सौराहाका पर्यटक उद्धारको पर्खाइमा



चितवन, २९ साउन । पर्यटकीय नगरी सौराहामा राप्ती र बुढीराप्ती खोलाको बाढी पसेपछि त्यहाँ रहेका करिव छ सय पर्यटक उद्धारको पर्खाइमा छन् ।

अधिकांश होटल डुबानमा परेका छन् । ती होटलको पहिलो तल्ला पानीले डुबेको सौराहास्थित क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो ।

उनीहरुलाई हात्तीको सहायताले बसेकै होटेलको माथिल्लो तला वा नजिकको तला भएको होटलमा सार्ने काम भइरहेको उहाँले बताउनुभयो । सौराहा र रत्ननगरको बीचमा रहेको चित्रसारी खोला बढेसँगै यातायात आवागमन रोकिएको छ । पर्यटकलाई हात्तीको सहायताले सुरक्षित स्थानमा लैजानसक्ने अवस्था पनि पनी छैन ।

प्रमुख जिल्ला अधिकारी र नेपाल पर्यटन बोर्डमा पनि उद्धारका लागि वातावरण सिर्जना गर्न आग्रह गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो । पानीको मात्रा निरन्तर बढेकाले पर्यटक आत्तिएका छन् । सौराहामा अहिले नेपाली दुई सय, भारतीय दुई सय र अन्य मुलुकका दुई सय गरी छ सय पर्यटक रहेको घिमिरेले बताउनुभयो ।

कतिपय पर्यटकको आज फर्कने तालिका भए पनि वर्षाका कारण असम्भव बनेको छ । होटलमा पहिलो तल्लामा रहेका भान्सा घर र सामग्री डुबानमा परेपछि बिहानबाट उनीहरुले खान पाएका छैनन् । बाढीले तीन वटा गाडी बगाएको बताइएको छ ।

सौराहाको होटल सेभेनस्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले पर्यटकको उद्धारका लागि गृहमन्त्रीलाई समेत आग्रह गरिए पनि प्रक्रिया अघि नबढाइएको गुनासो गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पानीमा हात्ती लामो समय नहिँड्ने, साना डुङ्गामा पनि सम्भव नहुने भएकाले देवघाटबाट चार वटा ¥याफ्टिङ् मगाइएको र त्यसकै सहायताले सुरक्षितस्थलसम्म पर्यटकलाई ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । सौराहामा रहेका ११० वटा होटलमध्ये धेरैजसोको पहिलो तलामा पानी भरिएपछि त्यहाँ रहेका सामग्री नष्ट भएका छन् । पर्यटक आगमनको मौसम सुरु हँुदै गर्दा बाढी आएको हो ।

विसं २०५९ यताको सबैभन्दा ठूलो बाढी सौराहामा पसेको हो । त्यतिबेला सौराहामा बाढी पसेर होटलमा बालुवा भरिएपछि ठूलो क्षति भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्