गर्भवती महिलालाई भिटामिन बी–३



 

सिडनी, (एजेन्सी)
वैज्ञानिकहरूले हालै मुसामा गरिएको एक अध्ययनले भिटामिन बी–३ को सेवनको कारण गर्भ तुहिने समस्या र शिशु जन्ममा गडबडी नहुने तथ्य पत्ता लगाएका छन्। अस्ट्रलियाको सिड्नीस्थित भिक्टोर चाङ इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले यस अध्ययनबाट महिलाको स्वास्थका लागि निकै फाइदाजनक उपलब्धि हासिल गरेका छन्।

विश्वभरि प्रत्येक वर्ष ७९ लाख शिशुमा जन्मजात त्रुटि रहने गरेको यस टोलीको दाबी रहेको छ। अनुसन्धानकर्ताहरूले चार परिवारको डीएनए विश्लेषण गरेका थिए।

ती परिवारका महिलाको पटक–पटक गर्भ तुहिने गरेको र तिनीहरूबाट जन्मिएका शिशुहरूमा मुटु, मृगौला, मेरुदण्ड र मुखभित्र थुप्रै त्रुटि र कमजोरी हुने गरेको पनि पत्ता लागेको छ। अनुसन्धानकर्ताहरूले शिशुमा दुई वटा जिन अवरुद्ध हुनासाथ शरीरका कोषहरूलाई ऊर्जा निकाल्न र अंगहरू सामान्य ढंगले विकास गराउने तत्त्व निकोटिनामाइड एडेनाइन डिन्युक्लियोटाइडको कमी हुने पत्ता लगाएका छन्।

प्रमुख अनुसन्धानकर्ता प्रोफेसर स्याल्ली डनउडीले मुसामा यसरी जिन अवरुद्ध गरेपछि गर्भवती मुसालाई नियासिन (भिटामिन बी–३) दिइँदा फेरि सबैकुरा सामान्य अवस्थामा फर्केको पाएका थिए। अहिले पनि गर्भवती महिलालाई दिइने मल्टिभिटामिनमा १८ मिलिग्राम नियासिन रहने गरेको छ।

प्रतिक्रिया दिनुहोस्