एक सातालाई पुग्ने इन्धन मौज्दात



चामल, नुन, तेल तयारी अवस्थामा राख्न निर्देशन

दीपेन्द्र थापा, काठमाडौं

नेपाल आयल निगमले बाग्मती अञ्चलको माग ७ दिनलाई धान्ने इन्धन मौज्दात रहेको जनाएको छ। आपूर्ति व्यवस्था ठप्पै हुँदा पनि हालको पट्रोलियम पदार्थको मौज्दातले ७ दिन धान्न सकिने निगमले भनाइ छ।
उपत्यका र आसपासका जिल्लामा इन्धन खपत सामान्य अवस्थामा दैनिक पेट्रोलमा ४ सय ५० देखि ५ सय किलोलिटर र डिजेल ८ सय किलोलिटर खपत हुँदै आएको छ। निगमको थानकोट डिपो प्रमुख नेत्रप्रसाद काप्लेका अनुसार पेट्रोल ३ हजार किलोलिटर र डिजेलमा ५५ सय किलोलिटर मौज्दात रहेको जानकारी दिनुभयो।

निगमले एलपी ग्यासको हकमा पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको जनाएको छ। निगमसँग ग्यासको मौज्दात नरहे पनि हाल निजी ग्यास कम्पनीहरूसँग पर्याप्त मौज्दात रहेको जिगमको दाबी छ। निजी कम्पनीको पर्याप्त मौज्दात रहेकालले हालको मागलाई धान्ने सक्ने नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताउनुभयो।

राजमार्गमा पहिरोका कारण आपूर्ति व्यवस्थामा समस्या भएको छ जुन छोटो समयका लागि बाटोमा अवरोध भएकाले बाटो खुल्ना साथ आपूर्ति हुने काफ्लेले बताउनुभयो। उहाँले भन्नुभयो–‘बाटोमा हाम्रो अहिले २ हजार किलोलिटर डिजेल र १२ सय किलोलिटर पेट्रोल आउँदै छ।’

यसैबीच आपूर्ति मन्त्रालयले मन्त्रालयले मन्त्रालय मातहतमा रहेका निकाय आपूर्ति व्यवस्था तथा उपभोग हित संरक्षण विभाग, नेपाल आयल निगम, नेपाल खाद्य संस्थान ,नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङलाई आपूर्ति व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको छ।

मन्त्रालयले नेपाल खाद्य संस्थानलाई ३० किलोको चामलको बोरा ५० हजार वटा बनाएर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। त्यस्तै कर्णालीबाट खरिद भई मौज्दात रहेको सिमिका दाल २ किलोको प्याकेटमा ५० हजार बनाएर तत्काल वितरण गर्न सक्ने अवस्थामा राख्न निर्देशन दिएको आपूर्ति मन्त्रायलका प्रवक्ता मुकुन्दप्रसाद पौडेलले जानकारी दिनुभयो। त्यस्तै साल्ट ट्रेडिङले नुन १ किलो र १ लिटरको खाने तेल ५० हजार प्याकेट केन्द्र र हेटौडामा रहेको कार्यालयमा तयार गरी राख्न निर्देशन दिएको प्रवक्ता पौडेल बताउनुभयो।

बाढी प्रभावित जिल्लाका राहत स्वरूप तत्काल वितरणका लागि आवश्यक खाद्य सामग्री आफूसँग मौज्दात खाद्य संस्थानले जनाएको छ। दाल, चामल, पिठोलगायत खाद्यान्न सामग्री साल्ट्र ट्रेडिङसँग सहकार्य गरेर वितरण गरिने संस्थानका प्रवक्ता शंकर सापकोटाले बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै सापकोटाले भन्नुभयो–‘अहिले बाढीपीडितलाई खाद्यान्न भन्दा पनि उद्दारको खाँचो छ र एक दुई दिनसम्म सर्वसाधारणको घरमा चुलो बल्ने वातावरण बनेपछि खाद्यान्न वितरणको काम गरिनेछ।’ बाढी प्रभावित जिल्लामा वितरणका लागि आवश्यक खाद्यान्न उपलब्ध रहेको र नपुगेको खण्डमा तत्काल आन्तरिक ढुवानीमार्फत प्रभावित क्षेत्रमा खाद्यान्न पुर्याइने सापकोटाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्