तत्काल ध्यान देऊ



 

समयमा रोपाइँ हुन नसकेर मध्य वर्षाको समयमा समेत बाँझै रहेका खेतमा ढिलै भए पनि रोपाइँ हुने अपेक्षा गरेका कृषकलाई गत साताको अन्त्यतिरको मनसुनी गतिविधिले उत्साह थर्यो । तर, त्यो उत्साहले सार्थकता पाउन सकेन । गत शुक्रबारदेखिको अविरल वर्षाका कारण पूर्वी र मध्य तराईका अधिकांश भेग जलमग्न भएका छन् । औसत वर्षाको मात्रा उच्च भएपछि पहाड र तराईका धेरै स्थानको जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ । तराईका नदीले तटबन्ध भत्काउँदा बाढीले बस्ती र खेतीयोग्य जमिन जलमग्न बनाएको छ भने धेरै ठाउँका सडक बाढी र पहिरोले अवरुद्ध बनाएपछि तराई र पहाडको आवागमनसमेत प्रभावित बनेको छ ।

३० जनाभन्दा बढीले अकालमा ज्यान गुमाएका छन् भने धेरै बेपत्ता भएका छन् । दर्जनौं घर पहिरोको जोखिममा छन्, सयौं घर डुबानमा परेका छन् । बाढी प्रभावित क्षेत्रको सञ्चार र विद्युत् सेवा पनि अवरुद्ध बनेको छ । बाढी र डुबान क्षेत्रको जोखिममा रहेका स्थानीय सुरक्षित स्थानमा स्थानान्तरण हुने प्रयासमा रहे पनि उद्धार टोलीको अभाव खट्किएको छ । निरन्तरको वर्षापछिको बाढी र पहिरोमा परेर ३० जनाको मृत्यु भएको गृह मन्त्रालयको प्रारम्भिक तथ्यांक छ ।

भारी वर्षा भएका जिल्लालाई ‘हाई अलर्ट’ मा राखिएको गृह मन्त्रालयका अधिकारी बताउँछन् । मन्त्रालयले वर्षा प्रभावित क्षेत्रको क्षतिको विवरणका आधारमा केन्द्र र सम्बन्धित जिल्लाबाट सुरक्षाकर्मीसहितको उद्धार टोली खटाइएको बताए पनि प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न सकेको छैन । प्रतिकूल मौसमका कारण खाद्यान्नसहित अन्य आवश्यक सामग्रीसहितको उद्धार टोली समयमा पुग्न नसकेको बताइएको छ । छिमेकी मुलुक भारतसँग जोडिएका सप्तकोशी, गण्डकी, राप्ती जस्ता बाँधका ढोका पूर्णरूपमा नखोलिएकाले नेपालतर्फका बस्तीमा बाढीको जोखिम अझै बढ्ने अनुमान गरिएको छ । सीमावर्ती क्षेत्रका बस्तीमा थप जोखिम बढ्न नदिन सप्तकोशीलगायत अन्य बाँधका ढोका खोल्न परराष्ट्र मन्त्रालयले भारतलाई आग्रह गरेको बताइएको छ ।

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपालका लागि भारतीय राजदूत मञ्जिम सिंह पुरीमार्फत् भारतलाई त्यस्तो आग्रह गर्नुभएको थियो । सो कूटनीतिक पहल अघि बढ्नु पक्कै पनि सकारात्मक पक्ष हो । त्यस्तो पहलले ढिलो–छिटो बाढी तथा डुबानमा रहेका बस्ती जोखिमरहित बनाउन सघाउँछ ।

तर, अहिले बाढी र प्रकोप प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सरकारले उच्च प्राथमिकता दिनुपर्छ । प्रभावित क्षेत्रमा खाद्यान्नसहित आधारभूत स्वास्थ्य सुविधासहितको टोली खटाउन ढिलो गर्न हुँदैन । अहिले प्रभावित क्षेत्रका बासिन्दा सबै अप्ठ्यारो अवस्थामा छन् तर यस्तो बेलामा बालबालिका, अशक्त, वृद्धवृद्धालाई उच्च प्राथमिकताका साथ हेर विचार गरिनुपर्छ । सरकारले यसतर्फ गम्भीरतापूर्वक ध्यान देओस् ।

प्रतिक्रिया दिनुहोस्