इजिप्टमा भयानक ट्रेन दुर्घटना



 

कायरो, (एजेन्सी)
उत्तरी इजिप्टमा दुई वटा यात्रुवाहक ट्रेन आपसमा ठोकिँदा कम्तीमा ४१ जनाको ज्यान जानुका साथै अन्य १ सय २० भन्दा बढी घाइते भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सामुद्र तटीय शहर अलेक्जिान्द्रियामा भएको उक्त भयानक दुर्घटनामा ट्रेनका थुप्रै डिब्बा पटरीबाट उछिटिएका छन्।

यान्त्रिक गडबडीका कारण गुडिरहेको एउटा ट्रेन अचानक रोकिन पुग्दा सो दुर्घटना हुन पुगेको बताइएको छ। पारवहनमन्त्री हिसाम अराफातले मानवीय त्रुटि र कमजोरीको कारण दुर्घटना हुन पुगेको बताएका छन्। इजिप्टमा विरलै मात्रामा यस्तो डरालाग्दो ट्रेन दुर्घटना हुने गरेको छ।

राजधानी कायरोबाट हिँडेको ट्रेन पोर्टबाट छुटेको अर्को ट्रेनसँग स्थानीय समयअनुसार शुक्रबार अपराह्न २ बजेर १५ मिनेट जाँदा आपसमा ठक्कर खाएको सञ्चारमाध्यमले जनाएको छ। आफ्नो घरको छतबाट यस घटनालाई प्रत्यक्षरूपमा देखेकी होडा नामक स्थानीय महिला भन्छिन्– ‘दुईवटै ट्रेन जुद्धा पिरामिड जस्तै माथि उठेका थिए। यो देख्ना साथ चिच्याउँदै मद्दतका लागि मानिसलाई पुकार्दै आफैं पनि केही तन्ना लिएर घटनास्थलतर्फ दौडिएँ।’
राष्ट्रपति अब्देल फताह अल सिसीले यस घटनामाथि गम्भीर छानविन गर्न आददेश दिँदै सरकारले पीडित परिवारहरूलाई समयमै आर्थिक क्षतिपूर्ति दिने प्रतिबद्धता जाहेर गरेका छन्।

सन् २०१३ मा पनि कायरोको दषिणी भागमा एउटा ट्रेन अर्को मिनीबसमा जोतिन पुग्दा दर्जनौं व्यक्तिको ज्यान गएको थियो। यसै गरी सन् २००२ मा राजधानी नजिकै एउटा टन्न यात्रुले भरिएको ट्रेनमा आगलागी हुँदा ३ सय ७० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्