमान्ड पोस्टले जानकारी दिएको छ।

मुलुकका मुख्य राजमार्ग पहिरो र बाढीले बगाएका कारण राजधानीसँग बिच्छेद भएको छ। बाढीका कारण पूर्वी नेपाल सबैभन्दा बढी प्रभावित भएको छ। उद्धार गरिएका जनतालाई सुरक्षित स्थानमा राखिएको भए पनि पिउने पानी र खाद्यान्नको अभाव भएका कारण बालबालिका र वृद्धहरू भोकका कारण बिरामी पर्न थालेको स्थानीय संवाददाताहरूले जनाएका छन्। वर्ष नरोकिएका कारण उद्धार टोली सहज ढंगले जान नसक्दा बाढी प्रभावित क्षेत्रमा महामारी फैलिने डर उत्पन्न भएको छ।

पूर्वी नेपालका अधिकांश भूभाग जलमग्न हुँदा त्यहाँको अवस्था भयावह हुँदै गएको छ। पूर्वी तराईमा ३० वर्ष पछिको सबैभन्दा ठूलो वर्षा भएका कारण पूर्वी तराईका जिल्लाहरू बढी प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

मुलुकका मुख्य नदी तथा सहायक नदीमा पानीको बहाव उच्च हँुदै गएपछि स्थानीय प्रशासनले समयमा नै खबर गर्न नसकेका कारण बढी मानवीय क्षति भएको छ। सरकारले बाढीपहिरोपीडितको उद्धारका लागि नेपाल प्रहरीको ८ हजार ५ सय, नेपाली सेना २ हजार १ सय, सशस्त्र प्रहरी बल ८ हजार परिचालन गरेको छ। नेपाली सेनाले प्रतिकूल मौसममा पनि ३ वटा हेलिकोप्टरबाट उद्धार गरेको जनाएको छ। सैनिक प्रवक्ता सहायक रथी झंकर कठायतका अनुसार आइतबार मात्रै बाढीका कारण विभिन्न ठाउँमा फसेका १ हजार जनाको उद्धार गरिएको छ।

तीनवटै सुरक्षा निकायका दक्ष जनशक्ति र आपत्कालीन उद्धारका समानहरू प्रयोग गरेर उद्धार गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले जानकारी दिनुभयो। अहिले बाढी र पहिरोको जोखिममा परेकालाई उद्धार गरेर सुरक्षित ठाउँमा पठाउने काम भएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजु अर्यालले जानकारी दिनुभयो।

अबिरल रूपमा परेको वर्षा कम हुँदै गएका कारण उद्धार कार्यमा केही सहजता आएको प्रहरीले जानकारी दिएको छ। अहिले उद्धार कार्यमा खटिएका सुरक्षा निकायले एकीकृत रूपमा उद्धार कार्यलाई तीव्रता दिएको उहाँले जानकारी दिनुभयो।

त्यस्तै चितवनकै पर्यटकीय क्षेत्र सौराहमा रहेको विभिन्न होटलमा अलपत्र परेका ६ सय विदेशी पर्यटकलाई संयुक्त सुरक्षा फौजले उद्धार गरी सुरक्षित गन्तव्य स्थानतर्फ पठाएको थियो।

रौतहटमा मात्रै ९ को मृत्यु, ५ बेपत्ता
रौतहट संवाददाताका अनुसार अविरल वर्षा र बाढीले रौतहटमा ९ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा एक गर्भवती महिलासहित ९ जना रहेका छन्। प्रसूति गराउन राजपुर फरहदवा स्वास्थ्य संस्थामा लैजाने क्रममा भारतीय जिपलाई बाढीले कटान गरेको स्थानबाट बगाउँदा परोहा गाउँपालिका–३ लौकाहाका चन्दन यादव र उनकी २८ वर्षीया पत्नी शर्मिला यादवलाई अस्पतालमा सुरक्षित प्रसूति गराउन उनकी आमा सुमित्रा देवी, ५ वर्षीया छोरी छोटु कुमारी, भतिजा सरोज यादव र भाउजू ललिता देवीको मृत्यु भएको छ।

यस्तै दुर्गा भगवती गाउँपालिका–६ गंगापिपरा निवासी कौशिल्या देवी, देवाही गोनाही गाउँपालिका–२ निवासी जगिया देवी, इशनाथ गाउँपालिका–९ औरयाका सकिल देवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। जिल्लाको विभिन्न भागमा गरी ६ जना बेपत्ता भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो। बेपत्ताको खोजी भइरहेको उहाँले बताउनुभयो। उता रौतहटको सदरमुकाम गौरमा दश फिटसम्म पानी जमेको छ। सरकारी कार्यालय सबै डुबानमा परेका छन्। विद्युत् अवरुद्ध भएको छ। टेलिफोन र मोबाइलको नेटवर्क पनि अवरुद्ध भएको छ। विद्यालयहरू खुल्न सकेका छैनन्। रौतहटको सबै नगरपालिका र गाउँपालिका गरी ८० प्रतिशतभन्दा बढी भाग डुबानमा रहेको छ।

यसैबीच खोलाको बाढीले राष्ट्रिय राजमार्ग जोड्ने धन्सार पुलको पश्चिम भाग कटान गरेपछि गन्तव्यमा जाने सवारीसाधन रोकिएको छ। पूर्वपश्चिम राजमार्गस्थित रौतहट र बारा जिल्लाको सिमाना छुट्याने उक्त पुलको पश्चिम भागको २० मिटर सडक कटान गरेपछि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। उक्त पुल नजिकको सडक कटान भएपछि सवारीसाधन चन्द्रनिगाहपुर र निजगढमा रोकिएको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।

उता लालबकैया नदीले देवाही गोनाहीलगायतका स्थानमा तटबन्ध भत्काएर पसेको बाढीले चन्द्रनिगाहपुर सदरमुकाम गौरको वीरेन्द्र राजमार्गको सरुअठामा १ सय मिटर सडक कटान गरेको छ। खोलाको र जमेको पानी सो सडकको बीचबाट नै बगिरहेको छ। बीच सडक भएर खोला नै बग्न थालेपछि सदरमुकाम गौर जाने आउने सवारीसाधन सञ्चालन हुन सकेको छैन। उता सदरमुकाम गौरमा पाँच फिटसम्म पानी जमेको राजपाका नेता अनिल सिंहले बताउनुभयो। उद्धार र राहत कार्य हुन नसक्दा रौतहटको वास्तविक अवस्था यकिन हुन सकेको छैन। प्रमुख जिल्ला अधिकारी उद्धव थापा र प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल सम्पर्कविहीन बनेको राजपाका नेता अनिल सिंहले बताउनुभयो।

बर्दियामा ३ को मृत्यु
बर्दिया संवाददाताका अनुसार शुक्रबारदेखिको अविरल वर्षाले बबई तथा मान नदी, ओराई खोलालगायतमा आएको बाढीबाट डुबानमा परी ७४ हजार जना प्रभावित भएका छन्। प्रभावितमध्ये ४ हजार ३ सय ८८ घरपरिवारका २४ हजार ५ सय ७४ जना विस्थापित भएका छन्।

बाढीका कारण १३ हजार ३ सय ६२ घरधुरीका ७४ हजार ३ सय २७ जनसंख्या प्रभावित बनेकोमा आइतबार साँझसम्मको तथ्यांकअनुसार २ हजार १ सय ७३ घरमा पूर्ण र ८ हजार ९ सय ६२ घरमा आंशिक क्षति पुगेको जिल्ला आपत्कालीन सूचना केन्द्रका सूचना अधिकृत रूपन ज्ञवालीले जानकारी दिनुभयो।
बाढीका कारण मृत्यु हुनेको संख्या ३ र घाईतेको संख्या ४ पुगेको छ।

शनिबार रातिदेखिको झरीले घरको भित्ता भत्किँदा ठाकुरबाबा नगरपालिका–२ सत्ताघरुवाकी ७० वर्षीया साउनी थारूको ज्यान गएको छ।

स्थानीय ओराली खोलमा आएको बाढीका कारण शनिबार बिहानदेखि बेपत्ता बारबर्दिया नगरपालिका वडा नम्बर–१० गन्धर्व टोलका राजेन्द्र चौधरी आइतबार दिउँसो बबई नदीको जब्दीघाटमा मृत अवस्थामा फेला परेका छन्।

यस्तै ठाकुरबाबा–५ खोनपुरका ६० वर्षीय गोविन्द थारूको पनि बाढीले बगाएर ज्यान गएको छ।

बाढीका कारण नष्ट भएका भौतिक संरचना र मरेका पशु चौपायाको भने रेकर्ड आउन बाँकी नै छ।

बबई नदीमा आएको बाढीले बर्दियाको गुलरिया, बारबर्दिया, ठाकुरबाबा, मधुवन र बाँसगढी नगरपालिकाका अधिकांश भू–भाग डुबानमा परेका छन्। डुबानमा परेकालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीय विपत व्यवस्थापन समितिका सदस्य, तालिम प्राप्त रेडक्रस स्वयंसेवकहरूद्वारा उद्धार गरी सुरक्षित क्षेत्रमा राखिएको छ। ४३ जनालाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताउनुभयो।

नेपाली सेनाले डु·ामार्फत् पनि उद्धार गरेको छ। उनीहरूलाई स्थानीय विद्यालय, सामुदायिक भवन तथा सडकका किनारमा राखिएको छ। मानिसहरू अझै पनि छतमा वा माथिल्लो तलामा बस्ने वा डुबानमा नपरेका स्थानका आफन्तहरू कहाँ शरण लिइरहेका छन्।

बबई नदीमा पानीको बहाव बढेकाले पूर्व–पश्चिम राजमार्ग, गुलरिया नेपालगन्ज सडकखण्ड जलमग्न हुँदा बाटो अवरुद्ध भएको छ। बाटो अवरुद्ध हुँदा नेपालगन्ज गुलरिया सडकखण्डको शीतलाबजारमा सयौं यात्रुहरू अलपत्र परेका छन्।

जिल्ला प्रकोप उद्धार समितिले तत्काल तयारी खानाका लागि स्थानीय तहमार्फत् व्यवस्थापन मिलाइएको बताउँदै विषयगत क्षेत्र सबैलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रही सहयोग गर्न आग्रहसमेत गरेको छ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले ववई नदि जलाशय वरपरिका सबै तटीय क्षेत्रका वासिन्दालाई उच्च सर्तकता अपनाउन अपिल गरेको छ। डुबान कायमै रहेकोले स्कुल, सरकारी तथा निजी कार्यालयहरू र कलकारखानाहरू बन्दै रहेको छ।

गुलरिया नगरपालिका भएर बग्ने बबई नदीको बहाव उच्च भएपछि पानी बस्तीमा प्रवेश गरेकाले गुलरिया नगरपालिकाका अधिकांश ठाउँहरू जलमग्न भएका छन्। बालापुर, सन्तोषी टोल मानुभक्त टोल, भैसाही, थपुवा, लटकनिया, पर्सिया, विधुत् टोल, रत्नापुर, महिजिदिया, बालापुर, सूर्यगौडी, इन्द्रपुर, टँडुवा, कोठिया, भादा, खैरापुर, पण्डितपुरलगायतका क्षेत्रमा बाढीको पानीले जलमग्न गरेको छ।

बाढीका कारण बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा रहेको जिल्ला अस्पतालसमेत डुबानमा परेको छ। भुरीगाउँ, बाँसगढी, मगरागाडी, ठाकुरद्वारालगायतका मुख्य बजार पनि जलमग्न भएका छन्। सदरमुकाम गुलरियाको संगम बस्ती, बालापुर, मस्जिदिया, खैरापुरलगायतका स्थानमा बाढीमा फसेकालाई उद्धार गर्न नसकिएपछि हेलोकोप्टरबाट उद्धारका लागि आग्रह गरिएको छ। जिल्ला आपत्कालीन कार्य संचालन केन्द्रका सूचना अधिकृत रूपन ज्ञवालीका अनुसार करिब २ सय घरपरिवारलाई उद्धार गर्न हेलिकोप्टर माग गरिएको हो।

५० हजार बासिन्दा विस्थापित
राजविराज संवाददाताका अनुसार विगत ५ दिनदेखि अविरल वर्षासँगै सप्तरीको विभिन्न नदीमा आएको बाढीले सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको छ।

खाँडो, जिता, सुन्दरी, महुली र सप्तकोशीको बाढी गाउँमा पस्दा सप्तरीको तिलाठी कोइलाठी गाउँपालिका वडा नम्बर ५, ६, २, १ का ३ हजार बढी स्थानीय बासिन्दा गाउँमा रहेका छन्।

यसै गरी हनुमाननगर कंकालिनी नगरपालिका–º१४ रम्पुरा मल्हनियाँका ३ हजार बढी बासिन्दा बाढीका कारण गाउँमा पसेका छन्। केहीलाई स्थानीय प्रशासनले डुंगाको सहयोगमा सुरक्षित स्थानतर्फ ल्याइरहेका छन्। वर्षा नरोकिँदा र डुंगाको अभावमा उद्धारमा समस्या भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बताए।

बाढीका कारण सप्तरीको तिरहुत गाउँपालिका, सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, महदेवा गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, डाकनेश्वरी नगरपालिका र बोदे बर्साइन नगरपालिकाका १० हजार परिवारका ५० हजार सर्वसाधारण बाढीका कारण विस्थापित हुनुपुगेको प्रजिअ कटवालले बताए।

यता राजविराज सदरमुकाम पूर्णरूपमा जलमग्न भएको छ। राजविराजको विभिन्न वडामा स्थानीयबासीको घरमा ५ फिटसम्मको पानी जमेको छ। बाढीले राजविराज–रूपनी सडक खण्डको मलेठमा र राजविराज–कुनौली सडकखण्डको रञ्जितपुरमा पुल बगाउँदा सदरमुकामसँग सम्पर्क विच्छेद भएको छ।
हुलाकी सडक खण्डको राजविराज–भारदह सडक खण्डको फर्सैठ, तोपा र मन्सापुरमा कटान शुरू गरेका कारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी कटान रोकथामका लागि जुटिरहेका छन्।

यता सप्तरीको कुशहा, हनुमाननगर, सकरपुरा, बभनगामाकट्टी, बथनाहा, ढिकुली मझौरा, भगवानपुर, को. बसाइन, लौनियाँ, विषहरियालगायतका गाउँमा पानी पसेपछि सर्वसाधारण भोकभोकै बस्न बाध्य छन्।

स्थानीय प्रशासनले आइतबार बिहानैदेखि गाउँमा फसेका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ ल्याउनका लागि भीमदल गण राजविराजका नेपाली सेनालाई खटाइएको छ। वर्षा नरोकिएका कारण क्षतिको विवरण संकलनमा कठिनाइ भइरहेको छ।

सप्तकोशी नदीमा पानीको बहाबसँगै ३३ वटा ढोका खोलिएका छन्। सबै ढोकाहरू खोल्नुपर्ने स्थानीय प्रशासनले गृह मन्त्रालयलाई पत्र लेखिएको प्रजिअ कटवालले बताए। सप्तरीको अधिकांश भू–भाग बाढीका कारण जलमग्न भएका छन् भने किसानले हजारौं हेक्टर जग्गामा लगाएको धानबाली नष्ट भएका छन्।

बाढीसँगै नेपाल टेलिकम र एनसेलको नेटवर्क गए रातिदेखि सञ्चालनमा आएको छैन भने बिजुली नहुँदा थप समस्या उत्पन्न भएका छन्।

पहिरोले घर पुरिँदा वृद्धको मृत्यु
यसैबीच इलाम संवाददाताका अनुसार पहिरोले घर पुरिँदा आइतबार यहाँ एक वृद्धको मृत्यु भएको छ।

माई नगरपालिका–८ का ९७ वर्षीय मदन मगरको पहिरोले घर पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो जाँदा घरमा मगर एक्लै हुनुहुन्थ्यो।

बगाएको गैंडा गाउँ पस्यो
नवलपरासी संवाददाताका अनुसार लगातारको भारी वर्षाका कारण जिल्लाको जनजीवन आइतबार पनि अस्तव्यस्त बनेको छ। वर्षा र बाढीका कारण जिल्लाका सयौं घर डुबानमा परेका छन्।

३ दिनदेखि अवरुद्ध दाउन्ने पहाडस्थित पूर्व–पश्चिम मुख्य राजमार्ग डाईभर्सन खोलेर एकतर्फी खुलाइएको बर्दघाट प्रहरीले जनाएको छ।

बाटो एकतर्फी खोलिए पनि पटक–पटक सडक भासिने, पहाडबाट पहिरो तथा रुखहरू ढल्ने क्रम पनि जारी रहेका कारण यात्रा जोखिमपूर्ण बनिरहेको एक यात्रुले बताए। नारायणी नदीमा आएको कारण भारतले नेपाली भू–भाग हँुदै उत्तर प्रदेशतर्फ लगेको पश्चिम गण्डक नहर बन्द भएको छ।

प्रतापपुर र रानीनगरबीचको क्षेत्रमा नहर भासिन लागेपछि स्थानीयको अनुरोधमा भारतले नहर बन्द गरेको हो। यसैबीच नारायणी नदीको बहावमा परी चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा, हरिण, बँदेललगायतका विभिन्न जंगली जनावर बग्दै आएको नर्सहीका स्थानीयले बताएका छन्।

सोही क्रममा नारायणी नदीमा बग्दै आएको दूर्लभ एकसिंगे गैंडा नसर्हीस्थित १७ नम्बर ठोक्कर नजिकबाट नेपालतर्फ स्थानीय उखुबारीमा पसेको बताइएको छ। सो कुराको पुष्टि स्थानीय प्रहरीले गरेको छ।

अधिकांश राजमार्ग अवरुद्ध
लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशका अधिकांश राजमार्गहरू अवरुद्ध भएका छन्।

बाढीका कारण आएको पहिरोले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट, दाउन्नेमा सवारी अवागमन अवरुद्ध भएको खबर प्राप्त भएको छ। पूर्व–पश्चिम राजमार्गमै रहेका विभिन्न खोलामा बनेमा धेरै पुल भासिएको तथा केही भाँचिएको पनि स्रोतले बताएको छ।

स्थानीय प्रहरीले दिएको जानकारीअनुसार पहिरोबाट बाटो अवरुद्ध भएपछि एकतर्फीरूपमा बाटो सञ्चालन गर्दा सडक भासिएको कारण दाउन्नेमा सवारी अवागमन अवरुद्ध भएको बताइएको छ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको कालिखोलामा पहिरो आएको कारण मग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ। चितवन प्रहरीका अनुसार सो सडक खण्ड भएर चल्ने सवारीसाधन पहिरोका कारण बाटोमै रोकिएका छन्।

लगातारको वर्षाका कारण आएको पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ। सो राजमार्गअन्तर्गत पाल्पाको चौबीस माइल भन्ने ठाउँमा पहिरोका कारण बाटो अवरुद्ध हँुदा सवारी अवागमन ठप्प भएको छ।

त्यस्तै, बीपी राजमार्गअन्तर्गत बर्दिबासमा पहिरो गएको कारण सवारी अवागमन ठप्प भएको बताइएको छ। उक्त स्थानमा झरेको पहिरो प्रहरी सेना तथा स्थानीयबासीको सक्रियतामा हटाएपछि सवारी पुनः सुचारु भएको छ। दक्षिणकाली हुँदै हेटौंडा जाने बाटो वर्षा र पहिरोका कारण अवरुद्ध भएको जनाइएको छ।

लगातार वर्षापछि आएको बाढी र पहिरोका कारण देशका अधिकांश सडकहरू अरुवद्ध हुँदा सयौं सवारीसाधन तथा हजारौं यात्रु अलपत्र भएका छन्। सडक अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त भएको छ।

महोत्तरी संवाददाताका अनुसार महोत्तरीमा विगत ४ दिनदेखि परेको अविरल वर्षाले रातो, भब्सी, बिग्ही र जंघा नदीमा बाढी आएपछि महोत्तरीलगायत दर्जनौं सरकारी कार्यालयहरु डुबानमा परेको छ। बाढीले सदरमुकाम जलेश्वरमा एकको मृत्यु भएको छ।

महोत्तरीमा विगत ४ दिनदेखि परेको अविरल वर्षाले रातो, भब्सी, बिग्ही र जंघा नदीमा बाढी आएपछि जलेश्वमा एकको मृत्यु भएको छ। मृत्यु हुने जलेश्वर नगरपालिका–२ खैराचौक निवासी रामकुमार ठाकुरको अन्दाजी १५ वर्षीय छोरा बिक्की कुमार ठाकुर रहेको प्रहरीले जनाएको छ। मृतक ठाकुरलाई घर नजिकैबाट आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हो।

बारामा बाढीले ३ मृत्यु
बारा संवाददाताका अनुसार अविरल वर्षापछिको बाढीका कारण बारामा एक बालकसहित ३ को मृत्यु भएको छ। मृत्यु हुनेमा महागढीमाई नपा १ का नुरिन आलमका १२ वर्षीय छोरा मौफुज, निजगढ नपा ११ की ३५ वर्षीय भगनीदेवी कँुवर र सिम्रौनगढ नपा ८ की ४५ वर्षीय गहनी पासवान रहेका छन्। मौफुजको आइतबार दिउँसो २.३० बजे खेतको बाढीमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार साथीसँग पौडी खेल्न भनेर बाढी आएको खेतमा गएका मौफुजको डुबेर मृत्यु भएको हो।

मृतकका परिवारलाई २ लाख

काठमाडौं, (नेस)
सरकारले अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी निधन भएका व्यक्तिका परिवारलाई जनही २ लाख रुपियाँ दिने निर्णय गरेको छ। आइतबार राति बसेको मन्त्रिपरिषद्को बैठकले राहत र उद्धार कार्यलाई तीव्ररुपमा अगाडि बढाउने निर्णयसमेत गरेको छ।

अझै वर्षाको जोखिम

काठमाडौं, (नेस)
गत सातादेखिको निरन्तर सक्रिय बनेको मनसुन मुलुकको पूर्वी भेगमा केही कमजोर बन्दै गए पनि मध्य भेग र पश्चिमी क्षेत्रमा मनसुनको प्रभाव फैलिएको छ। मध्य क्षेत्र र पश्चिमका तराईलगायत धेरै स्थानमा निरन्तर वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘आइतबार साँझदेखि नै मध्य र पश्चिमी क्षेत्रमा मनसुन सक्रिय हुने गतिविधि विकास भएको छ’, महाशाखाका मौसमविद् बरुण पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘केही स्थानमा भारी वर्षाको सम्भावनासमेत छ।

चितवन, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र आसपासका जिल्लामा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो। आज सोमबार अपराह्नदेखि भने सक्रिय मनसुन क्रमशः कमजोर हुँदै जाने र मौसम सुधार हुने पौडेलले जानकारी दिनुभयो।

तर, मनसुन अवधि अझै बाँकी रहेकाले देशैभरिको मौसम बदलिने र हल्का वर्षा हुने गतिविधि भने प्रायः हरेक दिन दोहोरिने महाशाखाले प्रस्ट्याएको छ।

मौसम विभागको बाढी पूर्वानुमान शाखाका अनुसार राप्ती र बबई नदीले आइतबार अपराह्नसम्म धेरै स्थानमा खतरा र चेतावनी तह पार गरेकाले जोखिमको सम्भावना उच्च रहेको बताएको छ।

बबई र राप्ती नदीमा बढेको बाढीको सतहका कारण बाँके र बर्दियाका तल्लो तटीय क्षेत्रका बस्ती उच्च जोखिममा रहेको बाढी शाखा प्रमुख राजेन्द्र शर्माले बताउनुभयो।

‘मध्य र पश्चिमी भेगमा वर्षाको मात्रा अझै बढ्ने अवस्था छ, उहाँले भन्नुभयो– ‘नारायणी, कणालीसहित पश्चिमी क्षेका नदी तटीय क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन पटक–पटक सन्देश सम्प्रेष्ण गरिएको छ।’ नारायणीदेखि पश्चिम क्षेत्रका जोखिम बस्तीका करिब साढे ३ लाख स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन आइतबार ‘मास एसएमएस’ पठाइएको शर्माले बताउनुभयो।

आज सोमबार बाग्मती, पूर्व राप्ती, रिउ, विनय, अरुण, तिनाउ, बाणगंगालगायतका खोला र किनारा आसपासका क्षेत्र उच्च जोखिमा रहने बाढी शाखाले प्रस्ट्याएको छ। पूर्वी भेगमा वर्षाको मात्रा घट्न थालेपछि अधिकांश खोला र नदीमा पानीको सतह घट्ने क्रममा रहेको बाढी शाखाले जनाएको छ।

कांग्रेस सांसदको १ महिनाको तलब

काठमाडौं, (नेस)
बाढीपीडितहरूको सहयोगार्थ नेपाली कांग्रेसका सांसदहरूले एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्।

केही दिनदेखि परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएपछि आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले कांग्रेसका सांसदहरूको एक महिनाको पारिश्रमिक बाढीपीडित उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

व्यवस्थापिका संसद्मा कांग्रेसका २ सय ७ जना सदस्य छन्। कांग्रेस कार्यसम्पादन समितिका सदस्य दिलेन्द्रप्रसाद बडुले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएअनुसार बाढी–पहिरोपीडितको उद्धार र राहतका लागि नेपाली कांग्रेसका सांसदहरुद्वारा आफ्नो एक महिना बराबरको तलब राहतस्वरूप उपलब्ध गराउने निर्णय गर्नुका साथै उद्धार कार्यमा सरकारले गम्भीरताका साथ र युद्धस्तरमा काम गर्नका लागि ध्यानाकर्षण पनि गराइएको छ।

कांग्रेस बैठकले बाढी, पहिरो र डुबानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसा लगायत भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माणका लागि पनि सरकारसँग आग्रह गरेको छ। ‘प्राकृतिक विपत्तिको यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारीरूपमा तत्काल सञ्चालन गर्न तथा पीडितका परिवारलाई तत्काल अति आवश्यक सामग्री खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधि र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्धका लागि सरकारसँग नेपाली कांग्रेस आग्रह गर्दछ’ –बैठकको निर्णयमा भनिएको छ।

साथै कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्राकृतिक विपद्को यस समयमा उद्धार र राहत कार्यमा जुट्न सबै राजनीतिक दल, सुरक्षा निकाय, विभिन्न सामाजिक संघ–संस्था, नागरिक समाज, पत्रकार, बुद्धिजीवी, उद्योगपतिलगायत सबैलाई आग्रह गरेको छ।

बैठकले बाढीपीडितको राहत र उद्धारका लागि पार्टीका सम्पूर्ण पार्टी संरचना परिचालन हुन निर्देशन पनि दिएको छ। नेता बडुकाअनुसार राहत तथा उद्धार कार्यमा तत्काल संलग्न हुन पार्टीका सबै भातृ तथा शुभेच्छुक संघ–संस्थालाई निर्देशन दिइएको छ। बैठकले कांग्रेसका सबै निकायहरुलाई प्रभावित जिल्लामा पुगी एकीकृतरूपमा उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पर्याउँदै थप डुबानमा पर्न सक्ने क्षेत्रको पहिचान गरी उक्त क्षेत्रमा उच्च सर्तकता अपनाउनेलगायतका कार्यमा जुट्न निर्देशन दिएको हो।

३६५ जनालाई हेलिकोप्टरमा उद्धार

चितवन, (नेस)
पश्चिम चितवनको जगतपुरमा रहेको आशा बालगृहमा राप्तीको बाढी पसेपछि त्यहाँ रहेका विद्यार्थी, शिक्षक र कर्मचारीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

बालगृहलाई बीचमा पारेर राप्तीको भ·ालो बगेपछि त्यहाँ ३ सय ६५ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्