माथेमा प्रतिवेदन कार्यान्वयन गर्न प्रम सहमत अझै टुंगिएन अनशन



 

प्रशान्त वली, काठमाडौं
२२ दिनदेखि अनशन बस्दै आउनुभएका प्राडा गोविन्द केसीका माग र माथेमा कार्यदलको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा कानुन बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा सहमत हुनुभएको छ। माथेमा कार्यदलको प्रतिवेदनमा सम्बन्धन, चिकित्सा शिक्षा शुल्क मापदण्डलगायतका विषय उल्लेख छन्।

संसदीय समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकले आन्दोलनको मर्म समेट्न नसकेको भन्दै डा. केसीले असहमति जनाएपछि नयाँ शिराबाट वार्ता थालिएको हो। यस क्रममा शनिबार र आइतबार प्रधानमन्त्री देउवासँग छलफल भयो। डा. केसीले भनेअनुसारै कानुन पास गर्न र आवश्यक परे मनमोहन कलेज सरकारले किन्न प्रधानमन्त्री देउवा तयार रहेको बताइएको छ।

यद्यपि अनशनरत डा. गोविन्द केसी र सरोकारवाला निकायबीच आइतबार चरण–चरणमा वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन। आइतबार डा. केसीका वार्ता टोली सदस्यका प्रतिनिधि र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच उहाँकै निवास लाजिम्पाटमा छलफल भएको छ।

छलफलमा अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा. केसीको माग सकारात्मक छ, यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो ठम्याइ छ। म प्रधानमन्त्री हुँदा पनि उहाँले उठाएका समस्या सम्बोधन गर्न सकारात्मक कुराकानी भएको हो। तर, कतिपय कानुनी र प्रशासनिक जटिलताका कारण सबै काम सम्पन्न हुन सकेन। अब चिकित्सा शिक्षा विधेयक ऐनमा त्यसबारे ठोस व्यवस्था गरेर डा. केसीलाई आश्वस्त पार्नुपर्छ र अनशन तोडाउनुपर्छ। मेरोतर्फबाट सकारात्मक पहल हुन्छ।’

भेटमा प्रतिनिधि मण्डलले डा. केसीको स्वास्थ्य अत्यन्त कमजोर हुँदै गएकाले उहाँले उठाएका माग सम्बोधन गरी अनसन तोडाउने पहल गर्न प्रचण्डसँग आग्रह गरेको थियो।

डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेकाले छिट्टै माग सम्बोधन गरेर अनशन तोडाउन आइतबार दिनभर माओवादी अध्यक्ष प्रचण्डले सक्रियता देखाउनुभएको थियो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित कांग्रेस नेता रामचन्द्र पौडेल पुनः प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, कांग्रेस, माओवादी, शिक्षा मन्त्रालयका प्रतिनिधि, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र सरकारी वार्ता टोलीका सदस्यहरूको बैठकसमेत बसेको थियो।

प्रधानमन्त्री देउवाले डा. केसीको अनशनका विषयमा वार्तास्थलबाटै मनमोहन मेडिकल कलेजका सञ्चालक राजेन्द्र पाण्डेलाई टेलिफोन गरी सोध्नुभएको छ। प्रधानमन्त्री देउवाले डा. केसी सिकिस्त भएको भन्दै अनशन तोडाउन मनमोहन मेडिकल कलेज सरकारले खरिद गर्ने कुरा उल्लेख गर्दै आफूलाई टेलिफोन गरेको पाण्डेले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

सञ्चालक पाण्डेले भन्नुभयो– ‘मलाई प्रधानमन्त्री देउवाले टेलिफोन गरी मेडिकल कलेज बिक्री गर्न आग्रह गर्नुभयो। मैले यो रियल स्टेट कम्पनी होइन। २ हजार ५ सय मान्छे मिलेर नाफा नखाने उद्देश्यले खोलिएको संस्था हो। नेपाल स्वास्थ्य सहकारी संस्था नाम दिएर जनतालाई स्वास्थ्य सेवा दिइरहेका छौं। हामीले कलेज बिक्री गर्दैनौं। यो विशुद्ध सहकारी कार्यक्रम हो भनेर जवाफ फर्काएँ।’ बैठकमा प्रचण्डले डा. केसीका माग सकारात्मक भएकाले तत्काल सम्बोधन गरेर अनशन तोडाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू सकारात्मक देखिए पनि एमालेले नमानेपछि बैठक ठोस निष्कर्षमा पुग्न सकेन। छलफलमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, स्वास्थ्य सचिव डा. किरण रेग्मी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव सहभागी हुनुहुन्थ्यो। बैठकमा डा. केसी पक्षका वार्ता टोलीलाई भने बोलाइएको थिएन।

यसैबीच, चिकित्सा शिक्षाको विकृतिविरुद्व २२औं दिनदेखि अनशनरत डा. गोविन्द केसीको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ। आइतबार बेलुकी ७ बजेसम्मको स्वास्थ्य परीक्षणअनुसार केसीको अक्सिजनको मात्रा ७० प्रतिशतमा घटेको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन्। जुन सामान्य मानिसमा ९५ प्रतिशत हुन्छ। मुटुको चाल २ सय प्रतिमिनेट पुगेको छ। सामान्य मानिसमा ७० पर मिनेटसम्म हुन्छ।

यस्तै सेतो रक्त कोषिकाको मात्रा ६ हजारदेखि ११ हजार हुनुपर्नेमा २३ सय मिलिमिटर क्विव देखिएको डा. सुमन आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। डा. केसीको मुटुको चाल बढेपछि भेट गर्न नदिइएको उहाँका सहयोगी विषण दाहालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

डा. केसीले संसद्को महिला, बालबालिका तथा समाज कल्याण समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकमा असहमति जनाउनुभएको छ। डा केसीसँग नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि आइतबार भेटेर अवस्था बुझ्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्