मकवानपुरमा पहिरोले पुरिएर एकै परिवारका ६ जना बेपत्ता, रौतहटमा पनि गर्भवतीसहित ६ जनाको ज्यान गयो



नेपाल समाचारपत्र, हेटौंडा ।
भूगोलका हिसाबमा देशको ठूलोमध्ये एक पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १० (साबिक मन्थली गाविस–२, अम्बासबेसी) मा आइतबार सेरोखोलानजिक पहिरोले घर बगाउँदा एकै परिवारका ६ जना बेपत्ता भएका छन् ।

एक बच्चाको शव पहिरोले बगाएर हिलोमा लत्पतिएको अवस्थामा घरभन्दा तल खोला किनारमा फेला परेको छ । तर, उनको परिचय खुल्न सकेको छैन ।

पहिरोले करिब ५० वर्षीय मंगलसिंह न्यासुरको परिवारलाई राति पुरेको वडा अध्यक्ष सोम तिमल्सिनाले जानकारी दिए । पहिरोले न्यासुर, पत्नी, एक छोरा र ४ छोरीलाई बेपत्ता बनाएको छ ।

बिहान गाउँले उठ्दा न्यासुरको घर नदेखेपछि गाउँमा त्रास फैलिएको थियो । न्यासुरको घर अन्य घरभन्दा केही छुट्टै रहेको तिमल्सिनाले बताए । स्थानीयले विहान करिब ५ बजे न्यासुरको घर नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । घरका ६ जना बेपत्ता रहेको ठिंगन प्रहरीले जानकारी दिएको छ ।

उनको परिवारसँगै एक हल गोरु, ४ वटा बाख्रा, २ वटा दुहुनो भैंसी र घरमा भएका सबै सम्पत्ती बगेको स्थानीयले बताएका छन् । सवारी जान नसक्ने उक्त क्षेत्रमा प्रहरी निरीक्षक कुशराम कार्कीको कमाण्डमा ७ प्रहरी विहान करिब ७ बजे हिँडेर परिचालन भएको छ ।

ठिंगनबाट त्यहाँ पुग्न चारवटा खोला तरेर जानुपर्छ । वर्षामा त्यहाँ पुग्न समय करिब ४ घण्टा हिँड्नुपर्छ । पानी परिरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

रौतहटमा पनि एकै परिवारको ६ जनाको ज्यान गयो

सञ्जय कार्की
रौतहट २९ साउन । बाढिले बाटो कटान गरेको स्थानमा जीप दुर्घटना हुदा रौतहटमा एकै परिबारको ६ जनाको मृत्यु भएको छ ।

प्रसुति गराउन रौतहटको राजपुर फरहदवा स्थास्थ्य संस्थामा लौजाने क्रममा परोहा गाउपालिका–३ लौकाहा निकासी चन्दन यादबको घर परिबारका ६ जना सदस्यको कटान भएको बाटोको पानीमा डुबेर मृत्यु भएको छ ।

आकस्मिक अबस्थामा रहेका यादबको २८ बर्षिय श्रीमती शर्मीला यादब लाई अस्पतालमा सुरक्षित प्रसुती गराउन उनको आमा सुमित्रा देबी, ५ बर्षिय छोरी छोटु कुमारी, भतिजा सरोज यादब र भाउजु ललिता देबी सहित चढेको भारतीय जीपनै कटान भएको बाटोमा दुर्घटना भएको स्थानीय शेष वकिलले जानकारी दिनु भयो ।

ईलाका प्रहरी कार्यालय राजपुरफरहदवा नजिक हिजो बर्षाको पानी एक सय मिटर बम नहर कटान गरेको थियो र सोही कटानमा आज उनीहरु चढेको जीप दुर्घटना भएको जनाइएको छ । उक्त जीपका चालक फरार रहेका छन ।

प्रतिक्रिया दिनुहोस्