आर्सेनलले उद्घाटन खेलमा हार टार्यो



 

लन्डन, (एजेन्सी)
वैकल्पिक खेलाडी ओलिभिइर गिरोउडको गोलमा आर्सेनलले यस सिजनको प्रिमियर लिग २०१७–१८ अन्तर्गत उद्घाटन खेलमा हार टारेको छ।

शुक्रबार राति भएको रोमाञ्चक खेलमा आर्सेनलले लेस्टर सिटीलाई ४–३ गोलअन्तरमा हराएको थियो। गनर्स (आर्सेनल) खेल सकिन ७ मिनेट बाँकी हुँदा हारको नजिक थियो। तर, ६५औं मिनेटमा मैदान प्रवेश गरेका आरोन रामसे र गिरोउडले दुई मिनेटअन्तराल गोल गरेपछि आर्सेनलले ३ अंक जुटायो। आफ्नै मैदान इमिरेट्समा आर्सेनल दुई पटक खेलमा पछि परेको थियो।

एलेक्सान्ड्रे लाकाजेटले ९४ सेकेण्डमै गोल गरेर आर्सेनललाई १–० को अग्रता दिलाएका थिए। यो लायोनबाट ४ करोड ६५ लाख पाउन्डमा आर्सेनलमा आएको लाकाजेटको क्लबमा डेब्यु गोल पनि थियो। यसपछि सिन्जी ओकाजाकीले दुई मिनेटपछि नै गोल फर्काउँदा लेस्टरले खेल १–१ बराबरीमा पुर्याएको थियो। जेमी भार्डीले २९औं मिनेटमा मार्क अलब्राइटनको क्रसमा गोल गरेर लेस्टरलाई २–१ को अग्रतामा राखेका थिए। तर, डेनी वेलबेकले पहिलो हाफको इन्जुरी समयमा गोल गरेर २–२ बराबरीमा ल्याएका थिए।

दोस्रो हाफमा लेस्टर फेरि भार्डीको गोलमार्फत् ५६औं मिनेटमा ३–२ को अग्रतामा आएको थियो। यो स्कोर रामसे र गिरोउडले गोल नगरुन्जेल स्थिर रहेको थियो। रामसेले ८३औं मिनेटमा गोल गर्दा ३–३ बराबरी भयो भने गिरोउडले ८५औं मिनेटमा गरेको गोलले आर्सेनलले जित हासिल गरेको थियो। गिरोउडको यो क्लबमा २ सय ३१ खेलबाट ९७औं गोल थियो। उनी सन् २०१२ मा मोन्टपेलिरबाट इमिरेटस् आएका थिए।

लिभरपुल बराबरीमा

वाटफोर्डका मिग्युल ब्रिटोसले ९३औं मिनेटमा बराबरी गरेपछि लिभरपुलले प्रिमियर लिगको पहिलो खेलमा ३ अंक जुटाउन सकेन। भिकारेज रोडमा शनिबार भएको खेलमा वाटफोर्डले लिभरपुललाई अन्तिममा ३–३ ले रोकेको हो।

वाटफोर्डका स्टेफानो ओकाकाले गोल गरेपछि लिभरपुल ८ मिनेटमै पछि परेको थियो। २९औं मिनेटमा साडियो मेनले बराबरी गोल फर्काए भने ३ मिनेटपछि अब्दुलाय डउकोरले गोल गर्दा वाटफोर्ड पहिलो हाफमा २–१ को अग्रतामा रहेको थियो।

लिभरपुलका लागि रोबेर्टो फर्मिनोले ५५औं मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गरेर खेलमा फर्काए। सलाहले ५७औं मिनेटमा गोल थप्दा यर्जेन क्लोपको १ सयौं खेलमा जित हुने संकेत भएको थियो। तर, उरुग्वेका डिफेन्डर ब्रिटोसले क्लोज रेन्जबाट गोल गरेर लिभरपुलको जितको खुसीयालीमा बाधा तुल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्