विश्वकै सबैभन्दा जेठो पुरुषको निधन



 

जेरुसेलम, (एजेन्सी)
विश्वकै सबैभन्दा पाको उमेरका व्यक्ति इजरायल क्रिस्टलको १ सय १३ वर्षको उमेरमा निधन भएको शुक्रबार इजरायली सञ्चारमाध्यमले जनाएको छ। पोल्यान्डमा जन्मेका तथा तत्कालीन समयमा जर्मनीको नाजी हिटलरको अत्याचार प्रत्यक्ष देखेका उनी आगामी महिना १ सय १४ वर्ष पुग्न लागेको बताइएको छ।

तर, सौभाग्यवश त्यतिबेला हिटलरको यहुदी सफाया अभियानमा ज्यान जोगाउन सफल उनले गतवर्ष सय वर्षपछि आफ्नो धार्मिक अनुष्ठान ‘बार मित्जाह’ मनाउने निर्णय गर्दा इजरायली सञ्चारमाध्यमले उनलाई ठूलो महत्त्व दिएको थियो।

इजरायलको हाइफामा बसोबास गर्दै आएका उनले प्रथम विश्व युद्ध शुरू भएकाले उक्त रिवाज मनाउन पाएको थिएन। क्रिस्टलको सन् १९०३ मा पोल्यान्डको राजधानी वार्सादेखि करिब ९० माइल दक्षिणपश्चिममा पर्ने जार्नो नामक गाउँमा जन्म भएको थियो। धार्मिक विद्वानका छोरो उनका माता पिता प्रथम विश्व युद्धमा मारिएका थिए।

त्यसपछि परिवारको चकलेट कारखानामा काम गर्ने उद्देश्यले उनी लोड्ज पुगे। सन् १९३९ मा पोल्यान्डमा नाजी जर्मनीले आक्रमण गरेपछि क्रिस्टल आफ्नो परिवरसँग लोड्ज घेटोमा बसाइँ सरेका थिए।

उनका दुई सन्तानको मृत्यु भएपछि क्रिस्टल र उनकी पत्नी चाजा फेइज फ्रुच्टलाई सन् १९४४ मा अस्कवित्जमा पठाइयो। उनकी पत्नीको त्यहाँ हत्याको प्रयास भयो। तर, उनी बच्न सफल भइन्। उनले त्यहाँ र अन्य थुप्रै स्थानमा श्रम शिविरमा बसेर यातना खेपे। उनलाई सन् १९४५ को मे महिनामा आफ्नो पक्षका फौजले उद्धार गर्दा उनको शारीरिक वजन ३७ केजी मात्र रहेको थियो। उनलाई तत्कालीन सोभियत संघका फौजले उद्धार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्