सेवा विस्तारका लागि टेलिकमले २२ अर्ब लगानी गर्ने



बाढीपीडितलाई तीन दिन निःशुल्क एसएमएस

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल टेलिकमले देशका विभिन्न स्थानमा बाढी पहिरोबाट पीडित भएकाहरूको उद्दार तथा राहत कार्यमा आवश्यक सहयोग पुर्याउनका लागि साउन २९ गतेदेखि साउन ३१ गतेसम्म आफ्नो नेटवर्कभित्र निःशुल्क एसएमएस सेवा उपलब्ध गराउने भएको छ। सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले आइतबार आयोजित पत्रकार सम्मान कार्यक्रममा सो कुराको घोषणा गर्नुभएको हो।

सो अवसरमा मन्त्री बस्नेतले नेपाल टेलिकमले दुर्गम स्थानमा समेत सेवा उपलब्ध गराउनु पर्ने र प्रतिस्पर्धामा पनि उत्रनु पर्ने बाध्यता भएको बताउँदै छिटोछरितो रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले कम्पनीले तय गरेका कार्यक्रमहरू प्रभावकारी रूपमा निश्चित समयभित्र कार्यान्वयन गर्न निर्देशन दिनुभयो।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम, सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले प्रत्येक विपद्को समयमा नेपाल टेलिकमलाई सम्झिने नेपाली धेरै भएको स्मरण गर्दै मुलुकका सम्पूर्ण स्थानमा सेवा पुर्याएर पनि सधैं पहिलो नम्बरमा रहनुपर्ने कम्पनीको बाध्यता भएको बताउनुभयो। उहाँले नेपाल टेलिकम, सरकार र सञ्चारकर्मीबीचको सम्बन्धलाई अझै सुदृढ गर्नुपर्ने बताउनुभयो।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रूपमा बल्क एसएमएसमार्फत् निःशुल्क रूपमा आवश्यक जानकारी गराउने कार्य समेत निरन्तर चलिरहेको जानकारी दिँदै कम्पनीले गत आर्थिक वर्षमा प्राप्त गरेको उपलब्धिका बारेमा जानकारी गराउनुभयो। उहाँले कम्पनीले आव २०७४⁄७५ मा विभिन्न कार्यक्रममार्फत् १७ प्रतिशत ग्राहक थप्ने र सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि करिब २२ अर्ब पुँजीगत लगानी गर्ने योजना तय गरेको जानकारी दिनुभयो।

उहाँले चालू आर्थिक वर्ष २०७४⁄७५ भित्र एक करोड जीएसएम प्रोजेक्टअन्तर्गतका कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको र ग्राहकहरूलाई रुची र आवश्यकता अनुसारका सेवाहरू छनोट गर्ने अवसर प्रदान गर्नका लागि फोरजी एलटीईको बोलपत्र आह्वान गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघका सभापति डा. महेन्द्र विष्टले नकारात्मकभन्दा पनि स्वच्छ आलोचनाका समाचार लेखियोस् भन्ने महासंघको चाहना रहेको बताउँदै सम्मानले सञ्चारकर्मी र टेलिकमबीच सहकार्यका लागि बाटो फराकिलो बनाउने विचार व्यक्त गर्नुभयो।

सो अवसरमा कम्पनीका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले नेपालमा दूरसञ्चार सेवाको सय वर्षे यात्राका केही झलकहरूको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। कम्पनीका प्रबन्धक तथा सम्मान छनोट समितिका संयोजक प्रतिभा बैद्यले सम्मानका लागि अपनाइएको छनोट प्रक्रियाबारे जानकारी दिँदै प्राप्त समाचार सामग्रीहरूको तथ्यपरकता, सन्तुलन, विश्वसनीयता, विषयवस्तुको सान्दर्भिकता, भाषा आदिको आधारमा मूल्यांकन गरी उत्कृष्ट समाचार सामग्री छनोट गरिएको जानकारी दिनु भएको थियो। सो अवसरमा मन्त्री बस्नेतले नागरिक दैनिकका सञ्चारकर्मी द्वय सन्तोष न्यौपाने (काठमाडौ) र सन्तोष पोखरेल (पोखरा) लाई संयुक्त रूपमा र गोरखापत्र दैनिकका सञ्चारकर्मी विश्वास रेग्मीलाई सम्मान गर्नुभएको थियो। कम्पनीले नेपालका आमसञ्चार माध्यममा नेपाल टेलिकमको सेवा, सुविधा सम्बन्धमा उत्कृष्ट सामग्री प्रकाशन र प्रसारण गर्ने दुई जनासञ्चारकर्मीलाई छनोट गरी सम्मान गरेको हो।

सर्वसाधारण नेपालीलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा नेपाल टेलिकमले कम्पनीको सेवा, सुविधा सम्बन्धमा आमसञ्चार माध्यममा २०७३ सालमा प्रकाशितरप्रसारित समाचार सामग्रीमध्ये उत्कृष्ट सामग्री छनोट गरी सञ्चारकर्मीलाई सम्मान गरेको हो।

प्रतिक्रिया दिनुहोस्