बाढीका कारण चितवनमा दुई, झापामा पाँच, बर्दियामा एकको मृत्यु ,कयौं बेपत्ता



झापा, । तीन दिनदेखि परेको अविरल वर्षाका कारण झापामा आजसम्म पाँच जनाको मत्यु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन झापा शाखाका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं २ की ३५ वर्षीया धनमाया घोरसाइने र उहाँकी छोरी, सोही गाउँपालिका वडा नं ७ की कमला दर्लामी, शिवसताक्षी नगरपालिका–१ का लेखनाथ पाण्डे, केचनकवल गाउँपालिकाका वडा नं ३ का २२ वर्षीय राम राजवंशी छन् ।

त्यसैगरी झापाका कनकाई, विरिङ, रतुवा, अन्धुवा खोला, मेची र नन्दा खोलामा आएको बाढीका कारण एक हजार १९६ घर पविार विस्थापित भएका छन् ।

उनीहरुलाई उद्धार गरी नजिकै रहेका स्कुल, प्यार्टी प्यालेस र सार्वजनिक भवनमा राखिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो ।

उहाँका अनुसार आज बिहानैदेखि झापाको भद्रपुर नगरपालिकास्थित भैसाबाडी, झापा गाउँपालिका र डाँगीबारीमा नेपाली सेनासहितको टोलीले डुङ्गाबाट बाढीपीडितको उद्धार भइरहेको छ ।

बाढीका कारण दुईको मृत्यु

चितवन,अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार इच्छाकामना गाउँपालिका– ३ स्थित कोराक खोलाले बगाएर स्थानीयवासी २२ वर्षीय समनबहादुर प्रजाको मृत्यु भएको हो । शनिबार साँझ खोलाले बगाएर बेपत्ता भएका उनको शव आज बिहान फेला परेको उहाँले बताउनुभयो ।

त्यसैगरी राप्ती नगरपालिका– ८ स्थित पम्फाखोलाले बगाएर ल्याएको स्थानीयवासी अन्दाजी ४० वर्षीया महिलाको शव खोलाबाट निकाल्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । ती महिलाको सनाखत हुन सकेको छैन ।

वर्षा जारी रहेपछि भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख र दलका प्रतिनिधिसहितको आजको बैठकले जिल्लाको वस्तुस्थितिका बारेमा तीन समूह बनाएर तत्काल अनुगमन गर्ने निर्णय गरेको प्रहरी प्रमुख थापाले बताउनुभयो ।

प्रमुख दाहालको नेतृत्वमा पश्चिम चितवन, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीको नेतृत्वमा पूर्वी चितवन र जनस्वास्थ्य प्रमुख विजयकुमार झाको नेतृत्वमा सौराहा क्षेत्रको अनुगमन गर्ने निर्णय भएको छ । सो अवसरमा दाहालले बाढीबाट प्रभावितको उद्धार र राहतका लागि जुट्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनाका साथै दलका प्रतिनिधिलाई सो कार्यमा सहयोग पु¥याउन आग्रह गर्नुभएको थियो ।

जिल्लाका राप्ती, बूढीराप्ती, रिउ, लोथर, कयरलगायत खोला बढेर बस्तीमा पसेसँगै जनजीवन प्रभावित भएको छ । तीन दिनदेखि जिल्लामा अविरल वर्षा भइरहेको छ ।

बर्दियामा एकको मृत्यु, एक बेपत्ता

बर्दिया,। बर्दिया जिल्लाका विभिन्न भाग डुबानमा परेका छन् । भारी वर्षाका कारण बबई नदीको खतराको सतह ६.१ मि मानिन्छ भने अहिले नदीको बाढीको सतह १० मिटर माथि आइसकेको छ ।

यसैबीच, बारबर्दिया नगरपालिका–९ का ३० वर्षीय राजेन्द्र थारुलाई जुर्पानी खोलाले बगाउँदा उनको मृत्यु भएको छ । उनको शव नदीले बेपत्ता बनाएको छ ।

बारबर्दिया–११ का करिब ६० वर्षीय चौकीदार थारुलाई पनि खोलाले बगाएको आशंका गरिएको छ उनी तीन दिनदेखि बेपत्ता छन् ।

अहिले बर्दियाको गुलरिया नगरपालिकाको बालापुर, जेशिपुर, पण्डीपुर, गुजराना, सन्तोषी टोल, तरुवा, रत्नापुर, कोठियागाउँ र जिल्ला अस्पताल रोडसम्मका सबै ठाउँ डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिनुभयो ।

बारबर्दिया नगरपालिकाको वडा नं १, २, ३, ४ र ११ का बस्ती बबई नदीको बाढीले डुबाएको छ । त्यसैगरी, ठाकुरबाबा नगरपालिकाका बग्माहा गाउँ, म्यौलापुर गाउँमा पनि बाढी पसेको छ । त्यस्तै राजापुर नगरपालिकाका तेरिया गाउँ, सप्तरीघाटलगायत वरपरका गाउँ बाढीले डुबाएको छ ।

त्यसैगरी, गेरुवा गाउँपालिकाका खैरिचन्दनपुर, दौलतपुर, मनाउगाउँ समेत डुबानमा परेको बोहराले जानकारी दिनुभयो । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्